
काठमाडौंको नयाँ बानेश्वर एरिया निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्दछ । यहाँका घर-घरमा दसैंका बेला विभिन्न रंगका पर्चाहरु हालिएको खाम फेला पर्यो । खोलेर हेर्दा पूर्वडीआइजी रमेश प्रसाद खरेलको पार्टीको घोषणापत्र र चुनावी प्रचार सामग्री भेटियो ।
आफू काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्न लागेको भन्दै नेपाल सुशासन पार्टीका अध्यक्ष खरेलले भोट मात्रै मागेका छैनन्, क्यूआर कोडसहित फोन पे मार्फत चन्दासमेत मागेका छन् ।
‘हामीसँग देशको माया, इच्छाशक्ति, इमान्दारिता र नैतिकता छ तर पार्टी चलाउन पैसा छैन,’ पूर्वडीआइजी खरेलले चन्दा माग्दै भनेका छन्,‘तपाई देश विदेश जहाँ हुनुहुन्छ, हामीलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तलको खाता नम्बरमा रकम जम्मा गरी जनाकारी दिन सक्नुहुनेछ । इमान्दारितापूर्वक देशको सेवा गरेर तपाईको ऋण चुक्ता गर्नेछौं ।’
आफ्नै पार्टी खोलेर काठमाडौं १ बाट प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका पूर्वडीआइजी खरेलले आफ्नो प्रतिवद्धतापत्रमा अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको छवि बढाउने, सीमानामा पिल्लरसहितको हरितबार लगाउने, अपराधीलाई टाउको उठाउन नदिने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने लगायतका विषयहरु समेटेका छन् ।
त्यस्तै नेपाली उत्पादनलाई विश्वबजारमा पुर्याउने, विदेश गएका नेपालीलाई स्वदेशमै फर्काउने र नेपालवादको सिद्धान्तलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् । साथै खरेलले काठमाडौं १ बाटै उम्मेदवारी दिनुको कारणसमेत खुलाएका छन् ।
बागमती र रुद्रमती (धोबीखोला) नदी सफा पार्ने, ढल, सडक, पुल निर्माण एवं सडक व्यवस्थापन गर्ने, मौलिक परम्परा र संस्कृति जोगाउने, नदी किनारका सुकुम्बासीको व्यवस्थापन गर्ने, लुकाइएका सरकारी जग्गाहरु खोजी गरी पार्कहरु निर्माण गर्ने, वडाहरुमा सीसीटीभी जडान गर्ने तथा नागरिकका पिर मर्काहरुको सुनुवाई गर्ने भन्दै खरेलले काठमाडौं क्षेत्र नम्बर १ का जनतासँग भोट मागेका छन् ।
‘लाचार विदेशी दास, चाकर र अरौटे भरौटेहरुको अकर्मण्यता र राष्ट्रघातसम्बन्धी तिनीहरुका काला कर्तुतहरुको भण्डाफोर गर्दै मातृभूमिको सर्वोत्तम हित र रक्षाको निम्ति संसदमा सशक्त आवाज बुलन्द गर्न’ आफू काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको पूर्वडीआइजी खरेलको भनाइ छ ।
खरेलको सुशासन पार्टीलाई निर्वाचन आयोगले ‘बच्चालाई दूध चुसाइरहेकी आमा’ चुनावचिन्ह दिएको छ ।
पुकार बमको बेग्लै तयारी
काठमाडौं क्षेत्र नम्बर १ बाट पूर्वडीआइजी खरेलले उम्मेदवारी घोषणा गर्नुअघि नै सामाजिक अभियन्ता पुकार बमले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । बलमे आफ्नो चुनावी अभियानलाई तीब्र पारेका छन् ।
विवेकशील पार्टीका पूर्वनेतासमेत रहेका बमले स्थानीय चुनावमा बालेन्द्रलाई सघाएको टिमको समेत साथ लिन खोजेका देखिन्छ । साथै साझा विवेकशील पार्टी र रवि लामिछानेको पार्टीको समेत साथ लिने प्रयासमा पुकार लागि परेको देखिन्छ ।
पुकारले यसका लागि रवि लामिछानेको घण्टी चुनावचिन्ह लिने सहमति जनाइसकेका छन् । उनले स्वतन्त्र रहने गरी चुनावचिन्ह घण्टी लिएको र राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेको जनाएका छन् ।
