अमेरिकाका नेपालीले सम्झे नेता गिरीलाई

-


     नेपालय न्युज    
     भाद्र ६ गते २०७९


भर्जिनिया (अमेरिका), भदौ ६ गते । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ । नेपाली जनसम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टरले आइतबार आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा सहभागीहरुले दिवंगत नेता गिरीको बहुआयामिक व्यक्तित्व र योगदानबारे स्मरण गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरीले नेता गिरी आफ्नो राजनीतिक गुरुसमेत रहेको भन्दै उहाँको निधनले कांग्रेस पार्टी र सिंगो मुलुकले नै एक असल चिन्तक र विचारक गुमाएको बताउनुभयो ।

मन्त्री चौधरीले २०६२–६३ सालको आन्दोलनको क्रममा जेलको एकै कोठामा नेता गिरीसँग बसेको स्मरण गर्दै उहाँले आफूलाई सधैं अध्ययन र लेखनका लागि अभिप्रेरित गर्ने गरेको बताउनुभयो ।

उहाँले यो क्षति सिंगो मुलुकका लागि अपूरणीय छ, समाजवादी विचार र व्यवहारका धनी नेता गिरीले सधैं युवालाई अभिप्रेरित गर्नुहुन्थ्यो र समावेशी अधिकारका लागि सधैं वकालत गर्नुहुन्थ्यो भन्नुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘‘महिला, दलित, मधेशी, जनजातिलगायत सबै समुदाय र वर्गलाई राजनीतिमा समान अधिकार दिनुपर्छ र समावेशी सिद्धान्त अवलम्बन गर्नुपर्छ भन्ने उहाँ वीपी कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादको व्याख्यातासमेत हुनुहुन्थ्यो ।’’

च्याप्टरका कार्यवाहक सभापति यामकुमार सिटौलाको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा पूर्व सांसद एवं नेपाल मानव अधिकार संगठनका महासचिव बिजुल विश्वकर्माले संगठनको संस्थापक महासचिव समेत रहनुभएका नेता गिरी बहुआयामिक व्यक्तित्वका धनी भन्दै मानवतावादी नेताको रुपमा आफूले बुझेको भनाइ राख्नुभयो ।

कार्यक्रममा च्याप्टरका निवर्तमान सभापति रामशरण हुमागाईं, नेपाली जनसम्पर्क समिति, अमेरिकाका उपसभापति केशब बराल, समितिका प्रचार विभाग प्रमुख केन्द्रीय सदस्य गौतम दाहाल, समितिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरी, समितिका न्यू मेक्सिको च्याप्टरका संस्थापक सभापति डाक्टर देशराज संयोक, प्राध्यापक डाक्टर गोपी उप्रेती, इक्वालिटी फाउन्डेशनका अध्यक्ष मेदिनी अधिकारी, डाक्टर रामहरि सुवेदी, अर्जुन सिग्देल, दोबा ढकाल, जनक अधिकारी, मुक्तिनाथ पन्तलगायतले नेता गिरीको व्यक्तित्व र योगदानबारे स्मरण गर्नुभयो । गोरखापत्र

(नेपाली जनसम्पर्क समिति, अमेरिकाका समितिका प्रचार विभाग प्रमुख केन्द्रीय सदस्य गौतम दाहालको सहयोगमा)

WP2Social Auto Publish Powered By : XYZScripts.com