
कास्की । २०६५ सालको उपनिर्वाचनयताका चुनावी परिणाम हेर्दा कास्की–१ परिणाम बदलिइरहने क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतीजा आफ्नो पक्षमा पार्ने लक्ष्यसाथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् ।
यसअघिको आमनिर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएकोमा वाम गठबन्धनले विजय हासिल गरेको थियो । अहिले भने उक्त समीकरण फेरिएको छ । अहिले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका पाँच राजनीतिक दलको गठबन्धन एकातर्फ छ भने नेकपा एमाले, अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
चुनावी परिणामलाई आफ्ना पक्षमा पार्न यतिखेर उम्मेदवार गाउँ पसिसकेका छन् । गाउँ बस्तीमा धान भित्र्याउन सर्वसाधारण लागिरहेका अवस्थामा घरदेखि खेतका खलासम्म उम्मेदवारको सक्रियता बढेको छ । उम्मेदवारहरूलाई भोट तान्ने गरी मतदाता रिझाउन भ्याइनभ्याइ छ ।
वर्षभरि दुःख गरेर फलाएको धान थन्क्याउने हतारोमा रहेका सर्वसाधारणसँग हात जोड्दै पुगेका उम्मेदवारहरू स्थानीय समस्या र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
यस पटकको निर्वाचनमा कास्की–१ बाट गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार छन् । नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष मनबहादुर गुरुङ उम्मेदवार छन् ।प्रदेशसभा सदस्यमा गठबन्धनका तर्फबाट प्रदेशसभा (क) र (ख) मा क्रमशः नेकपा माओवादी केन्द्रका दीपक कोइराला र नेपाली कांग्रेसका दीपक गुरुङ (माइला) उम्मेदवार छन् भने नेकपा एमालेका तर्फबाट खगराज अधिकारी र वेदबहादुर गुरुङ उम्मेदवार छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यस क्षेत्रमा कूल १ लाख १० हजार ७१५ मतदाता छन् । जसमध्ये प्रदेशसभा (क) मा ५८ हजार ४४५ र (ख) मा ५२ हजार २७० मतदाता छन् । सो क्षेत्रमा १३४ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्वर १ का निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।
यस क्षेत्रमा प्रनिधिसभामा कूल १४ जना र प्रदेशसभा (क) र (ख) मा ८०८ जना उम्मेदवार छन् । विकासको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्छन् ।
यस क्षेत्रको प्रदेश (क) मा रुपा गाउँपालिका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ नं वडा पर्छन् भने प्रदेश (ख) मा मादी गाउँपालिका र महानगरपालिकाका १०, १२, १३, १४ र २८ नं वडा छन् ।
यहाँका मादी र रुपा गाउँपालिका जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना बोकेर पनि अपेक्षित विकास नभएका क्षेत्र हुन् भने महानगरका वडा पनि विकास दृष्टिले अझै ओझेलमा छन् ।
पर्यटकीयरूपमा आकर्षक गन्तव्य सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य यही क्षेत्रमा पर्दछन् । त्यस्तै कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरी यहाँका आकर्षण हुन् ।
पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्त्वपूर्ण यस क्षेत्रमा मादीको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङ्तिङदेखि सिक्लेससम्मका पदमार्ग पर्यटकलाई आकर्षित गर्न सकिन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यही क्षेत्रमा पर्छ ।
निर्माणाधीन सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङ्तिङलगायतका सडकको स्तरोन्नतिलाई यस क्षेत्रका स्थानीयले उम्मेदवारसँग विकासको प्रतिबद्धता खोजेका छन् ।
दुर्लभ पाँचऔंले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्त्वपूर्ण स्रोत बनाउन सकिन्छ । रुपातालको पर्यटकीय सम्भावनासँगै यहाँबाट जलविद्युत् निकाल्ने गरी सम्भाव्यता अध्ययनको पहल अघि बढिसकेको छ भने व्यावसायिक माछापालन पनि आयआर्जनका लागि महत्त्वपूर्ण विकल्प बन्ने देखिन्छ ।
यहाँका हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना छन् ।
त्यस्तै शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिंकरोड र बेगनास भोर्लेटारलगायतका सडक यहाँका चुनावी मुद्दा बन्दै आएका छन् । महानगरका वडा अधिकांश ग्रामीण भेगमा नै रहेकाले तिनको विकास गर्न उम्मेदवारसँग प्रतिबद्धता खोजिने विजयपुरका मतदाता राजेश घिमिरेले बताए । ‘सम्भावना रहेर पनि ओझेलमा परेका कास्की क्षेत्र नं १ का बस्तीको विकासका लागि उम्मेदवारसँग प्रतिबद्धता खोज्ने बेला आएको छ,’ उनले भने, ‘यहीँका पूर्वाधारको संरक्षण र विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्न सक्ने किसिमको नेतृत्व चुन्नु अपरिहार्य छ ।’
