
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले घोषणापत्र सार्वजनिक गरे ।
पार्टीले पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिबद्धता व्यक्त गर्दै आसन्न निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गरिएको छ । यस्तै, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनः संरचना गर्ने प्रतिबद्धता पनि पार्टीको चुनावी घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा प्रदेशको संरचना बढाएर १० पुर्याउनुपर्ने कुरा उल्लेख छ ।
जसपाले संघीय संसद र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ ।
कार्यकारी राष्ट्रपतिले समावेशीरूपमा सक्षम व्यक्तिहरूको छनोट गरी मन्त्रिपरिषद् बनाउने, मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने पनि उल्लेख छ । त्यस्तै, पार्टीले पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ४ लेनको बनाउने र काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने घोषणा गरेको छ ।
त्यस्तै, पार्टीको घोषणापत्रमा मुलुकको आर्थिक विकास र समृद्धिका लागि स्वदेशी तथा विदेशी पूँजी प्रविधि परिचालनका लागि लगानीमैत्री वातावरण उल्लेख गर्ने, मधेस÷तराईको पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्गको निर्माण पूरा गर्ने, चुरे संरक्षण गरी मधेशलाई मरभूमीकरण हुनबाट जोगाउने लगायतका बुँदाहरू अघि सारेको छ ।