पूर्वडीआइजी खरेलले पनि बालेन्द्र शाह, रवि लामिछाने र साझा विवेकशीलको साथ लिन खोजेका छन् । तर, रवि लामिछानेको घण्टी पुकार बलमे लिइसकेका कारण खरेल केही पछि परेका छन् । पुकार विवेकशीलको पूर्वकार्यकर्ता समेत भएकाले विवेकशीलको भोटसमेत खरेललाई भन्दा उनैलाई जाने सम्भावना बढी देखिन्छ ।
तथापि खरेल र बम दुबैको मताधार एउटै देखिन्छ । यसमा युवा पुस्ताको साथ पुकारलाई जाने र पूर्वप्रशासकहरुको साथ खरेलतिर जाने स्थानीयको अनुमान छ । दुबैले कांग्रेस एमाले जस्ता पुराना पार्टीबाट असन्तुष्ट रहेका मतादाताको भोट तान्ने प्रयास गरेको देखिन्छ ।
‘इनफ इज इनफ’ (अब अति भयो) आन्दोलनका अभियन्तासमेत रहेका पुकारले भनेका छन्, ‘म सडकबाट मात्र होइन सदनबाट नागरिकलाई साथ दिन चाहन्छु। सडकमा १७ वर्ष सङ्घर्ष गरेर अब सदनमा पुगेर सदनलाई नागरिकहरूको आवाज सुनिने थलो बनाउन चाहन्छु। म सबै निर्वाचन क्षेत्रहरूमा आ–आफ्नो ठाउँबाट लुटतन्त्रको प्रतिरोध गर्न युवाहरूलाई उम्मेदवारी दिन र नयाँ राजनीतिको जग बसाल्न नेतृत्व लिन पनि अपिल गर्दछु।’
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका शीर्षनेता प्रकाशमान सिंह तेस्रोपटक गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन् । गत स्थानीय चुनावको मत परिणाम हेर्दा काठमाडौं १ मा स्वतन्त्रको जनमत बलियो देखिए पनि प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवार र अन्य प्रतिस्पर्धीहरु धेरै देखिएपछि यसको फाइदा कांग्रेस नेता सिंहलाई हुने कांग्रेस कार्यकर्ताको दाबी छ ।
रवीन्द्र मिश्रको ‘इन्ट्री’
०७४ सालको चुनावमा कांग्रेस नेता प्रकाशमान सिंहसँग ८१८ मतले हारेका रवीन्द्र मिश्रले ढीलो गरी काठमाडौं १ बाटै चुनाव लड्ने घोषणा गरेका छन् । तर, ०७४ मा साझा विवेकशीलको मुख्य नेतृत्वका रुपमा चुनाव लडेका मिश्र अहिले राप्रपामा प्रवेश गरेर चुनावमा होमिएका छन् । यसपटक उनले एमालेसँग तालमेल गर्ने सम्भावना बढेको छ ।
विगतमा चुनाव लड्दा मिश्र लोकप्रिय थिए । त्यसयता उनी राजावादी लाइन लिएका कारण आलोचित बनेका छन् । उनले विवेकशील साझा पार्टीको विश्वास समेत ‘लुज’ गरेका छन् । उनका कतिपय समर्थकहरु आलोचक बनेको स्थिति छ । यो प्रतिकूल परिस्थितिमा मिश्रले ०७४ सालमा पाएको १० हजार ११८ भोट छरपस्ट भइसकेको छ ।
तर, मिश्रका लागि यसपटक केही सकारात्मक पाटो पनि छ । जस्तो– विगतमा उनले एमालेको साथ पाएका थिएनन्, यसपालि एमालेले भोट दिने सम्भावना छ । दोस्रो– उनी राप्रपामा प्रवेश नै गरेको हुनाले राप्रपाको भोटसमेत पाउने सम्भावना छ ।
विगतमा मिश्रले जुन भोट बैंकबाट १० हजार भोट पाएका थिए, त्यो भोटबैंकको मत चाहिँ युवा नेता पुकार बम र पूर्वप्रशासक रमेश खरेलतिर बाँडिने पक्कापक्की छ । यो अवस्थामा चुनाव जित्नका लागि मिश्रले आफूले गुमाउने भोटमा एमाले र राप्रपाबाट भरपूर गर्नुपर्ने हुन्छ ।
पाँच वर्षको अवधिमा राजनीतिको आरोह–अवरोह खेपेका मिश्रले भोट माग्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘म देशकै, अझ खासगरी काठमाडौँ क्षेत्र नं १ का मतदाताका लागि गर्वयोग्य सांसद भएर नेपालको दूरगामी हित र आर्थिक रूपान्तरणका लागि नीतिगत तहमा इमानदारीपूर्वक काम गर्न प्रतिवद्ध छु। मैले आजसम्म एक पैसा भष्टाचार गरेको छैन, गर्ने पनि छैन। भ्रष्टाचार गरेको भए या भविष्यमा गरे आमाको रगत पिए बराबरको पाप लागोस् । हाम्रा कतिपय विचारमा समानता होला या नहोला, त्यो भिन्दै कुरा हो, र त्यो बहुलवादी समाजको सौन्दर्य पनि हो । तर म सांसदका रूपमा तपाईंलाई निरास पार्ने छैन।’
कति छ काठमाडौं १ मा एमाले र राप्रपाको भोट?
