
पोखरा, २१ कात्तिक ।
कास्की–२ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले निर्वाचन जितेपछि ईमान्दारीपूर्वक काम गर्ने बताए ।
पोखरा २१ ठुली स्वाँरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा बरालले निर्वाचन जित्नु मात्र ठुलो कुरा नभएको बताउँदै जितपछि ईमान्दारीपूर्वक काम गर्नु महत्त्वपूर्ण भएको बताए । कास्की २ मा गठबन्धनको जित सुनिश्चित भएको उनको जिकिर थियो । ‘हामी एक आपसमा मिलेका छौँ । सबै मिलेको अवस्थामा गठबन्धनले जसै जित्छौँ जसरी स्थानीय तहको निर्वाचनमा तालमेल भएको हो अहिले पनि त्यस्तै हो,’ उनले भने, ‘चुनाव जित्नु मात्र ठुलो कुरा होईन जितेपछि यहाँहरूको समस्यामा हामी सधैँ साथमा रहन्छौँ ।’ पोखरा २१ को विकास निर्माण र सम्वद्धिमा साथ दिनु आफूहरुको दायित्व भएको उनले सुनाए ।
निर्वाचन जनताकोमा गएर भोट माग्ने र साक्षात्कार गर्ने राम्रो मौका रहेको बताउँदै अहिले सुनेका समस्या नेतृत्वमा गएपछि पुरा गर्ने उनको भनाई छ । जनताले बाटो, खानेपानी, भवन लगायतको समस्या सुनाएका थिए । जनताको समस्या क्रमशः पुरा गर्दै जाने उनले जानकारी दिए । यसका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । ‘यो सुन्तलाको पकेट क्षेत्र हो यहाँ कृषिको राम्रो सम्भावना छ,’ उनले भने, ‘यी सबैको विकाससँगै जनताको जीवनस्तर सुधार ल्याउन जनतालाई सुखी र धनी बनाउन स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने छ ।’ यो सँगै आफूहरू निर्वाचित भएमा पछाडि परेको दलित, आदिवासी जनजातिका आवश्यक कानुन निर्माणमा ध्यान दिने उनले बताए । गाउँको समस्या केन्द्रसम्म पु¥याउने र केन्द्रको योजना गाउँसम्म ल्याउने पुलको काम गर्नका लागि पनि आफूले जित्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछाने, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेसका नेता देवराज चालिसे, संविधान सभा सदस्य बिन्दा राना, माओवादी केन्द्रका नेता निर्मलबहादुर अधिकारी, नेकपा एसका नेता खड्क हमाल लगायतले गठबन्धनले जित्नुपर्ने बताएका थिए ।