
सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी सब्सक्रिप्शन स्ट्रिमिङ सर्भिस नेटफ्लिक्सको सब्सक्राइबर घट्ने क्रम रोकिएको छ ।
तीव्र प्रतिस्पर्धा र जीवनयापन खर्चमा भइरहेको वृद्धिबीच मानिसहरुको खर्च क्षमता खुम्चिरहेको समयमा नेटफ्लिक्समा ग्राहक घट्ने क्रम रोकिएको हो । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा नेटफ्लिक्समा २४ लाख ग्राहक थपिएका छन् । योसँगै कम्पनीले यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा गुमाएको ग्राहक फिर्ता पाएको हो ।
कम्पनीले प्रमुख बजारमा मूल्य बढाएपछि वर्षको पूर्वाद्धमा ग्राहक गुमेका थिए । ‘स्ट्रयान्जर थिङ्स’ र ‘मन्ष्टरः द जेफ्री डाह्मर स्टोरी’ लगायत हिट शोहरुले नेटफ्लिक्समा दर्शक फर्काउन मद्दत गरेको थियो । चुनौतीपूर्ण पहिलो अर्धवार्षिक अवधिपछि आफूहरु वृद्धि पुनः उकालो लाग्ने बाटोमा रहेको कम्पनीले लगानीकर्ताहरुको नाममा प्रेषित गरेको पत्रमा भनेको थियो । आगामी महीनामा सब्सक्राइबरहरु थपिने क्रम पुनः बढ्न थाल्ने कम्पनीको भनाइ छ ।
कम्पनीले आफ्नो व्यवसाय बढाउन आगामी महीनादेखि कम महँगो भएको विकल्प शुरु गर्ने लगायतका उपायहरु ल्याउँदैछ । आगामी वर्षको शुरुमा एकाउन्ट मिलेर चलाउनेका लागि नयाँ शुल्क पनि लागू गर्न थालिनेछ । यसअघि नै कम्पनीले ल्याटिन अमेरिकाका केही हिस्सामा यसको परीक्षण गरिसकेको छ । यी परिवर्तनहरुले कम्पनीलाई थप पैसा कमाउन सघाउने बताइएको छ ।
एशिया प्रशान्त क्षेत्रमा साइन अपले हालैका त्रैमासमा वृद्धिलाई डोर्याइरहेको छ । यसले कम्पनीको कुल सब्सक्राइबर २२ करोड ३० लाख माथि राख्न मद्दत गरेको थियो । पछिल्लो समय नेटफ्लिक्सले युटयूबले कडा टक्कर दिइरहेको छ । साथै एमाजन र डिज्नी लगायत प्रतिस्पर्धीहरुबाट पनि प्रतिस्पर्धा बढिरहेको छ । अहिले लोकप्रिय स्ट्रिमिङ शोको सूचीमा कोब्रा काई, द क्राउन जस्ता शोहरुको बर्चश्व छ ।
कोरोना भाइरसको महामारीको समयमा तीव्र वृद्धिपछि कम्पनीलाई नयाँ साइन अप बढाउन सकस भएको थियो । अमेरिका र बेलायतजस्ता प्रमुख बजारमा मूल्य वृद्धिले पनि कम्पनीको समस्या बढाएको थियो । कम्पनीले एप्पल टीभी, एचबीओ म्याक्स, एमाजन प्राइम र डिज्नी प्लसबाट पनि कठोर प्रतिस्पर्धाको सामना गरिरहेको छ । यो वर्ष कम्पनीको शेयरमूल्य पनि ह्वात्तै घटेको थियो ।
यसका कारण कम्पनी रोजगारी कटौती गर्न र व्यवसायको विज्ञापन लगायत कोर तत्वहरुबारे पुनःविचार गर्न बाध्य बनेको थियो । कम्पनीको सब्सक्राइबरहरु बढेको खबर सार्वजनिक भएपछि नियमति समय पछिको कारोबारमा मंगलवार नेटफ्लिक्सको शेयर १० प्रतिशतभन्दा धेरैले बढेको थियो । एजेन्सी