अब काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपा र एमालेको भोट कति छ भनेर हेरौं ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११ २९ र ३१ समेत चारवटा वडाहरु समेटिएर बनेको क्षेत्र नम्बर १ मा एमाले र माओवादीको भोट खासै धेरै देखिँदैन । ०७४ को चुनावमा एमाले र माओवादीको गठबन्धन हुँदा माओवादीका अनिल शर्माले यहाँबाट ५ हजार ३३६ मत मात्रै पाएका थिए । यो मत भनेको एमाले र माओवादीको संयुक्त हो । जबकि कांग्रेस एक्लैले १० हजार ९३६ र रवीन्द्र मिश्रको वैकल्पिक पार्टीले १० हजार ११८ मत पाएका थिए ।
गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा वडाध्यक्ष तर्फको मत हेर्दा वडा नम्बर १० मा कांग्रेसले ३ हजार ४२८ मत ल्याउँदा एमालेको १ हजार ९५३ रा राप्रपाको ३२९ मत खसेको थियो । यस वडामा एमाले र राप्रपाको मत जोड्दा पनि कांग्रेसको धेरै नै बढी देखिन्छ । यस वडामा माओवादीले २४३ र विवेकशील साझाले ५३ मत पाएका थिए ।
त्यस्तै वडा नम्बर ११ मा पनि नेपाली कांग्रेसले नै जितेको थियो । यहाँ कांग्रेसले १ हजार ५५५ मत पाउँदा एमालेले ९५० र राप्रपाले २५२ मत पाएका थिए । माओवादीले ११६ र विवेकशील साझाले १४१ मत पाएका थिए । यस वडामा सबै दलको मत जोड्दा पनि कांग्रेसकै बढी देखिन्छ ।
वडा नम्बर २९ मा पनि कांग्रेसले नै जितेको थियो । यहाँ कांग्रेसले १ हजार ९२१ मत ल्याउँदा एमालेले १ हजार ८७१ मत ल्याएको थियो । राप्रपाले २१० र माओवादीले १०४ मत पाएको थियो ।
वडा नम्बर ३१ मा भने एमालेले जितेको थियो । यहाँ एमालेले ४ हजार ७६७ मत पाउँदा कांग्रेसले २ हजार ९९१ मत पाएको थियो । यहाँ एमाले ठूलो मतान्तरले कांग्रेसभन्दा अगाडि देखिएको थियो । यस वडामा राप्रपाको ५८५ र माओवादीको ६४६ मत खसेको थियो भने विवेकशील साझाको मत ७९ मात्र थियो ।
स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा विश्लेषण गर्दा कांग्रेसको कुल मत ९ हजार ८९५ देखिन्छ भने एमालेको कुल मत ९ हजार ५४१ देखिन्छ ।
एमालेले पाएको मतमा राप्रपाको कुल मत १ हजार ३७६ जोड्दा कुल १० हजार ९१७ हुन आउँछ । त्यस्तै, कांग्रेसले पाएको मतमा माओवादीको कुल मत १ हजार १०९ मत जोड्दा ११ हजार ४ मत हुन आउँछ । एमाले र कांग्रेस दुबै गठबन्धनको मतान्तर ८७ मात्रै देखिन्छ । विवेकशील साझा पार्टीले स्थानीय चुनावमा यस क्षेत्रबाट पाएको वडागत मत २७३ मात्रै देखिएको छ ।
मेयरको मत परिणाममा लौरो अगाडि
स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा मात्र विश्लेषण गर्दा गलत निष्कर्षमा पुग्न सकिन्छ । किनभने काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने चारैवटा वडामा मेयरले पाएको मत हेर्दा सबैमा स्वतन्त्र९ बालेन्द्र शाह० ले अग्रता लिएको देखिन्छ । जब कि वडामा कांग्रेसको अग्रता देखिन्छ ।
