
वाशिङटन डीसी (अमेरिका) । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क फेरि ट्वीटर किन्ने बताएका छन् ।
अदालतमा कानूनी प्रक्रिया जारी रहेकै बखत उनले ट्वीटर कम्पनी खरीद गर्न आफू तयार रहेको बताएका हुन् । उनले सन् २०२२ को शुरुवातमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गर्ने प्रस्ताव गरेका थिए ।
ट्वीटरले आफ्ना विभिन्न प्रतिबद्धता पुरा नगरेको भन्दै ४४ अर्ब डलरको यो प्रस्तावबाट उनी पछि हटेका थिए । मस्कको यस्तो एकतर्फी निर्णय विरुद्ध ट्वीटरले अदालतमा मुद्दा दायर गरिसकेको छ । आफू विरुद्ध अदालतमा मुद्दा दायर भएको अवस्थामा एलन मस्कले पुनः ट्वीटर कम्पनी खरीद गर्ने मनस्थिति बनाएका छन् ।
उनी पुरानै प्रस्तावित मूल्यमा ट्वीटर खरीद गर्न तयार भएको भन्दै बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ। उनले प्रस्तावित मूल्यमा नै ट्वीटर कम्पनी खरीद गर्ने भनी ट्वीटरलाई पत्र लेखेका छन् ।
यससम्बन्धमा ट्वीटरलेले पनि पुरानै सम्झौता बमोजिम खरीद गर्न एलन मस्क तयार भएको जानकारी नियामकलाई गराएको छ । अव उनले उनले ट्विटर प्रतिकित्ता ५४ डलर २० सेन्टमा सवै शेयर खरीद गर्नेछन् ।
पटक – पटक बखेडा झिक्दै आएका उनले ट्विटर खरीदबारे पुन : वार्ता गर्न खोजिने र यसको मूल्य यस अघिकोभन्दा कम हुने पनि बताउँदै आएका थिए । मस्कले सम्झौतापछि स्पाम वा नक्कली खातालाई अड्को बनाएर राखेका थिए ।
यदि मस्कले गरेको सम्झौता रद्द नै भइहाल्यो भने क्षतिपूर्तिबापत १ अर्ब डलर शुल्क भरपाई गर्नुपर्ने छ । प्रारम्भिक खरीद् सम्झौतामा पनि यहि शर्त राखिएको छ। मस्कले कम्पनी किन्छु भन्दा खेरिको तुलनामा अहिले कम्पनी निकै खराब अवस्थामा छ । हरेक ट्विट र सार्वजनिक रुपमा उनले गरेका उपहाससँगै ट्विटरप्रतिको विश्वास खस्किएको छ ।
मस्कले कम्पनी किन्लान् भन्ने अनिश्चय कायमै रहँदा हालैका दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागिरहेको थियो । मस्कले ट्वीटर खरीद गर्ने तयारी पुनः गरिरहेको खबर सार्वजनिक भएसँगै कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । एजेन्सी