विश्वव्यापी आर्थिक मन्दी : १० खर्ब डलर पूँजीकरण गुमाउने पहिलो पब्लिक कम्पनी बन्यो एमाजन


     नेपालय न्युज,     
     कार्तिक २५ गते २०७९


सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कम इंक १० खर्ब डलर बजार पूँजीकरण गुमाउने पहिलो पब्लिक कम्पनी बनेको छ ।

विश्वभर बढेको महँगी, कसिलो मौद्रिक नीति र निराशाजनक आर्थिक तथ्यांकका कारण यो वर्ष शुरु भए यता कम्पनीको शेयरमा व्यापक सेल अफ देखिएको छ । योसँगै कम्पनीको शेयर मूल्यमा तीव्र कमी आउँदा अर्बौ डलर बराबरको बजार पूँजीकरण गुमेको छ ।

बुधवार कम्पनीको शेयर मूल्य ४ दशमलव ३ प्रतिशतले घटेर बजार पूँजीकरण ८ खर्ब ७९ अर्ब मा झरेको थियो । सन् २०२१ को जृुलाई बजार पूँजीकरण १८ खर्ब ८० अर्ब डलर तियो । पूँजीकरण गुमाउने मामिलामा माइक्रोसफ्ट र एमाजनले होडबाजी गरे झैं देखिन्छ । सन् २०२१ के नोभेम्बरको उच्च बिन्दुबाट माइक्रोसफ्टले ८ खर्ब ८९ अर्ब डलर पूँजीकरण गुमाइसकेको छ । यो वर्षभर प्रविधि क्षेत्रको शेयर रातोमा छ ।

विश्व अर्थतन्त्र मन्दीमा जाने भय बल्झिँदा यस क्षेत्रप्रति लगानीकर्ताको मनोबल खस्किएको छ । आम्दानीका आधारमा सबैभन्दा ठूला पाँच अमेरिकी कम्पनीहरुको बजार पूँजीकरण यो वर्ष झन्डै ४० खर्ब डलर गुमेको छ । ई–कमर्शको वृद्धिमा आएको तीव्र सुस्तीप्रति समायोजना गर्न कम्पनीले यो वर्ष व्यापक खर्च गरेको छ । कोरोना भाइरसको महामारीबीच अनलाइनबाट शपिङ गर्ने प्रवृत्ति बढेको थियो ।

महामारी पूर्वको अवस्थामा क्रेताहरुको बानी फेरिएसँगै कम्पनीको आम्दानी गुम्ने क्रम बढेको छ । विक्री सुस्ताएको, लागत बढेको अनि ब्याजदरमा भएको वृद्धिका कारण एमाजनको शेयर झन्डै ५० प्रतिशतले गुमिसकेको छ । यो वर्ष शुरु भएयता एमाजनका सह–संस्थापक जेफ बेजोसको नेट वर्थमा पनि उच्च कमी आएको छ । वर्षको शुरुमा १ खर्ब ९ अर्ब डलर रहेको नेटवर्थ घटेर पछिल्लो समय ८३ अर्ब डलरमा झरेको ब्लुम्बर्गको डेटाले देखाएको छ ।

चालु त्रैमासमा कम्पनीको आम्दानी वृद्धि सुस्ताउने अनुमान गरिएको छ । आर्थिक अनिश्चय बढेसँगै क्रेताहरुले आफ्नो खर्च घटाउन थालेपछि डिसेम्बर त्रैमासमा आम्दानी प्रभावित हुने प्रक्षेपण गत महीना नै एमाजनले गरेको थियो । कम्पनीको सो प्रक्षेपण लगत्तै शेयर मूल्य ओरालो लाग्दा बजार पूँजीकरण साढे २ वर्ष भन्दा बढी समय यता १० खर्ब डलर भन्दा मुनि आएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com