१० स्टार खेलाडी : जसले गुमाउन सक्छन् कतार विश्वकप

-


     नेपालय न्युज    
     कार्तिक २१ गते २०७९


फिफा विश्वकपको मिति नजिकिँदै जाँदा समर्थकको नजर टोली र मुख्य खेलाडीमा केन्द्रित हुनथालेको छ।

समर्थकको नजर खेलाडी र टोलीमाथि भए पनि एकपछि अर्को खेलाडी घाइते हुँदा टिम घोषणामा भने राष्ट्रिय टोलीलाई सकस पर्दै गएको छ।

मुख्य खेलाडी घाइते हुँदा त्यसको असर विश्वकपमा पर्ने निश्चित छ। विश्वकप खेल्नु हरेक खेलाडीको ठूलो सपना हो। यस पटकको विश्वकप पनि केही मुख्य फुटबलरले चोटका कारण गुमाउने भएका छन्।

खेलाडी जीवनमा चोट लाग्नु सामान्य भए पनि केही खेलाडी पुनरागमनको तयारीमा पनि छन्। भर्खरै लिग वानको खेलमा मेस्सीले चोट बोकेपछि उनका समर्थकहरु आत्तिए। तर उनी विश्वकपसम्म ठीक भइसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रेस जेम्स, एंगोलो कान्टे, पउल डिबाला लगायतका खेलाडीले कतार विश्वकप २०२२ गुमाउनसक्ने देखिएको छ।

चोटका कारण विश्वकप गुमाउन सक्ने १० खेलाडीको चर्चा यहाँ गरिएको छ-

 

रिचार्लिसन (ब्राजिल)
टोटनहम हट्सपरका फरवार्ड रिचार्लिसन विश्वकपमा बाज्रिलको टोलीमा उपलब्ध हुनेछैनन्।

प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलमा घाइते भएका रिचार्लिसन पिडुँलाको चोटका कारण विश्वकप गुमाउने भएका छन्।

एलेक्जेन्डर इसाक (स्विडेन)
स्विडेनका फरवार्ड एलेक्जेन्डर इसाकले पनि फिफा विश्वकप २०२२ गुमाउने भएका छन्। तिघ्राको चोटका कारण उनी टोली बाहिर रहनेछन्।

उनले न्यु क्यासल युनाइटेडमा पनि राम्रोसँग सुरुवात गर्न सकेनन्। अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला उनले चोट बोकेका थिए।

टोलीका प्रशिक्षक एडी होवेका अनुसार उनको तिघ्रामा दुईवटा सुई लगाइएको छ। त्यसले राम्रोसँग काम गर्यो भने उनी छिटो ठीक हुनेछन्। यो लामो अवधिको चोट भएका कारण पनि पाँच÷छ हप्ता बाहिर रहनेछन्। जसकारण विश्वकपमा फर्किने सम्भावना कम छ।

पाउलो डिबाला (अर्जेन्टिना)
पिँडुलाको चोटको कारण अर्जेन्टिनी स्टार पाउलो डिबालाले पनि विश्वकप गुमाउने सम्भावना छ। चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेका डिबाला विश्वकपसम्म मैदान फर्किने सम्भावना कम छ।

सिरि एअन्तर्गत लिचिसँगको खेलमा पेनाल्टी प्रहार गर्दा डिबाला चोटिल बनेका थिए।

केल्भिन फिलिप्स (इंग्ल्यान्ड)
म्याचेस्टर सिटीमा अनुबन्ध भएपछि तीन खेल मात्र खेल्न पाएका केल्भिन फिलिप्स पनि अहिले चोटका कारण आराम गरिरहेका छन्।

काँधमा चोट लागेपछि मैदानबाहिर रहेका फिलिप्सले पनि विश्वकप गुमाउने सम्भावना छ। उनी विश्वकपका लागि उपलब्ध हुने विश्वासमा छन्। रिपोर्टका अनुसार उनले स्वस्थ्य महसुस गरिरहेका छन्।

इंग्ल्यान्ड तथा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनी ठीक भएर विश्वकपमा फर्किने विश्वास लिएको बताए।

काइल वाकर (इंग्ल्यान्ड)
म्यानचेस्टर सिटीकै इंग्ल्यान्डी स्टार डिफेन्डर काइल वाकर विश्वकप गुमाउने अर्का खेलाडी हुन्।

राइट ब्याक डिफेन्डर वाकर पनि विश्वकपमा उपलब्ध हुने आशा गरिएको छ। कम्मरमा चोट लागेर शल्यक्रिया गरेपछि अहिले उनी आराम गरिरहेका छन्।

