पृथ्वीचोकवासीले भने श्रीनाथ जस्तो इमान्दार मान्छेले बल्ल अबसर पाए

- गठबन्धनका उम्मेदवार घरदैलोमा, बसपार्क बन्नेभन्दै उत्साहित स्थानीय

-


     नेपालय न्युज    
     कार्तिक १५ गते २०७९


पोखरा, १५ कार्तिक ।
पोखराको पृथ्वीचोक स्थित बसपार्क वरपरका वासिन्दाले अब बसपार्क बन्नेमा आफूहरु ढुक्क भएको बताएका छन् । मंगलबार उक्त क्षेत्रमा घरदैलो कार्यक्रमका लागि पुगेका कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २ (ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु कुमार थापासंग उनीहरुले यस्तो बताएका हुन् ।
पोखरा महानगरमा नयाँ नेतृत्व आएसंगै प्रदेश सरकारसंग मिलेर नाला बनाउने र बसपार्क सम्याउने काम भएकोे स्मरण गर्दै बसपार्क निर्माणको काम अब गठबन्धनका उम्मेदवारले पुरा गर्ने विश्वास प्रकट गरे ।
पृथ्वीचोकमा रहेको गलकोट रेष्टुरेन्ट एण्ड लजकी अभिभावक ८३ वर्षीय रत्न कुमारी गौचनले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल जस्तो इमान्दार मान्छेले बल्ल अबसर पाएको भन्दै आफू भोट हाल्न आतुर रहेको बताइन् ।
त्यसैगरी यस अगाडि प्रदेशसभा सदस्य भएर सोही स्थानका उम्मेदवार विन्दु थापाले राम्रो काम गरेको उनको भनाई छ । ‘महिले पहिले देखि चिनेजानेका व्यक्ति हुन श्रीनाथ पहिले नै उनले टिकट पाउनुपर्ने हो । किन पाएनन् कुन्नी ढिलै भएपनि उनले टिकट पाएका छन् । यस्ता इमान्दार व्यक्तिलाई जिताइयो भने बसपार्क कसो नबन्ला ? मैले मोट हाल्ने दिन कुरेकी छु । यस्ता असल जनप्रतिनिधि हामीले पठाउनुपर्छ । त्यसैगरी विन्दु थापाले पनि यस अगाडि जितेर हाम्रो मन जित्ने काम गरेका छन् । प्रदेशमा कुनै विवादमा आएको मैले थाहा पाइन । यसपालि पनि उनलाई जिताउने हो’ उनले भनिन् ।
बसपार्ककै पश्चिम साइडमा होटल सुवास सञ्चालन गरेका दुगर्दादत्त सुवेदीले यस अगाडि धेरैले बसपार्क बनाउँछौं भनेर भोट मागेपनि बाचा पुरा नगरेको बताए । तर, पोखरा महानगरमा नयाँ नेतृत्व आएपछि भने नाला बनाउने र बसपार्क सम्याउने काम भएको उनले स्मरण गरे । ‘यस अगाडि यहाँ बसपार्क बनाउँछौं । सुकुम्बासी समस्या समाधान गर्छौंं भन्दै धेरै आए । कसैले केही गरेनन् । पोखरामा धनराज आचार्य मेयर भएपछि प्रदेश सरकारसंग मिलेर नाला बनाउने र सम्याउने काम भएको छ । अब पनि सोही गठबन्धनलाई जिताउँदा पक्कै बसपार्क बन्छ अनि हामी वर्षामा हिलोको र धुलोको समस्याबाट मुक्ति पाउँछौ भन्नेमा विश्वस्त छौं’ उनले भने ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ बरालले जनताको काम गर्न नै आफूहरु निर्वाचनमा होमिएको बताए । उनले विगतमा काम भएन भनेर चिन्ता नगर्न अग्रह गरे । ‘विगतमा काम भएन, गरेनन् भनेर चिन्ता नगर्नु । अब यहाँको सुकुम्बासी समस्या समाधान गर्ने र बसपार्क बनाउने जिम्मेवारी हामी लिन्छौं । जसरीपनि यो काम महानगर र प्रदेशसरकारसंग सहकार्य गर्दैै गराउने जिम्मा हाम्रो भयो’ उनले भने ।
कास्की २ (ख)मा प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अघिल्लो आर्थिक वर्षमा नला बनाउने र केही भएपनि सम्याउने काम भएको र चालु आर्थिक वर्षमा पनि बजेट परेको भन्दै बसपार्क निर्माण गर्ने र स्थानीयका समस्या समाधान गर्ने काम आफूहरुको भएको बताए । ‘अघिल्लो वर्ष नालासम्म बनाएका छौं । थप कामका लागि बजेट परेको छ । महानगरको पनि यो प्राथमिकतामा छ । हामीले पनि यो वर्ष थप बजेट व्यवस्था गरेका छौं । अब यो बसपार्क बनाउने जिम्मा हाम्रै हो’ उनले भने ।
घरदैलो कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फकी उम्मेदवार जुवेदा खातुन, एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधिसभामा सदस्यमा समानुपातिकको तर्फकी उम्मेदवार रत्ना गुरुङ र नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डेसहित गठबन्धन सम्बद्ध दलका नेता र कार्यकर्ताहरुको सहभागिता थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com