एप्पलले कर्मचारीहरूलाई भन्यो- हप्तामा तीन पटक कार्यालयमै आएर काम गर

-


     नेपालय न्युज    
     श्रावण ३१ गते २०७९


सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी तथा आइफोन निर्माता एप्पल इंकले आफ्ना कर्मचारीहरूलाई हप्तामा तीन पटक कार्यालयमै आएर काम गर्न भनेको छ । कम्पनीले सेप्टेम्बरदेखि शुरू हुने गरी कर्मचारीहरूलाई कार्यालयमा बोलाएको हो ।

यो नीति कम्पनीको क्यालिफोनिर्यास्थित मुख्यालय नजिक रहेको सान्टा क्लारा काउन्टीमा काम गर्ने कर्मचारीहरूका लागि लागू हुने भन्दै ब्लुम्बर्ग र भर्जले समाचार छापेका छन् । कर्मचारीहरूलाई मंगलबार र बिहीबार कार्यालयमै आउन भनिएको छ । तेस्रो दिन भने हरेक टोलीले आ–आफ्नै आवश्यकता अनुसार चयन गर्नेछन् ।

कम्पनीको पछिल्लो कदमले एप्पल पनि कार्यालयमै आएर काम गर्ने कार्यशैलीप्रति प्रतिबद्ध छ भन्ने संकेत गरेको छ । एप्पलले प्रायः सधैं कर्मचारीहरूको प्रत्यक्ष सहभागितामा हुने बैठक र डेमोमा जोड दिने गरेको छ । कम्पनीले व्यापारिक हार्डवेयरहरू विकास गर्दै आएको छ ।

गर्मीयाममा कर्मचारीहरू हप्तामा २ पटक मात्रै कार्यालयमा आएर काम गरिरहेका थिए । यो वर्षको शुरूमै कम्पनीले हप्तामा तीन दिन कार्यालयमा प्रत्यक्ष आएर काम गर्नुपर्ने योजना ल्याएको थियो । कोभिडको संक्रमण बढ्न थालेपछि यस कार्यलाई मेतिर सारिएकाे थियो ।

सेप्टेम्बरदेखि एप्पलको हाइब्रिड कार्य परीक्षण वास्तविक रूपमा शुरू हुने एप्पललका सफ्टवेयर प्रमुख क्रेग फेडेरिघीले बताएका छन् । यसबारे एप्पलका प्रतिनिधिहरूले भने कुने प्रतिक्रिया नदिएको सीएनबीसीले एक समाचारमा भनेको छ ।

कोरोना भाइरसको महामारी उत्कर्षमा रहँदा अमेरिकी कम्पनीहरूले रिमोट वर्क वा घरबाटै काम गर्न दिने नीति ल्याएका थिए । पछिल्लो समय संक्रमण मत्थर हुन थालेसँगै एक पछि अर्को गर्दै कम्पनीहरूले कर्मचारीहरूलाई कार्यालयमै फर्काउनतिर लागेका छन् ।

विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्लाले कर्मचारीहरू जसरी पनि कम्पनीमै आएर काम गर्न होइन भने जागिर छाड्न चेतावनी दिएको छ । अन्य केहीले भने हाइब्रिड कार्यशैली अपनाएका छन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com