गत स्थानीय चुनावमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले वडा नम्बर १० बाट २७३३ मत पाएका थिए । त्यस्तै वडा नम्बर ११ बाट १११५ मत पाएका थिएउ भने वडा नं २९ र ३१ बाट क्रमशः १६७८ र ४१५८ मत पाएका थिए ।
जबकि नेपाली कांग्रेसकी सिर्जना सिंहले चारैवटा वडाबाट क्रमशः १७९८, ९६३, १२६२ र २४९३ मत पाएकी थिइन् । त्यस्तै एमालेका केशव स्थापितले १११५, ६४३, ९६६ र २५६६ मत पाएका थिए ।
मेयरका उम्मेदवारले पाएको मतका आधारमा विश्लेषण गर्दा यस क्षेत्रमा स्वतन्त्रको कुल मत ९ हजार ६८४ हुन आउँछ । त्यस्तै कांग्रेसको कुल मत ६ हजार ५१६ पुग्छ भने एमालेले पाएको कुल मत ५ हजार २९० देखिन्छ ।
यो विश्लेषणका आधारमा हेर्ने हो भने काठमाडौं क्षेत्र नम्बर १ मा एमालेको मत ५ हजारदेखि ९ हजारको बीचमा देखिन्छ । वडाका आधारमा ९ हजार, मेयरका आधारमा ५ हजार ।
राप्रपाको हलोले महानगरभरिबाट ५ हजार ७७० मत मात्रै पाएको थियो । त्यस्तै विवेकशील साझाले काठमाडौं महानगरभरि ६४७ मत मात्रत्र पाएको थियो । राप्रपाले काठमाडौं क्षेत्र नम्बर १ बाट जम्माजम्मी १३ सय मत पाएको थियो ।
यो गणितका आधारमा रवीन्द्र मिश्रले एमाले र राप्रपाको भोटले मात्रै चुनाव जित्नु निकै नै चुनौतीपूर्ण हुने देखिन्छ । विवेकशील साझाको भोट उसै पनि गायव भएको अवस्था छ, त्यसमा पनि पुकार बम र रमेश खरेलले भोट काट्ने हुँदा मिश्रलाई थप घाटा पर्ने देखिन्छ ।
तर, मिश्रलाई एमालेका सबैले मत हाल्छन् भन्ने पनि छैन । किनभने ०७४ मा माओवादीका अनिल शर्मालाई एमालेले सघाउँदा पनि ५ हजार मात्रै भोट खसेको इतिहास छ ।
काठमाडौं १ मा एमालेको भोट निरन्तर घट्दै गएको देखिन्छ । एक समय एमालेको गढ मानिने काठमाडौं १ मा एमालेका प्रदीप नेपाल ६७८९ मत ल्याएर प्रकाशमान सिंहसँग भारी मतले हारेका थिए । ०७० को चुनावमा एमालेकी विद्या उपाध्याय न्यौपाने ३५०१ मत ल्याएर चौथो स्थानमा खुम्चिइन् । सो चुनावमा कांग्रेसका प्रकाशमान सिंह पहिलो, माओवादीकी रेनु दाहाल दोस्रो र राप्रपा नेपालका भरतमणि जंगम तेस्रो बनेका थिए भने एमालेले चौथो स्थानमा चित्त बुझाउनुपरेको थियो । ०७४ को चुनावमा एमालेले काठमाडौं १ मा उम्मेदवारी नै दिएन ।
यसपालि पनि नेकपा एमाले काठमाडौं १ मा उम्मेदवारी नदिने र रवीन्द्र मिश्रलाई सघाउने पक्षमा उभिएको छ । प्रकाशमान सिंहले ०६४ सालयता काठमाडौं १ मा ह्याट्रिक गरिसकेका छन् । यसपटक सिंह चौथोपटक चुनावी प्रतिस्पर्धामा उत्रन लागेका छन् । तर, स्थानीय चुनावको नतिजाले स्वतन्त्रको अवस्था राम्रो देखिए पनि पुकार बम, रमेश खरेल र रवीन्द्र मिश्र तीनजनाको उम्मेदवारी परेका कारण सिंहलाई फेरि ‘लट्री’ पर्ने सम्भावना बढेको छ ।
काठमाडौं १ ले जन्माएको अहम प्रश्न छ– गठबन्धनका उम्मेदवार प्रकाशमानका निकटतम प्रत्याशी को बन्लान्? रवीन्द्र मिश्र, रमेश खरेल वा पुकार बम? के यस क्षेत्रबाट यसपालि नयाँ ‘बालेन्द्र शाह’ जन्मेलान्? यसका लागि मंसिर ४ सम्म कुनैपर्ने हुन्छ ।
नेपालखबरबाट