
एजेन्सी
अमेरिकाको नेभाडा राज्यकी सिनेटर क्याथरिन कोर्टेज मास्टोले आफ्नो सिट जोगाएसँगै डेमोक्रेटिक पार्टीले सिनेटको बहुमत कायम राखेको छ । मास्टोले रिपब्लिकन पार्टीकी पूर्व राज्य महान्यायाधिवक्ता एडम लाक्साल्टलाई झिनो मतान्तरले पराजित गरिन् ।
योसँगै मध्यावधि चुनावमा डेमोक्र्याटहरूले ऐतिहासिक ट्रेण्ड र ठूलो धक्काको भविष्यवाणीलाई गलत साबित गरेका छन्, त्यो पनि सरकारले उच्च मुद्रास्फिर्ती नियन्त्रण गर्न नसकेको समयमा । विगतमा अमेरिकाको मध्यावधि निर्वाचनमा प्राय राष्ट्रपतिको दलले सदनमा बहुमत गुमाउँथे ।
कुनै उम्मेद्वारले ५०% थ्रेसहोल्ड पार गर्न नसकेपछि जर्जियामा भने डेमोक्र्याट्स सिनेटर प्रतिद्वन्द्वी राफेल वार्नक र रिपब्लिकन प्रतिद्वन्द्वी हर्शेल वाकरबीचको दोस्रो चरणको चुनाव डिसेम्बर ६ का लागि सरेको छ । तर उक्त चुनावअघि नै सिनेटमा कुन पार्टीको बहुमत रहने निश्चित भएको छ ।
सिनेट बहुमत हासिल गरेपछि सो सदनका डेमोक्र्याटिक पार्टी नेता चक शुमरले पछिल्लो चुनावमा ‘लोकतान्त्रिक विरोधी, चरमपन्थी, ट्रम्पपक्षधर रिपब्लिकनको’ हार भएको बताए ।
सनेटको बहुमतले राष्ट्रपति जो बाइडेनलाई उनको पहिलो कार्यकालको बाँकी दुई वर्षमा ठूलो राहत दिनेछ । अब बाइडेनले सिफारिस गरेका न्यायाधीशहरु अनुमोदन हुनसम्भव हुनेछ । यसअघि ओबामाको शासनमा सिनेटमा बहुमत नहुदाँ उनले सन् २०१६ मा सर्वोच्च अदालतको लागि सिफारिस गरेका न्यायाधिश मेरिक गारलान्डको पक्षमा मतदान गर्न अस्वीकार गरिएको थियो ।
साथै डेमोक्रेटिक पार्टीको बहुमत रहने सिनेटले सम्भावित रिपब्लिकन बहुमतको तल्लो सदनले पारित गरेका विधेयकहरुलाई अस्वीकार गर्न सक्छ र आफ्नै एजेन्डाअघि सार्न सक्छ ।
मध्यावधी निर्वाचनको अपेक्षाभन्दा राम्रो नतिजाले दोस्रो कार्यकालको लागि बाइडेनको दावीलाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ । उमेरका कारण पार्टीभित्र बाइडेनले दोस्रो कार्यकालमा उठ्न नहुने माग बढिरहेको सन्दर्भमा यो जितलाई महत्वपूर्ण मानिएको छ ।
सिनेट डेमोक्र्याटिकको नियन्त्रणमा भए पनि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा भने रिपब्लिकनको बहुमत हुने प्रक्षेपण गरिएको छ । यसले तीनलाई डेमोक्याटिक पार्टीविरुद्ध विभिन्न छानविन सुरु गर्न बाटो खोल्नेछ ।
न्युयोर्क टाईम्सबाट