अक्टोबरको सुरुवातमा म्यानचेष्टर डर्बीमा चोट बोकेका थिए। चोटलगत्तै शल्यक्रिया गरिए पनि इरानविरुद्धको खेलमा उपलब्ध हुनेमा शंका छ।

एन्जेल डि मारिया (अर्जेन्टिना)
ह्यामस्ट्रिङको चोटका कारण अर्जेन्टिनाका खेलाडी एन्जेल डि मारिया पनि विश्वकपमा मैदान फर्किने निश्चित छैन।

च्याम्पियन्स लिगमा म्याकाबी हाइफाविरुद्ध खेल्दा ह्यामस्टिङमा चोट लागेपछि अर्जेन्टिना तनावमा छ। तर अर्जेन्टिनाको टोली भने विश्वकपअघि नै उनी मैदान फर्किनेमा आशावादी छ।

यसअघि कोपा अमेरिका जित्दा फाइनलमा ब्राजिलविरुद्ध डिमारियाले नै गोल गरेका थिए।

उपाधिको खडेरी तोड्दाका निर्णायक डि मारियाको चोट पनि अर्जेन्टिनालाई चिन्ताको विषय बनेको छ।

राफेल भराने (फ्रान्स)
फ्रान्स तथा म्यानचेष्टर युनाइटेडका सेन्टर डिफेन्डर राफेल भराने पनि अहिले मैदानबाहिर छन्। प्रिमियर लिगअन्तर्गत चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनी मैदान फर्किनसकेका छैनन्।

पाँच पटकको च्याम्पियन लिग विजेता टिमको सदस्य रहेका उनी खुट्टामा चोट लागेपछि रुँदै मैदान छाडेका थिए। युनाइटेडका प्रबन्धक एरिक टेन ह्यागले उनी विश्वकप सुरुभएसँगै मैदान फर्किने आशा व्यक्त गरेका छन्।

रिस जेम्स (इंग्ल्यान्ड)
घुँडामा चोट बोकेपछि इंग्ल्यान्ड तथा चेल्सीका स्टार रिस जेम्स विश्वकपमा टोली बाहिर रहनेछन्।

च्याम्पियन्स लिगअन्तर्गत एसी मिलानविरुद्धको खेलमा उनलाई चोट लागेको थियो। सोही चोट ठीक नहुँदा उनी पनि विश्वकपमा बाहिरिने सम्भावना छ। उनको दायाँ खुट्टामा चोट लागेपछि इंग्ल्यान्डलाई ठूलो झट्का लागेको हो।

उनले एक अन्तर्वार्तामा आफू टोलीमा फर्किन मिहिनेत गर्ने बताएका थिए। तर चेल्सीको मेडिकल टिमले भने उनले विश्वकप गुमाउने बताएको छ।

आफूले कसरी रिकभर गर्ने भन्ने कुराले पनि फरक पर्ने बताएका जेम्स आफ्नो लागि यो जोखिमपूर्ण भए पनि चोटले केही समय लिने बताए। आफू ठीक हुन कडा प्रयास गरिरहेको उनले दाबी गरे।

एनगोलो कान्टे (फ्रान्स)
फ्रान्स तथा चेल्सीका मिडफिल्डर एनगोलो कान्टे पनि चोटका कारण विश्वकप गुमाउने खेलाडीको सूचीमा छन्।

ह्यामस्ट्रिङको शल्यक्रियापछि ४ महिना मैदान बाहिर रहने बताइएको थियो। सोही चोटका कारण कान्टेले विश्वकप गुमाउनेछन्।

पाउल पोग्बा (फ्रान्स)
फ्रान्सकै अर्का भरलाग्दा मिडफिल्डर पनि यो विश्वकपमा उपलब्ध हुनेछैनन्। घुँडाको मिनिस्कसको शल्यक्रियापछि पाउल पोग्बाले विश्वकप गुमाउने निश्चित भएको हो।

२०२२ मा घाइते हुने खेलाडीको सूचीमा पोग्बा शीर्ष स्थानमा छन्। घुँडाको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेको समयमा फेरि मांसपेशीमा चोट बोक्न पुगेका थिए। फ्रान्सले पोग्बालाई यो अवस्थामा टोलीमा राखेर अर्को जोखिम मोल्ने पक्षमा छैन।

यीबाहेक अन्य केही स्टार खेलाडीहरुलाई पनि अहिले चोटले सताएको छ। तर उनीहरु भने सामान्य चोट लागेका कारण मैदान फर्किने विश्वास लिइएको छ।

नेपालखबरबाट

एजेन्सीहरुबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com