‘अब ठूलो पानी पर्दैन’

-


     नेपालय न्युज    
     असाेज २७ गते २०७९


मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो। दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन्य घटना पनि बढे।

यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ। क्रमिक रूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताइन्। उनका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने सम्भावना रहे पनि भारी वर्षा हुने देखिँदैन।

उनले भनिन्, “मौसम सुधारिँदै गएको छ। अब, मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन। केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ।”

राजधानी काठमाडौँलगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ। उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भेगमा बदली तथा प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com