डेंगु फैलिएपछि बालेन शाहको ३ बुँदे आग्रह

-


     नेपालय न्युज    
     भाद्र २८ गते २०७९


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले डेंगुको संक्रमण फैलँदै गएको भन्दै महानगरबासीमा तीन बुँदे आग्रह गरेका छन् । उनले डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै संक्रमण रोक्न सबै पक्षको सहकार्य जरुरी रहेको समेत बताएका छन् ।

‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ’, शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको छ । वडाको आकार अनुसार ठुला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरूमा रु ५० हजारका दरमा बजेट छुट्याइएको छ । तर यो प्रयत्न पनि अपुग भएको छ । किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ ।’

उनले उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्न महानगरबासीलाई अनुरोध गर्दै सरसफाइमा पनि जोड दिएका छन् । ‘लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ । यसैले कृपया सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिनुहोला, ताकि पानी जम्मा नहोस् । पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइदिनुहोस्’, उनको आग्रह छ, ‘डेङ्गुबाट संक्रमण हुनु भएको छ भने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्नुहोस् । पछिल्लो समय महानगरसहित काठमाडौं र देशका विभिन्न स्थानमा संक्रमित बढेका छन् । ’

WP2Social Auto Publish Powered By : XYZScripts.com