
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकामा घरको मूल्य कीर्तिमानी उच्च स्तरमा उक्लिएको छ । धितो कर्जाको दर बढेर विक्री प्रभावित भए पनि यस वर्षको दोस्रो त्रैमासमा घरको औसत मूल्य ४ लाख १३ हजार ५०० डलर पुगेको छ ।
त्रैमासिक अवधिमा घरको मूल्य ४ लाख डलर माथि उक्लिएको यो पहिलो पटक भएको नेशनल एशोसियशन अफ रियल्टर्स (एनएआरक) को प्रतिवेदनले देखाएको छ । वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमास कयौं शहरहरूमा घरको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा घरको मूल्य १४ दशमलव २ प्रतिशतले बढेको छ ।
यद्यपि, मूल्य वृद्धि वर्षको पहिलो त्रैमासको भन्दा थोरै सुस्त छ । जनवरी–मार्च त्रैमासमा घरको मूल्य १५ दशमलव ४ प्रतिशतले बढेको थियो । अमेरिकाका ८० प्रतिशत नगर क्षेत्रमा घरको मूल्य गएको त्रैमासमा दोहोरो अंकले बढेको छ अर्थात् १८५ नगर क्षेत्रमध्ये १४८ ओटामा घरको मूल्य वृद्धि १० प्रतिशत माथि छ ।
पहिलो त्रैमासमा यसको अनुपात ७० प्रतिशत थियो । घरको मूल्य विशेषगरी न्यून र मध्यम आय भएका कामदारहरूको तलब वृद्धिको गतिलाई उछिन्ने गरी बढेको एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युन बताउँछन् । धितो कर्जाको दर बढेसँगै घरको मूल्य पनि बढेको छ । गएको त्रैमासमा धितो कर्जाको दर ५ प्रतिशत माथि उक्लिएको थियो ।
२० प्रतिशत डाउन पेमेन्ट सहितको एकल परिवार बस्ने पुराना घरको मासिक धितो कर्जा अघिल्लो त्रैमासको भन्दा दोस्रो त्रैमासमा ३२ प्रतिशतले बढेको एनएआरको प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने वृद्धि करीब ५० प्रतिशत भएको बताइएको छ । एजेन्सी