म तपाँईहरुको इमानदार कार्यकर्ता हुँ : उम्मेदवार बराल

-


     नेपालय न्युज    
     कार्तिक १९ गते २०७९


पोखरा, १९ कार्तिक ।
पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काङ्ग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताएका छन् । पोखरा २० भलाममा घरदैलो कार्यक्रम गर्दै उम्मेदवार बरालले यस्तो बताएका हुन् । ‘मुलुकलाई अप्ठ्यारो परेको बेला कम्युनिस्ट र काङ्ग्रेसको कार्यगत एकता हुने गरेको छ, उनले भने, २००७ सालदेखि २०४६ हुँदै ६२–६३ सम्म आइपुग्दा कयौँ पटक काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिएका छन् ।’

संविधान र व्यवस्थालाई नै ध्वस्त बनाउँदै मुलुकमा अराजकता सृजना गर्न खोजेपछि शान्ति र संविधानका लागि मुलुकका प्रमुख पाँच दलहरू बिचमा कार्यगत एकता गर्नुपरेको उम्मेदवार बरालले बताए । केन्द्र र प्रदेशमा बहुमत ल्याउँदै संविधान र व्यवस्थाको रक्षा मात्र होइन विकास र समृद्धिका लागि पनि गठबन्धन आवश्यक रहेको उनले बताए । ‘हिजोका एमाले सहकर्मीहरूलाई पनि मैले समान व्यवहार गर्नेछु । त्यस कारण पनि तपाईँलाई कलम चिन्हमा मतदान गर्न कुनै सङ्कोच मान्नु पर्ने अवस्था छैन, बरालले भने, यस क्षेत्रको बेसीबाट घारी हुँदै मौजा पुग्ने सडकलाई स्तरोन्नति गर्ने कार्य हाम्रो प्राथमिकतामा छ । पोखरा उपत्यकाको चक्र पथसँग यहाँका शाखा सडकहरूलाई जोडिनेछन् । ग्रामीण भूगोलहरूलाई सहरसँग जोड्नका लागि सहज पहुँच मार्गहरू हाम्रै पालामा निर्माण गरिनेछन् ।’

उक्त क्षेत्रमा लामो समय देखी खानेपानीको समस्या रहेको स्मरण गराउँदै उम्मेदवार बरालले नागरिकको आधारभूत आवश्यकता जस्तो खानेपानीको सहज उपलब्धताका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । ‘यस वडाका सबै नागरिकहरूलाई खानेपानीको सहज उपलब्धताका लागि हामी गम्भिरतापुर्वक लाग्नेछौँ । यहाँको कृषियोग्य जमिनको सिँचाइका लागि मुलफाँटमा सिँचाइ योजना निर्माण गरिने छ । कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्दै यहाँको कफीलाई विश्व बजार सम्म पुर्‍याउन विशेष पहल गर्नेछौँ, उम्मेदवार बरालले भने, पशुपालन र तरकारी बालीको विकासका लागि पनि हामीले निष्ठाका साथ काम गर्नेछौँ । युवा तथा महिलाहरूलाई उद्यमशीलतासँग जोड्दै अगाडी बढ्ने हामी प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

‘चुनावका बेला मात्र देखिने फिरन्ते जनप्रतिनिधि हुनेछैन, म हर समय यहाँहरूको घरआगनमा हुनेछु । म तपाँईहरुको इमानदार कार्यकर्ता हुँ, जन सेवक हुँ, एमालेजन मित्रहरूले पनि सूर्य बाहेकको चिन्हमा भोट हाल्दा जात जाने नसोच्नुहोस्, ढुक्कका साथ मलाई कलम चिन्हमा मतदान गरी साथ दिनुहोस् । भत्कन लागेको थोत्रो घरमा बसेर ज्यान जोखिममा नराख्नुहोस्, आउनुहोस् गठबन्धनसँग जोडिनुहोस् । म सार्वजनिक आह्वान गर्न चाहन्छु ।’ उनले भने । केन्द्रीय राजनीतिमा यस क्षेत्रको पहुँच विस्तार गर्दै विकासका योजनाहरू ल्याउनका लागि आफ्नो जित आवश्यक रहेको उनले बताए ।

चुनावी अभियानको क्रममा रहेका गठबन्धनका उमेदवारहरुसंग स्थानीय नागरिकहरूले आफूहरू बाटोघाटोको असुविधा, खानेपानी, सिँचाइ लगायतको समस्याबाट पीडित बनेको बताएका छन् । ‘हामीलाई खानेपानीको ठुलो समस्या छ । बाटोघाटोको असुविधा झेलिरहेका छौँ । यसमा यहाँहरूको ध्यान जाओस् ।’ उनीहरूले भने ।

WP2Social Auto Publish Powered By : XYZScripts.com