
कतार एयरवेज सन् २०२२ को सबैभन्दा उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । कोभिड महामारीका कारण सन् २०१९ पछि पहिलोपटक आयोजना गरिएको स्काईट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ मा कतार एयरवेज उत्कृष्ट घोषित भएको हो ।
शुक्रबार लण्डनमा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । स्काईट्रयाक्स बेलायतमा रहेको एयरलाइन्स र एयरपोर्ट रिभ्यू र र्याङ्किङ साइट हो । विजेता घोषणा गर्नका लागि साइटले १ सय बढी देशका १.४ करोड यात्रुलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२२ अगस्तसम्म सर्वेक्षण गरेको थियो ।
सन् १९९९ देखि यो अवार्ड दिन सुरु गरेयता कतार यो अवार्ड ७ पटक जितिसकेको छ । शुक्रबार आयोजित कार्यक्रममा एयरवेजले उत्कृष्ट बिजनेस क्लास, उत्कृष्ट बिजनेस क्लास सिट र उत्कृष्ट बिजनेस क्लास लाउन्जको अवार्ड पनि हात पारेको थियो । दुई महिना अघिमात्र एयरलाइन्स रेटिङ डटकमले पनि कतार एयरवेजलाई नै उत्कृष्ट घोषणा गरेको थियो ।
दोस्रो स्थानमा रहेको सिंगापुर एयरलाइन्सले उत्कृष्ट क्याबिन स्टाफ, उत्कृष्ट फर्स्ट क्लास, उत्कृष्ट फर्स्ट क्लास सिट र उत्कृष्ट फर्स्ट क्लास केटरिङको अवार्ड हात पार्यो ।
यस्तो छ उत्कृष्ट १० एयरलाइन्सको सूची :
१. कतार एयरवेज
२. सिंगापुर एयरलाइन्स
३. एमिरेट्स
४. अल निपोन एयरवेज
५. क्वान्टास
६. जापान एयरलाइन्स
७. टर्किस एयरलाइन्स
८. एयर फ्रान्स
९. कोरियन एयर
१०. स्वीस इन्टरनेसनल एयरलाइन्स
एजेन्सी