
सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाले दक्ष कामदार र अभिभावक भिसाको संख्यामा उच्च वृद्धि गर्ने भएको छ ।
कोरोना भाइरसको महामारी भएयता कामदार अभाव चुलिएपछि श्रम बजारमा व्याप्त अभाव कम गर्न दक्ष कामदार भिसाको संख्या बढाउन लागिएको हो । संघीय बजेटअन्तर्गत प्रधानमन्त्री एनथोनी अल्बानेज नेतृत्वको सरकारले केही भिसामा कटौती गरेर यी दुई भिसाको संख्या बढाइएको छ ।
अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मरले संघीय बजेट घोषणाअन्तर्गत देशभर व्याप्त दक्ष श्रम अभाव कम गर्न जागिर र दक्ष शीप सम्मेलनमा मुख्य घोषणाहरू गरेका थिए । बजेटमा अध्यागमनमा विविध परिवर्तनको घोषणा भएको छ । सरकारले आर्थिक वर्ष २०२१/२२ मा १ लाख ६० हजार रहेको स्थायी आप्रवासी कार्यक्रमअन्तर्गत ल्याइने आप्रवासीको संख्या बढाएर आव २०२२/०२३ मा १ लाख ९५ हजार पुर्याएको छ ।
त्यहाँको अध्यागमन क्षेत्रलाई चुस्त बनाउन अतिरिक्त ५७ करोड ६० लाख डलर विनियोजन गरिएको छ । रोजगारदाताले प्रायोजन गरेको, दक्ष स्वतन्त्र, क्षेत्रीय र राज्य एवम् क्षेत्रहरूले मनोनित गर्ने भिसा समेतको दक्ष कामदार भिसाको संख्या ७९ हजार ६०० बाट बढाएर आर्थिक वर्ष २०२२/०२३ मा १ लाख ४२ हजार पुर्याइएको छ । अभिभावकलाई दिइने भिसा संख्या पनि समेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ । छोराछोरी भेट्नका लागि अष्ट्रेलिया जाने पर्खाइमा रहेका अभिभावकहरूलाई यसले ठूलै राहत दिने छ ।
अध्यागमन कार्यक्रमको हिस्साअन्तर्गत उपलब्ध गराइएको भिसाको संख्या भने नबढाएको भएपनि सरकारले प्रशान्त टापुका देशहरू र टिमोर–लेष्टका नागरिकका लागि नयाँ प्रशान्त आबद्धता भिसा ल्याउने भएको छ । आगामी वर्षदेखि थप ३ हजार भिसा उपलब्ध गराइनेछ । यो स्थायी कार्यक्रमअन्तर्गत उपलब्ध गराइने १ लाख ९५ हजार भिसा बाहेकको हुने बताइएको छ ।
विदेशमा बसोबास गरिरहेको मानिसहरूको लागि दक्ष भिसामा प्राथमिकता दिइने बताइएको छ । पारिवारिक वा घरेलु हिंसाका पीडितहरूलाई दिइने भिसावाहकहरूलाई टेवा दिन २ वर्षका लागि १ करोड २६ लाख डलर विनियोजन गरिने भएको छ । जोडीदार वा बालबालिकाहरूलाई दिइने भिसा भने मागमा आधारित हुनेछ ।
कार्यक्षेत्रबाट गरिने प्रायोजन स्पोन्सर भिसाको संख्या २२ हजारबाट बढाएर ३५ हजार पुर्याइएको छ भने स्वतन्त्ररूपमा आउने दक्ष कामदारको संख्या ६ हजार ५ सयबाट ३२ हजार बनाइएको छ । दुर्गम क्षेत्रमा देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यले उक्त क्षेत्रमा छुट्याइएको भिसाको संख्यासमेत ११ हजारबाट ३१ हजार पुर्याइएको छ ।
तर, जोडीदार भिसाको संख्या भने ७२ हजारबाट ४० हजारमा झारिएको छ । गत वर्ष दक्षताका आधारमा दिइने भिसाको संख्या ७६ हजार ६ सय रहेकामा उक्त संख्यालाई बढाएर १ लाख ४२ हजार पुर्याइएको छ भने पारिवारिक भिसाअन्तर्गत दिइने संख्यालाई ८० हजारबाट घटाएर ५२ हजार बनाइएको छ ।
अध्यागमन कार्यक्रममा गरिएको हेरफेरबाट आगामी चार वर्षसम्म सरकारले कर राजस्वबापत ९३ करोड ५० लाख डलर संकलन गर्ने अपेक्षा गरिएको छ । एजेन्सी