
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वास्थित जागरण आमा समूहको भवनमा विविध साँस्कृतिक कार्यक्रम सकिएको छ । नेपालीहरुको महान पर्व तिहार, नेपाल संवत् तथा छठको अवसर पारेर हालै गरिएको छ ।
कार्यक्रम आर्वाली आदर्श नाट्य केन्द्र र मोहरपानी आदर्श टोल विकास संस्थाको संयुक्त प्रस्तुतिमा आयोजित विविध सांस्कृतिक कार्यक्रमसंगै ‘हाम्रो समाज’ नाटकको भाग–२ प्रदर्शन गरिएको थियो । नाटकमा आर्वाका करिब ३३ जना स्थानीय कलाकारहरुले अभिनय गरेका थिए ।
‘नाटक हाम्रो समाज भाग–१’ भने २०७६ को विजयादशमीको अवसरमा पनि पोखरा–१३ आर्वास्थित जागरण आमा समूहको भवनमा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजनामा प्रस्तुत गरिएको थियो ।
२०७६ मा प्रस्तुत गरिएको कार्यक्रम भव्यरुपमा सफलताका साथ सम्पन्न भएको थियो । त्यसपछि २०७७ र २०७८ मा कोरोना महामारीका कारण रोकिएको कार्यक्रम २०७९ सालमा प्रस्तुत गरियो ।
निरन्तर प्रत्येक वर्ष विजयादशमीको अवसरमा यस प्रकारको विविध साँस्कृतिक कार्यक्रमसंगै नाटक प्रस्तुत गर्ने आर्वास्थित मोहरपानी आदर्श टोल विकास संस्थाका क्रियाशील युवाहरुको सक्रियतामा भएको थियो । नाटकको लेखन तथा निर्देशन शिवराज बरालले गरेका हुन् ।
विशेषगरि नाटक ‘हाम्रो समाज’ भाग दुईले, समाजमा ब्याप्त भइरहेकाका विविध विषयहरुलाई प्रमुखताका साथ उठाउन खोजेको देखिन्छ । समाजमा व्याप्त जुवातास, जाँड रक्सीको कुलत, अझै पनि समाजभित्र रहेको जातीय विभेद, गरिवी, बेरोजगारी, साहु महाजनको ऋण तिर्न नसकेपछि घर परिवार छाडेर विदेश पलायन हुनुपर्ने समस्या लगायत विविध जनचेतनामूलक विषयहरु उठान गर्न खोजेको छ ।
विशुद्धरुपमा सामाजिक सेवामा समर्पित हुने, समाजमा सकारात्मक जनचेतना फैलाउने, सामाजिक एकता बचाउने, मनोरञ्जनका माध्यमबाट पनी समाजभित्र सकारात्मक सन्देश प्रवाह गर्ने, परम्परागत धर्म संस्कृति बचाउने र एउटा समृद्ध समाज निर्माण गर्ने पवित्र उद्दयेश्यले यस प्रकारको कार्यक्रमहरु गरिँदै आएको आर्वाली आदर्श नाट्य केन्द्रका संयोजक तथा नाटक हाम्रो समाजका लेखक तथा निर्देशक शिवराज बराल बताउँछन् ।
कार्यक्रममा स्थानीय तथा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति, विभिन्न नृत्यहरु, हाँस्य प्रहशनहरु लगायत भरपुर विविध मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । कलाकारहरु अम्मर धिताल, रामजी पौडेल, कृष्ण भट्टराई, कमला सुनार, लक्ष्मी नेपाली लगायतले लोक दोहोरी गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३ का वडाध्यक्ष किरण बरालले यस प्रकारका कार्यक्रमहरुलाई वडाले सधैं साथ दिने बताए । उनले समाजमा सकारात्मक जनचेतना फैलाउने काममा लागि परेका नाट्य केन्द्र तथा टोल विकास संस्थालाई धन्यवाद दिँदै वडासंगको सहकार्य गरेर आगामी दिनमा अगाडि बढ्ने बताए ।
मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थि भने कार्यक्रम सञ्चालन युवराज बरालले गरेका थिए ।
समापन कार्यक्रममा मोहरपानी आदर्श टोल विकास संस्था पोखरा–१३ आर्वाका अध्यक्ष श्रीराम सिग्देलले कलाकारहरु, सहयोगी ब्यक्तित्व, संघसंस्थाहरुलाई सम्मानपत्र, प्रशंसापत्र र मायाको चिनो प्रदान गरेका थिए ।