
वाशुदेव मिश्र,
कास्की निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ तर्फको गणना चल्दै थियो। एमालेको तर्फबाट गण्डकी प्रदेशसभाका निवर्तमान सांसद राजीव पहारी र भर्खरै जागिरे जीवनबाट अवकाश लिएका कांग्रेसका प्रकाश बराल मैदानमा थिए।
युवा संघका केन्द्रीय अध्यक्ष भइसकेका राजीवले अग्रता लिँदै थिए। गठबन्धनको तर्फबाट संघीय सांसदको उम्मेदवार बनेका माओवादी केन्द्रका रामजीप्रसाद बरालको स्थिति झन नाजुक थियो। एकपछि अर्को गर्दै एमालेका उम्मेदवारहर विजयी बनिरहँदा कास्कीबाट प्रकाश पनि बढारिने आशंकालाई बल पुर्याउन राजीवको अग्रता नै काफी थियो।
एमालेको गढ मानिएको पोखराको वडा नम्बर ५ र आफ्नै वडाबाट राजीवले झन् ठूलो अग्रता लिने अनुमान थियो। ती वडामा राजीवले अग्रता त लिए तर सोचेजस्तो मत आएन।
लगत्तै फेवाताल पारि अर्थात् प्रकाशको जन्मथलोको गणना सुरु भयो। अनि त के थियो! प्रकाशलाई भोट बर्सन थाल्यो। गाउँलेले प्रकाशलाई २ हजार ८१४ मत खन्याइदिएका रहेछन् भने राजीवको पक्षमा १ हजार १११ मत खसेको रहेछ। राप्रपालाई १८३ मत जाँदा त्यहाँ खसेका १३९ मत बदर भयो।
पछाडि परेका प्रकाशले एकाएक अग्रता लिए। त्यही अग्रताका बलमा उनी राजीवलाई ४ सय ६५ मतले पछि पारे र गण्डकी प्रदेशसभा यात्रा तय गरे। २८ हजार ७८९ मत खसेको सो क्षेत्रमा प्रकाशले १२ हजार ३६७ राजीवले ११ हजार ९०२ मत ल्याए।
सांसद भइसकेका राजीवको पराजयका अनेकौं कारण होलान्। आफ्नैमाथि अन्तरघात र असहयोगका आरोपहरु लाग्लान् तर प्रकाशको विजयको कारण प्रष्ट छ,उनलाई गाउँलले माया र भरोशा गरे।
प्रकाशको वडा कांग्रेसको ‘गढ’ पनि हैन। कांग्रेसका पुराना नेता मिनबहादुर गुरुङ तथा त्यागी नेता खेमराज पौडेलको जन्मथलो भए पनि गएका दुई स्थानीय चुनावमा त्यहाँ काग्रेसले जितेन।
२०७४ सालको स्थानीय चुनावमा एमालेका मित्रलाल बरालले बाजी मारे। कांग्रेसका उम्मेदवार अशोक गुरुङ झिनो मतले पराजित भए। अशोकको पराजयमा कांग्रेसबाटै घात भएको आरोप चाहिँ लागेको थियो।
२०७९ को चुनावमा त्यहाँ स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी बने। हिमलाललाई कांग्रेस र माओवादीको समर्थन थियो। हिमलालले १ हजार ८७२ मत पाउँदा एमालेका प्रकाशचन्द्र गुरुङले १ हजार ७५२ मत ल्याएका थिए।
चुनावअघिसम्म प्रकाश खेलकुदका हाकिमको परिचय बोकेर हिँड्थे। कांग्रेस भएकै कारण जागिर खोसुवामा परेका उनी मुद्दा लडेर पुनर्वहाली भएका थिए।
२६ वर्ष नायवसुब्बाको जागिर खाने उपक्रममै उनले कांग्रेस पुम्दीभुम्दी गाउँ समितिको सचिव, कांग्रेसको १२ र १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिसँगै क्षेत्रीय सचिव एवं १४ औं अधिवेशनपछि कांग्रेस गण्डकीको कार्यालय सचिवको जिम्मेवारी लिइसकेका थिए।
मावली पर्वत ग्यादीको पूणेश्वर माविमा पढ्दै नेपाल विद्यार्थी संघमा लागेका उनी पोखराको जनप्रिय क्याम्पस इकाइ सभापति र नेवि संघ कास्की कोषाध्यक्षजस्ता पदमा रहँदै गर्दा उनले कांग्रेसको आँत र कमजोरी छामेका थिए।
चुनावको उपक्रममा उनले कांग्रेसको कमजोरीलाई सक्दो टाले। आफू–आफूबीचको मनोमालिन्यलाई मिलाए। तीनतिर फर्केको कांग्रेससँग प्रदेशमा अर्को विकल्प थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीको हावा त्यहाँ चल्ने कुरै रहेन। युवा र मिलनसार हुनु उनको अर्को विशेषता थियो।
भनिन्छ,‘कर्मचारीले मान्छे चिनेको हुन्छ, राजनीतिक आस्था र विचार बुझेको हुन्छ।’ उनको हकमा ठ्याक्कै त्यही लागू भयो। बोल्न जानेका राजीवलाई उनले नबनेलेरै पाखा लगाए।
भनिन्छ, ‘प्रकाशले छिटो अवसर पाए।’ देखिन्छ पनि त्यस्तै। मै हुँ भन्ने दावेदारको बीचबाट टिकट पाउनुमा कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा र नयाँ अनुहार खोजिरहेका महामन्त्री गगन थापाको भूमिका त होला तर राजीवलाई हराएपछि उनी आफैँ शक्तिकेन्द्र बनेर उदाएका छन्। बाँकी त कर्ममा भर पर्ने न हो।
प्रकाशलाई गगन थापासँग भेटाएर सधैँ गगनकै पक्षमा रहने प्रतिवद्धता गराउने काम कास्की क्षेत्र नम्बर ३ युवा नेता ठाकुर बरालले गरेका थिए।
नेपालखबरबाट