
सन फ्रान्सिस्को (अमेरिका) । माइक्रो ब्लगिङ वेबसाइट ट्विटर twitter का नयाँ मालिक एलन मस्कले आधा कर्मचारीलाई हटाएका छन्।
समाचार संस्था बीबीसीका अनुसार कम्पनीले शुक्रवार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। उनका अनुसार अहिले बिदा दिइएका कर्मचारीले तीन महीना बराबरको सेवा तथा सुविधा पाउनेछन्। ट्विटर मस्कको पोल्टामा पुगेदेखि नै व्यापक रोजगारी कटौतीको हल्ला चलिरहेको थियो । समाचार संस्था ब्लुम्बर्गले पनि खर्च घटाउन उनी कर्मचारीलाई कामबाट निकाल्ने योजनामा रहेको उल्लेख गरेको छ । कम्पनीमा यसअघि ७ हजार ५०० कर्मचारी कार्यरत थिए ।
यसअघि मस्कले लागत घटाउनको लागि आधा कार्यबल कटौती गर्न लागेको खवरहरु सार्वजनिक भएका थिए। उनले कम्पनीले ४ मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।
पछिल्लो पटक अमेरिका र क्यानडाका लागि ट्विटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले आफू पनि कम्पनीबाट बाहिरिएको बताएका छन् । उनले भने, ‘ट्विटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठें। म दुःखी छु। म अन्योलमा छु ।’
यसअघि नै कम्पनीको विज्ञापन र मार्केटिङ प्रमुखले राजीनामा दिइसकेका छन् । त्यसैगरी मानव संशाधन र विविधता अधिकारी, कोर प्रविधि, प्रडक्ट हेड र ग्लोबल सेल्सका उपाध्यक्षले पनि राजीनामा दिएका छन् । भारतका लागि ट्विटरका इन्जिनीयरिंग सेल्स, मार्केटिंग तथा कम्यूनिकेशन टीमबाट १६० जना कर्मचारी हटाइएको छ । ट्विटर इन्डियामा करीब २०० जना कर्मचारी कार्यरत छन् ।
गत मंगलवार एउटा लिंकइन पोष्टमा मानव संशाधन अधिकारी डालना ब्रान्डले पनि राजीनामा दिएको घोषणा गरेकी थिइन् । धमाधम उच्च तहका कर्मचारीहरु बाहिरिएको खवरहरु सार्वजनिक भइरहेता पनि उनीहरु स्वविवेकले हो या निकालिएका हुन् भन्ने बारेमा चाहिं स्पष्ट भइसकेको छैन ।मस्कले गत साता मात्रै ४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका थिए । उनले ट्विटरको खर्च कटौती गर्न कर्मचारी हटाउन लागेको बताइरहेका छन् ।
यसैबीच मस्कले ट्विटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन्। कम्पनीले खर्च कटौती गर्न कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्विटरको आय कटौती गर्न दबाब दिइरहेको पनि उनको आरोप छ ।
‘ट्विटरको कमाई निकै कम भएको छ। अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई दबाब दिइरहेका छन्, जबकी सामग्री मोडरेसन अपरिवर्तित छ र हामीले अभियन्ताहरूलाई खुसी पार्न सबै काम गरेका छौँ। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई नष्ट गरिरहेका छन्,’ उनले ट्विटरमा भनेका छन्। एजेन्सी