
अमेरिकामा पुराना घरको विक्री सुस्ताएको छ । जुलाईमा मानिसहरू बसिरहेका घरको विक्री ४८ लाख १० ओटा रहेको छ । यो अघिल्लो महीनाको तुलनामा ५ दशमलव ९ प्रतिशत कम भएको नेशनल एशोसियशन अफ रियल्टर्स (एनएआर)ले बताएको छ ।
समीक्षा अवधिको घर विक्री अर्थशास्त्रीहरूले गरेको अनुमानभन्दा कम भएको फ्याक्टसेटले बताएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने समीक्षा अवधिको विक्री २० दशमलव २ प्रतिशत कम हो । योसँगै अमेरिकामा घरको विक्री लगातार छैठौं महीना पनि घटेको छ ।
अहिले घरको विक्री घटेर कोरोना भाइरसको महामारी शुरु भएयताकै न्यून स्तरमा आएको छ । यसअघि अमेरिकाको घरजग्गा बजारमा सन् २०१३ को अगष्टदेखि सन् २०१४ को जनवरीको बीचमा लगातार ६ महीना घरको विक्री घटेको थियो । अमेरिकाको सबैभन्दा महँगो घर बजार रहेको पश्चिम भेगमा खासगरी विक्री धेरै घटेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यी क्षेत्रमा घरको विक्री ३० प्रतिशतले घटेको छ । घर जग्गा बजारले लय गुमाइरहेको भए पनि घरको मूल्य भने तीव्र दरले बढ्ने क्रम जारी छ । गत वर्षको सोही अवधिको तुलनामा जुलाईको घरको औसत मूल्य १० दशमलव ८ प्रतिशतले बढेर ४ लाख ३ हजार ८०० डलरमा आएको छ । यो वृद्धिदर वर्षको अघिल्ला महीनाको तुलनामा सुस्त हो ।
यस वर्षको उत्तरार्द्धमा अमेरिकामा घरको मूल्य गत वर्षको सोही अवधिको तुलनामा मासिक विक्री २० प्रतिशत आसपास बढेको थियो । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकले धमाधम ब्याजदर बढाउन थालेपछि धितो कर्जाको ब्याजदर बढेर यसको प्रभाव घरजग्गा बजारमा पोखिन थालेको छ । जुलाईको विक्रीसम्बन्धी तथ्यांकले ब्याजदर वृद्धिले घरजग्गा बजारमा पारेको नकारात्मक प्रभावको थप प्रमाण दिएको छ । एजेन्सी