गौतमबुद्ध विमानस्थलबाट दैनिक उडान गर्ने तयारीमा जजीरा, बीज एयरले पनि उडान थाल्ने

-


     नेपालय न्युज    
     भाद्र १४ गते २०७९


भदौ १४, काठमाडौं । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ ।

गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको जजीराले आगामी भदौ ३१ (१६ सेप्टेम्बर) देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजीराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए।

एयरवेजले अहिले सोमवार, मङ्गलवार र शुक्रवार गरी सातामा तीन उडान गरिरहेको छ । यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु सङ्ख्या बढ्ने प्रक्षेपणसहित उडान सङ्ख्या थपिएको एयरवेजले बताएको छ ।

कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र यूरोपमा उडान सञ्चालन गर्दै आएको छ । जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले बताएको छ ।

बीज एयरले उडान गर्दै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख) देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधावीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ । जजीराले नियमित उडानका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको छ ।

योसँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने दुई एयरलाइन्स पुगेका छन् । जजीराले शुरुदेखि उडान गरिरहेको छ भने बीजले पनि छिट्टै उडान गर्ने बताइएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रियतर्फ हाल तीन नेपालीसहित २६ ओटा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गर्दै आएका छन् । कोभिड–१९ महामारीपछि मुलुकको अन्तराष्ट्रिय उडान विस्तारै लयमा फर्कदै गरेको प्राधिकरणले बताएको छ ।

अहिले अन्तराष्ट्रियमा ७० प्रतिशत बढी अकुपेन्सी रहेको प्रवक्ता निरौलाले बताए। कोभिडपूर्व ३० भन्दा बढी एयरलाइन्सले काठमाडौं विमानस्थल भएर उडान गर्दै आएका थिए । रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com