कांग्रेसमा प्रधानमन्त्रीको रस्साकस्सी : देउवा मौन रहँदा अरू नेताको दौडधुप

-


     नेपालय न्युज    
     मंसिर १२ गते २०७९


निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दै गर्दा नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले अनौपचारिक भेटघाट र द्विपक्षी छलफललाई तीव्र बनाएका छन्।

समानुपातिकमा पहिलो र प्रत्यक्षमा दोस्रो दल बनेको नेकपा एमालेले पनि सरकार गठनबारेका विकल्पहरूमा छलफल थालेको छ। उसले आन्तरिक गृहकार्य सुरु गरिसकेको छ।

‌ओलीले आफ्ना पदाधिकारीहरुसँग गृहकार्य थालिसकेका छन्। यसैबीच नयाँ सरकारको पहिलो प्रधानमन्त्रीका लागि सत्तारुढ दलमा दौडधुप सुरु भएको छ।

खासगरी सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन्। कांग्रेसमा शेरबहादुर देउवा स्वत: प्रधानमन्त्रीका दाबेदार हुन्।

देउवासँगै, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री समेत रहेका गगन थापा र अर्का नेता प्रकाशमान सिंहले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिसकेका छन्।

अबको संसदमा सरकारको नेतृत्व गरेर यीमध्ये कसलाई पठाउने विषयमाा कांग्रेसभित्रै मत विभाजित छ। गगनले काठमाडौं ४ को चुनावी मैदानमै आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए।

उता वरिष्ठ नेता पौडेललाई सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी अभियानकै क्रममा प्रधानमन्त्री पदमा सम्भावना बढेर गएको बताइदिएका थिए।

यस्तोमा तनहुँ १ बाट जितेर आएका पौडेलले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालेका छन्। उनले अर्का नेता गगन थापाले प्रधानमन्त्रीका लागि हतार गर्न उचित नहुने बताएका छन्।

बहालवाला प्रधानमन्त्री देउवाले नयाँ सरकारको नेतृत्वमा दाबी गरिसकेका छैनन्। तर गठबन्धनबाट ठूलो दलको नेताका हैसियतमा उनी प्रमुख दाबेदार हुन्।

डेल्धुराबाट निर्वाचित भएर सातौँ पटक संसद प्रवेश गरेका देउवाको ‘मुड’ छैटौँ प्रधानमन्त्री बन्ने नै रहेको निकटस्थ नेताहरु बताउँछन्। ज्योतिषी विद्यामा धेरै विश्वास राख्ने देउवा प्रधानमन्त्री हुन संसदीय दलको नेता चुनिनपर्ने हुन्छ। त्यसका लागि युवा नेता थापाले यसअघि नै आफूले तयारी थालिसकेको बताएका छन्।

उता वरिष्ठ नेता पौडेल प्रधानमन्त्री बन्न दौडधुपमा छन्। पौडेल सोमबार बिहानमात्रै सत्तारुढ घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे।

त्यहाँ पुगेर उनले त्यही प्रस्ताव अघि सारेका छन्। प्रधानमन्त्री बन्ने बाटो खुला गर्नका लागि सहयोग गर्नसमेत उनले नेपाललाई आग्रह गरेका छन्।

नेपालले पनि पौडेललाई अब पालो भएको बताउँदै आफूले सहयोग गर्न तयार रहेको आश्वासन दिएको बोहोराटार स्रोतले नेपालखबरलाई बताएको छ।

काठमाडौं–४ बाट चुनाव जितेका महामन्त्री थापाले निर्वाचित हुनुपूर्व नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा दाबी गरेका छन्।

नेविसंघको राजनीतिदेखि महामन्त्रीसम्मको यात्रामा सधैँ एक कदमअघिको निर्णय गरेको बताउँदै यो पटक पनि संसदीय चुनावमा भाग लिने उनले सार्वजनिक घोषणा गरेका छन्।

यद्यपि उनलाई संसदीय दलको नेता चुनिएर प्रधानमन्त्रीको बाटो खोल्न चुनौती छ। चुनावी परिणामपछि सत्ता गठबन्धनबीचको सम्बन्ध कायमै रहने या तोडिने पक्का नभइसक्दा देउवाले चाल्ने कदम पनि थापाका चुनौती हो।

सत्ता गठबन्धनभित्र गगनविरुद्ध बन्दै गरेको भाष्यले अब प्रधानमन्त्रीको बाटो खुला गर्ने नगर्ने देखाउँछ। विशेषगरी गगनपप्रति लक्षित गर्दै मा‌ओवादीनिकट वाईसीएलका पूर्वअध्यक्ष तथा माओवादी पोलिटब्यूरो सदस्य रामप्रसाद सापकाटा दीपशिखाले रास्वपासँग मिलेर माओवादी हराउन लागेको आरोप लगाएका छन्।

सोमबार मात्रै माओवादी सचिव डिलाराम आचार्यले डा. शेखर कोइरालाल र गगन थापा नेतृत्वको समूहले मा‌ओवादीलाई भोट नदिन निर्देशन नै दिएको आरोप लगाएका छन्। आचार्यले त्यहीकारण माओवादीले भोट गुमाएको पनि उनले बताएका छन्।

तर त्यसलाई लिएर थापाले मुख खोलेका छैनन्। तर, माओवादीभित्रको यो असन्तुष्टि पोखिने वा नपोखिने कुरा प्रधानमन्त्रीको विषयमा निर्भर पर्छ।

उता, काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित नेता सिंहले पनि आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारेका छन्। अब आफ्नो पालो आएको र त्यसका लागि पहल गर्ने बताउँदै सिंह आन्तरिक तयारीमा समेत लागिसकेका छन्।

सरकार बन्ने कसरतमा राजनीतिक दलहरु लागिरहँदा सिंहले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट गरिसकेका छन्।

बधाई साटासाट गर्दै काठमाडौं–५ बाट निर्वाचित नेता प्रदीप पौडेल लगायत युवा नेताहरुसँगको भेटमा पनि उनले आफूलाई प्रधानमन्त्रीको रुपमा दाबी अघि सारेका हुन्।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com