
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब नेपालमा तीनवटा मात्रै पार्टी रहने बताएका छन्।
काठमाडौंको वसन्तपुर डबलीमा शुक्रबार भएको राप्रपाको चुनावी सभालाई सम्बोधनका क्रममा उनले अब नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा मात्रै बाँकी रहने बताएका हुन्।
‘अब यो देशमा तीन पार्टी रहन्छन्। कांग्रेस, एमाले र राप्रपा मात्रै मुख्य भूमिकामा हुन्छन्। माओवादी पेन्डुलम हुन्छ। त्यसो नभए यो कि त सकिन्छ कि त खुम्चिएर बस्छ’, उनले भने, ‘नेपालमा मुलत: कांग्रेस, एमाले र राप्रपा रहन्छन्।’
उनले एमाले र कांग्रेस एकै नाम र विचारका दुई पार्टी रहेको तर्क गरे। ‘तर यी दुवै पार्टीको प्रचण्डीकरण भइसक्यो’, उनले भने, ‘अर्को नरम सम्वर्द्धनवादी धारमा रहेको पार्टी राप्रपा हो। यो देशको धर्म र स्वाभिमान अनि पहिचान जोगाउने काम राप्रपाले गर्छ।’
उनले अब कसैले पनि निषेधको राजनीतिक गर्न खोज्ने भाष्य तोडेर जानुपर्नेमा जोड दिए। ‘यो देश बन्नका लागि कुनै पनि पार्टीले अर्कोलाई निषेध गर्न सक्दैन’, उनले भने, ‘राप्रपामा पनि कमजोरी छन् तर सुधारेर लैजान्छौँ। राप्रपाको नेतृत्वको देश बदल्ने हुटहुटी देखेर म पनि यसमा केही समयअघि मिसिएको हुँ।’
नेपालखबरबाट