
सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले आइफोनको उत्पादन घटाउने भएको छ । कम्पनीले शुरुमा अनुमान गरिएको भन्दा यस वर्ष कम्तीमा ३० लाख थान कम आइफोन उत्पादन गर्ने बताइएको छ । यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै बलुम्बर्गले समाचार छापेको छ ।
कम्पनी र यसका आपूर्तिकर्ताहरूले यस वर्ष ८ करोड ७० लाख थान वा सोभन्दा कम आइफोन बनाउन खोजेका छन् । शुरुमा भने वर्षभरिमा ९ करोड थान आइफोन उत्पादनको लक्ष्य लिएको थियो । आइफोन १४ र आइफोन १४ प्लसको मागमा कमीका कारण उत्पादन घटाउन लागिएको हो । चीनको चङचाउमा कोभिडका कारण एक हप्ताभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । त्यहाँ कम्पनीको आइफोनको मुख्य एसेम्बल कारखाना छ ।
त्यहाँ आपूर्ति शृङ्खलामा अवरोधले पनि कम्पनीको समस्या बढाएको छ । यो खबर सार्वजनिक भएपनि मंगलबार नियमित समयअघिको कारोबारमा एप्पलको शेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको थियो । कम्पनीले लञ्च गरेयता आइफोन आइफोन १४ र आइफोन १४ प्लसको विक्री ह्वात्तै घटेको छ । विश्वको सबैभन्दा ठूलो आइफोन बजार चीनमा बढ्दै गइरहेको आर्थिक सुस्तीका कारण पनि विक्री प्रभावित भइरहेको छ ।
माग सोचे अनुसार नबढ्ने अनुमानमा कम्पनीले यसअघि नै यस वर्षका लागि नयाँ आइफोनको उत्पादन बढाउने योजना खारेज गरेको थियो । एप्पलले आइतवार चङचाउमा लकडाउनका कारण उत्पादन प्रभावित भएपनि आइफोन १४ र आइफोन १४ प्लसको माग सुदृढ रहेको बताएको थियो । एजेन्सी