अटोरिक्सा चढेका दिल्लीका मुख्यमन्त्रीलाई प्रहरीले ओराल्न खोज्यो, तर मानेनन्

-


     नेपालय न्युज    
     भाद्र २८ गते २०७९


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गुजरात प्रहरीले सोमबारअहमदावादमा अटोमा बस्न रोक्ने प्रयास गर्यो । प्रहरीले केजरीवाल दिल्लीको मुख्यमन्त्रीको हिसाबमा भीभीआईपी भएको र उनको सुरक्षालाई मध्यनजर गर्दै अटोमा बस्न दिन नसकिने बतायो ।
यस विषयमा मुख्यमन्त्री र प्रहरीबीच केही समय चर्को बहस पनि भयो । आक्रोशित केजरीवालले प्रहरीलाई ‘तपाईहरुले जबरजस्ती मलाई सुरक्षा दिइरहनु भएको छ । मलाई सुरक्षा चाहिँदैन’ भनेको भिडियो पनि सार्वजनिक भएको छ ।
खासमा दिल्लीका मुख्यमन्त्री उनको होटलबाट एक जना अटो–चालकको अटोमा बसेर उनको घरमा रातिको खाना खान जाँदै थिए । त्यही समय प्रहरीले उनलाई रोकेको थियो ।
यस घटनाको एक भिडियोमा केजरीवाल भनिरहेका सुनिन्छन् ,‘यही कारणले गुजरातका जनता दुःखी छन् । जनता कहाँ कोही जाँदैन । म जान खोज्दा पनि तपाईँ रोक्नुहुन्छ ।’
केजरीवाल पटक पटक आफूलाई प्रहरी सुरक्षा आवश्यक नभएको बताउँछन् । धेरै पटक भनेपछि प्रहरीले उनलाई जान दिन्छन् ।

केजरीवालले सोमबार अहमदाबादमा अटो–रिक्सा चालकहरुको एक सभालाई सम्बोधन गरेका थिए । यस दौरान एक चालकले उनलाई रातिको खाना आफ्नो घरमा खान अनुरोध गरे । केजरीवालले सो आग्रह तुरुन्त स्वीकारे ।
पार्टीको आधिकारिक ट्विटर ह्यान्डलमा दुईबीचको कुराकानीको भिडियो राखिएको छ ।

केजरीवालले ती रिक्सा चालकको घरमा खाना खाएको फोटो पनि आएको छ । केजरीवाल गुजरातको राज्य–सभाको नजिकिँदै गरेको चुनाव प्रचारको लागि दुई दिने गुजरात भ्रमणमा रहँदा यस्तो भएको हो ।
गुजरातमा यो वर्षको अन्तिममा चुनाव हुँदैछ । आम आद्मी पार्टीले राज्यमा पकड विस्तार गर्दैछ । यसैको लागि केजरीवालले पछिल्लो केही महिनाभित्रै गुजरात धेरै पटक गइसकेका छन् ।
यस दौरान केजरीवालले आफूले जिते राज्यमा महिला र बेरोजगार युवाहरुको लागि भत्ताको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य र शिक्षा कायम गर्ने र ३०० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com