
अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसी आफ्नो अप्रत्याशित ताइवान भ्रमण सम्पन्न गरेर स्वदेश फर्किसकेकी छन् । तर उनको भ्रमणको असरले ताइवानमा ठूलो तरंग निम्तिने क्रममा छ ।
पेलोसीको विवादास्पद भ्रमणका कारण चीन अमेरिकासँग झनै चिढिएको छ । विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)को अध्यक्ष मार्क लिउसँग पेलोसीको भेटपछि दुई देशीय दुश्मनीको निशानामा टीएसएमसी पर्ने देखिएको छ ।
सो भेटले अमेरिकाको राष्ट्रिय सुरक्षामा चीपको महत्त्व र उन्नत खालको चिप निर्माणमा कम्पनीको महत्त्वपूर्ण भूमिका उजागर गरेको छ । अहिले स्मार्टफोनदेखि कार अनि फ्रिजसम्म हरेक सामानमा चिपको प्रयोग हुन्छ । यो अहिले प्रविधिका विषयमा अमेरिका–चीनबीच केही वर्षयता चलिरहेको लडाइंको तारो बनेको छ । कोरोना भाइरसको महामारी शुरू भएयता विश्वभर उत्पन्न चरम चिप अभावबीच अमेरिका चिप उद्योगको क्षेत्रमा चीनलाई उछिन्ने दाउमा छ ।
ताइवान चिप निर्माता भएको अनि विश्वको चिप आपूर्ति शृंखलामा यसको रणनीतिक महत्त्वका कारण पनि पेलोसीको ताइवान भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको विश्लेषकहरू बताउँछन् । उन्नत खालको चिप निर्माणमा उद्योगमा एशियाली कम्पनीहरूको वर्चस्व । चिपको आपूर्तिको मामिलामा अमेरिकालाई एशियाली कम्पनीहरूको भर नगरी सुखै छैन । आईफोन निर्माता एप्पल इंकदेखि कम्प्युटर हार्डवेयर तथा कृत्रिम बौद्धिकता निर्माता कम्पनी इनभिडियासम्म विश्वका ठूला प्रविधि कम्पनीहरूसम्म कयौं अमेरिकी कम्पनीहरू टीएसएमसीका ग्राहक हुन् ।
गएको १५ वर्षयता चिप उत्पादनमा अमेरिका पछाडि पर्दा टीएसएमसी र सामसङ इलेक्ट्रोनिक्स निकै अगाडि पुगिसकेका छन् । चिप निर्माणमा यी कम्पनीहरू अमेरिका, यूरोप र अन्यत्रबाट आउने सामानमा निर्भर भए पनि विशेषगरी टीएसएमसी फाउन्ड्री कम्पनी हो । यसले अन्य कम्पनीहरूले डिजाइन गर्ने चिप बनाउँछ । विश्वको शीर्ष चिप निर्माताको रूपमा आफ्नै हैसियत कायम गर्न सफलता हासिल गरिरहेको छ । विश्वको फाउन्ड्री बजारको ५४ प्रतिशत हिस्सा टीएसएमसीको पोल्टामा छ । देशको आधारमा विश्वव्यापी फाउन्ड्री बजारमा ताइवानको हिस्सा दुई तिहाइ छ ।
यसले पनि विश्वको चिप बजारमा ताइवानको महत्त्व छर्लङ्ग पार्छ । फाउन्ड्री बजारमा सामसङको १५ प्रतिशत हिस्सासमेत जोड्दा चिप निर्माण क्षेत्रमा एशियाको प्रभुत्व झनै उच्च हुन्छ । त्यसैले पनि टीएसएमसीका अध्यक्षसँग पेलोसीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पेलोसीको भ्रमणपछि चीनले ताइवानमाथि व्यापार प्रतिबन्ध लगाएको छ । फलफूल र माछा आयात रोकिएको छ । त्यसतर्फ प्राकृतिक बालुवाको निर्यात रोक्का गरिएको छ । चीन ताइवानको सबैभन्दा ठूलो व्यापार साझेदार हो ।
गत वर्ष बाँकी विश्वसँगको कूल व्यापारमा ताइवानको चीनसँगको व्यापारले ३३ प्रतिशत हिस्सा ओगटेको थियो । चीनले बारम्बार चेतावनी दिइरहँदा पनि पेलोसीले ताइवान भ्रमण गरेपछि उनको भ्रमण चलिरहँदा चीनले ताइवान वरपरको जल क्षेत्रमा सैन्य अभ्यास तीव्र पारेको थियो । पेलोसीको भ्रमणपछि चीनले ताइवानमाथि आक्रमण गर्ने टीएसएमसीको राष्ट्रियकरण गर्ने र आफ्नो चिप उद्योग र प्रविधिलाई समायोजन गर्ने थाल्ने हो कि भन्ने चिन्ता बढेको विश्लेषकहरूले बताइरहेका छन् । तर, चीनले टीएसएमसीलाई आफ्नो कब्जामा लियो भने यो सञ्चालन योग्य नहुने अनि कसैले पनि यसलाई जर्बजस्ती नियन्त्रण गर्न नसक्ने टीएमएससीका अध्यक्ष लिउले सीएनबीसीसँगको कुराकानीमा भनेका थिए । एजेन्सी