कृषि पर्यटनमा क्रान्तिका माध्यमबाट देशको समृद्धि र शान्तिको बाटो अँगाल्न सकिने बताउने गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बराल ज्ञान, उद्यमशील र सीपको शिक्षासहित विद्यालय सुधार गर्ने योजनाका साथ चुनावमा होमिएको बताउँछन् ।
समृद्धिको निकासका लागि गुणस्तरीय र योजनाबद्ध विकास आवश्यक रहेको बताउँदै उनले राजनीतिक शुद्धतासँगै संसद्को गरिमा र सांसदको मर्यादा कायम गराउने कुरा पनि आफ्नो प्रतिबद्धतामा रहेको बताए । कास्की क्षेत्र नं १ का हरेक सम्भावनालाई उजागर गर्दै समृद्धि र विकासका लागि लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । जनताका हरेक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउने उनले बताए ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गुरुङले गरिबीको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताए । कास्की क्षेत्र नं १ प्राकृतिकरुपमा सम्पन्न रहेको बताउँदै उनले यसको संरक्षण र उपयोगमा जोड दिने बताए । गाउँ र सहरबीचको दूरी कम गर्नुका साथै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।
गठबन्धन तथा नेकपा एमालेका उम्मेदवार सहित अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि मतदातालाई आफ्ना पक्षमा पार्न चुनावी अभियानलाई तीव्रता दिएका छन् । हाम्रो नेपाली पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोद आचार्य भ्रष्टाचाररहित समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउँछन् । राजनीतिक नीतिगत भ्रष्टाचार उन्मूलनलाई जोड दिइने बताउँदै उनले यस क्षेत्रको समग्र विकाससँगै शिक्षा, स्वास्थ्य एवं रोजगारीको प्रत्याभूति गराउने गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।
को बलियो ?
अघिल्लो पटक नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको यस क्षेत्रमा अहिले भने नेपाली कांग्रेस र माओवादीसहितका दलको गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रअन्तर्गत पर्ने पालिकामा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् ।
पोखरा महानगरपालिकासहित रुपा र मादी गाउँपालिकाका कूल २९ ओटा वडा रहेको यस क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवारहरूले ३१ हजार ७२ मत प्राप्त गर्दा एमालेका वडाअध्यक्षका उम्मेदवारहरूले कूल २८ हजार ३४६ मत प्राप्त गरेका थिए ।
त्यस्तै माओवादी केन्द्रबाट वडाअध्यक्षका उम्मेदवारहरूले ३ हजार १७० मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रसहित गठबन्धनका दलको तालमेल थियो । यस क्षेत्रमा राप्रपाका वडाध्यक्षका उम्मेदवारले १ हजार ७३७, स्वतन्त्रले ४३५, जनता समाजवादीले ४४ र अन्य पार्टीका उम्मेदवारले ३९ मत प्राप्त गरेका थिए ।
वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई हेर्दा यस क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो दल देखिएको छ । कांग्रेससहितका गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समेत मत जोड्दा मतान्तर फराकिलो देखिन्छ ।
एमालेबाट सिट खाेस्न सक्ला कांग्रेसले ?
पछिल्ला निर्वाचन हेर्दा यो क्षेत्र परिणाम बदलिरहने क्षेत्र हो । २०६५ सालको उपनिर्वाचनयताको परिणाम कुनै दलका पक्षमा स्थायी देखिएको छैन । उक्त उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी)का कृष्णबहादुर गुरुङ निर्वाचित भएका थिए । त्यसअघि विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट माओवादीका देव गुरुङ विजयी भएका थिए । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा कास्की–१ मा उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनपछि विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बने । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी गठबन्धनका तर्फबाट एमालेका खगराज अधिकारी विजयी भए ।
यसपटकको निर्वाचनमा गठबन्धन उम्मेदवारले एमालेकाे सिट खाेस्न सक्ला कि एमालेले जित दोहोर्याउला ? त्यहाँका आममतदातामाझ चासो र बहसको विषय बनेको छ । यद्यपि, यसको नतिजाका लागि भने मंसिर ४ गतेपछिको चुनावी परिणाम कुर्नुपर्ने देखिन्छ । रासस