एउटै चिह्नमा चुनाव लड्न लागेका चार दललाई समानुपातिक घाँडो

- आआफ्नै चिह्नमा लड्ने तयारी

-


     नेपालय न्युज    
     श्रावण २३ गते २०७९


सागर न्यौपाने,

मंसिर ४ गतेलाई तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै चिह्न लिएर चुनाव लड्न तयार सत्ता गठबन्धनका चार दललाई समानुपातिक निर्वाचन प्रणालीले समस्या पारेको छ।

कांग्रेसबाहेकका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एउटै चिह्नमा चुनाव लड्ने तयारीमा थिए।

माओवादी केन्द्रले प्रयोग गरिरहेको गोलाकारभित्रको हँसिया हथौडा चिह्न लिएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने चारै दलबीचमा समझदारी बनेको थियो।

निर्वाचन आयोगले गोलाकार भित्रको हँसिया हथौडालाई तेस्रो नम्बरमा राखेको छ।

मतदातामाझ जानकारीमा भइसकेकोले नयाँ चिह्न लिएर जानुभन्दा पुरानै लिएर जाँदा मत बढ्छ र मतदाता झुक्किँदैनन् भन्ने उनीहरुको विश्लेषण थियो।

२०७४ को चुनावमा उपेन्द्र यादवको तत्कालीन समाजवादी पार्टीको चुनाव चिह्न हातले समातेको मसाल थियो। राष्ट्रिय जनामोर्चाको गिलास चिह्न छ।

यसपटक एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन्। उनले स्थानीय तहमा कलम लिएर चुनाव लडिसकेका छन्।

उपेन्द्र यादवको पार्टी अहिले जसपा बनेको छ र चुनाव चिह्न–छाता छ। स्थानीय चुनावमा उनको पार्टीले त्यही चिह्नबाट लड्यो।

चारै दलबीचमा समाजवादी गठबन्धन बनाएर चुनावमा जाने समझदारी पनि बनेको छ। त्यसो गर्दा कांग्रेसको रुख र चार दलको एउटा चुनाव चिह्न हुँदा प्रचार गर्न सहज हुने विश्लेषण थियो।

तर, समानुपातिक निर्वाचन प्रणालीले गर्दा एउटै चिह्नबाट चुनाव लड्ने सम्भावना कम हुँदै गएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।

प्रत्यक्षतर्फका प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० क्षेत्रमा चुनाव लड्न एउटै चिह्न लिएपनि त्यसले समानुपातिक मतलाई असर गर्ने भएपछि चार दल आआफ्नै चुनाव चिह्नमा लड्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए।

तर, यसबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्केपछि निर्णायक छलफल हुनेछ।

‘चार दलबीच समानुपातिकले गर्दा एउटै चुनाव चिह्न लिन जटिल हुनेभयो,’ ज्वालाले नेपालखबरसँग भने, ‘कि समानुपातिकको १ सय १० सिटमै एउटै चुनाव चिह्न लिनुपर्यो।’

तर, १ सय १० सिटमै एउटै चुनाव चिह्न लिएर बन्द सूचीमा नाम बुझाउँदा पनि नाम विभाजन कसरी गर्ने भन्ने समस्या देखिएको जसपाका नेता रकम चेम्जोङले बताए।

‘समानुपातिक मतका कारण एउटै चुनाव चिह्न लिने सम्भावना अहिलेलाई छैन,’ चेम्जोङले भने, ‘प्रत्यक्षमा एउटा चिह्न र समानुपातिकमा अर्काे चिह्न गर्दा, जनता झुक्किने भए। समस्या पर्ने भयो।’

समानुपातिक प्रणालीकै कारण एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने सम्भावना कम भए पनि एउटै घोषणा पत्र बनाउन चारै दलमा सहमति जुटेको छ।

‘हामी एउटै घोषणा पत्र बनाएर चुनावमा जाने कुरामा चार दलमा सहमति जुटेको छ,’ ज्वालाले थपे।

‘हामीले अन्य उपायबारे पनि छलफल गरेका छौँ,’ जसपाका अर्का नेताले नेपालखबरसँग भने, ‘जे गर्दा चार दलबीच विश्वासको वातावरण बन्छ, त्यही गर्छौँ।’

चार दलबीच एक गठ भएर चुनावमा जाने विषयमा पटकपटक छलफल भएका थिए।

‘चार दलबीचमा तीनचार चरण छलफल भएका छन्, फेरि पनि छलफल गर्छौं,’ एक नेताले भने, ‘कांग्रेससँग सिट बाँडफाँटका विषयमा छलफल गर्नुअघि पनि हामीबीच संवाद हुन्छ।’

अहिले कांग्रेसले एक्लै बहुमत पुग्नेगरी सिट लिन खोजिरहेको छ। एमालेले बाम गठबन्धन नहुने बताएपछि चार दल मिलेर जान लागेका हुन्।

१० र ११ साउनमा माओवादी केन्द्रको मुख्य कार्यालय पेरिसडाँडामा तीन दलका नेताहरुबीच छलफल भएको थियो।

स्रोतका अनुसार माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन र हितमान शाक्य, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला, जसपाबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादवबीच नियमित छलफल भइरहेको छ।

एमालेसँग गठबन्धन नहुने
एमालेले वाम गठबन्धनको ढोका बन्द गरेको ती दलका नेताहरुले बताएका छन्। तर, एमालेले कुनै दलसँग चुनावी मोर्चा बनाउने सक्ने सम्भावना रहेको नेताहरु बताउँछन्।

‘अब एमालेसहितको वाम गठबन्धनको सम्भावना सकियो, एमाले अध्यक्ष ओली तयार भएनन्, उनीसँग दुईतीन चरणमा भएका छलफलमा सकारात्मक कुरा भएन,’ माओवादी निकट एक नेताले नेपालखबरसँग भने, ‘ओली प्रतिनिधि सभा विघटन गरेको गल्ती स्वीकार्न तयार भएनन्। त्यो कुरामा आत्मालोचना गरेको भए वाम गठबन्धनको कुरा सकारात्मक हुन्थ्यो, तर भएन।’

ओलीकै घमण्ड र दम्भका कारण प्रचण्ड–माधव नेपाल बिच्किएपछि उनीहरु कांग्रेससहितको गठबन्धन बलियो बनाउन लागेको स्रोतको भनाइ छ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com