
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा सोमवार साँझ देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/ सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गर्नुभएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।
यसैबीच राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गर्नुभएको छ ।
‘तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ’, सन्देशमा भनिएको छ, ‘तिहारका अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको छ ।’
राष्ट्रपति भण्डारीले असल परम्परा र अभ्यासले नेपाली संस्कृतिलाई जोगाउने तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमशः हटाउँदै जानुपर्नेमा जोड दिनुभएको छ ।
कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीको ठूला चाडमध्ये एक महत्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चकका रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता विशिष्ट तिहार समेटिएका छन् ।
यस पर्वको अवसरमा धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी–भैलो खेल्ने परम्परा रहेको छ । रासस