सत्ता गठबन्धनले यसरी गर्दैछन् प्रदेशका ३३० सिटमा भागवण्डा

-


     नेपालय न्युज    
     असाेज ९ गते २०७९


काठमाडौँ,

पाँच दलीय सत्तारुढ दलले प्रतिनिधि सभामा पाएको सिटको दोब्बर पाउनेगरी प्रदेश सभातर्फको सिट बाँडफाँट गर्ने भएका छन्।

३३० क्षेत्र रहेको प्रदेश सभाको बाँडफाँटका लागि आइतवार दिउँसो गठबन्धनका कार्यदलबीच छलफल चलिरहेको छ। आइतबारदेखि प्रदेश सभाको क्षेत्र केन्द्रित भएर गठबन्धन छलफलमा जुटेका हुन्।

‘हामीले प्रतिनिधि सभामा पाएको सिटको दोब्बर सिट प्रदेश सभामा पाउने पहिलो आधार बनाएका छौँ,’ छलफलमा सहभागी एक कार्यदल सदस्यले भने, ‘अन्य आधार पनि तय भएका छन्।’

ती नेताले अरु आधारहरु खुलाउन चाहेनन्। ‘प्रदेश सभा क्षेत्र बाँडफाँटकै विषयमा अहिले छलफल भइरहेको,’ ती नेताले भने।

प्रतिनिधि सभाको १ सय ४८ सिट भागवण्डा टुंगो लगाएका गठबन्धनले बाँकी टुंगो लगाउनुअघि प्रदेश सभाबारे छलफल थालेका हुन्।

प्रतिनिधि सभामा अहिलेसम्म सहमति भएका क्षेत्रलाई मात्र आधार बनाउँदा पनि कांग्रेसले प्रदेश सभाको १ सय ५० क्षेत्र पाउने निश्चित छ।

माओवादी केन्द्रले ९०, एकीकृत समाजवादी पार्टीले ३०, जसपाले २४ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने निश्चित छ।

ती नेताको भनाइलाई आधार मान्ने हो भने प्रदेश सभाका अब बाँकी ३४ क्षेत्र मात्रै बाँडफाँट गर्न बाँकी छ।

तर, यो आधारलाई मात्र चार दलले मानेका छैनन्। राष्ट्रिय जनमोर्चाले प्रदेश तर्फको ७ सिट हुनुपर्ने आफ्नो बटमलाइन बताएको छ।

यस्तै जसपाले पनि ५० सिट दाबी गरेको छ। मधेस प्रदेश, प्रदेश १का केही क्षेत्रमा आफ्नो प्रभाव राम्रो रहेको जसपाको दाबी छ।

एकीकृत समाजवादीले कम्तीमा ७० सिट प्रस्ताव गरेको छ।

आइतबार (९ असोज) देखि बल्ल प्रदेश सभाको सिटका विषयमा छलफल सुरु भएकोले टुंगो लाग्न समय लाग्नसक्ने नेताहरु बताउँछन्।

उता प्रतिनिधि सभाकै पनि केही सिट मिल्न बाँकी छ।

नेपालखबर

WP2Social Auto Publish Powered By : XYZScripts.com