
डेभिड जोलीसर्भ, क्रिस्टिन टोड ह्विटम्यान र एन्ड्रयू याङ,
एजेन्सी । राजनीतिक अतिवादले अमेरिकामा चिरा पार्दैछ र देशका दुई प्रमुख दल यस सङ्कटको समाधान गर्न असफल भएका छन् ।
राजनीतिक ध्रुवीकरणका कारण राजनीतिक हिंसाको धम्की बढिरहेको छ । विगत दुई वर्षमा, हामीले कांग्रेस–सदस्य, गभर्नर, सर्वोच्च अदालतका न्यायाधीश, यहाँसम्मकी संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपतिविरुद्ध समेत ज्यान मार्ने धम्की र हत्याका षड्यन्त्र भएको देख्यौं ।
यदि अहिले नै केहि गरिएन भने, संयुक्त राज्य अमेरिका ३०० औँ वर्षगाँठमा परिचित स्वरूपमा पुग्ने छैन ।
त्यसैले हामीहरू डेमोक्रयाट, रिपब्लिकन र स्वतन्त्र राजनीतिज्ञ एक ठाउँमा आएर नयाँ र एकता पार्टी निर्माण गर्न लागेका छौँ, जुन पार्टी विभाजनलाई मन नपराउने र अतिवादलाई अस्वीकार गर्न चाहने बहुसङ्ख्यक अमेरिकीहरूको पार्टी हुनेछ ।
पछिल्लो समय अमेरिकीहरूमा सरकारप्रतिको विश्वास गुम्दै गएको छ । भर्खरै सार्वजनिक एक सर्वेक्षणमा १० मध्ये झण्डै ८ अमेरिकीले देश गलत दिशामा अघि बढेको बताए । त्यसैमा दुई तिहाइ मतदाताले डेमोक्र्याट र रिपब्लिकन दुवैप्रति सन्तुष्ट नभएको बताए ।
तर रोचक कुरा के भने लगभग तीन करोड अमेरिकीहरू वर्तमान सरकारविरुद्धको हिंसालाई जायज मान्छन् । त्यति नै सङ्ख्याका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बलजफ्ती भए पनि ह्वाइट हाउस फर्काउन चाहन्छन् ।
लोकतन्त्र असफल हुँदा यस्तै हुन्छ । धेरैमा आफ्नो कुरा सुनिदिने कोही नभएको विश्वास बढ्दै गएर हतियार उठाउन तयार हुने स्थितिमा पुग्छन् । यही कारण अहिले अमेरिकामा ‘गृहयुद्ध’को सम्भावनाबारे चर्चा सुरु हुन थालेको छ ।
यस्तो सङ्कटको समाधान कसरी गर्ने ? पहिलो त दुई अतिवादी दलद्वारा विभाजित प्रणालीमा, छनोट र प्रतिस्पर्धाका विकल्प बढाउनु पर्छ । अमेरिकालाई अहिले नयाँ राजनीतिक पार्टीको अत्यन्त जरुरी भइसकेको छ । यस्तो पार्टी जसले मझधार र सामान्यजनको भावना प्रतिनिधित्व गरोस् ।
आजका मिती गुज्रेका दलहरू सानो समुदायललाई खुसी बनाउन लागेकाले असफल भएका छन् । परिणामस्वरूप अधिकांश अमेरिकीहरू आफूलाई प्रतिनिधित्व गर्ने दलको अभाव महसुस गरिरहेका छन् ।
अमेरिकी इतिहासमा अधिकांश तेस्रो दल असफल बनेका छन् । त्यसको कारण के भने ती या त वैचारिक रूपमा धेरै साँघुरो थिए या आम मतदातामा तिनप्रति आकर्षण उत्पन्न भएन । तर मतदाताहरूले अहिले इतिहासमै सबैभन्दा धेरै नयाँ पार्टीको चाहिरहेका छन् ।
आधुनिक इतिहासमा पहिलो पटक, झन्डै आधा अमेरिकीहरूले आफूलाई ‘स्वतन्त्र’ ठान्छन् र दुई तिहाइले नयाँ पार्टी आवश्यक रहेको (र त्यसलाई भोट दिने) बताइरहेका छन् । डेमोक्र्याट र रिपब्लिकनलाई मत दिनेहरू नै विकल्प खोजिरहेका छन् ।
राजनीतिज्ञ र पूर्व निर्वाचित अधिकारीहरूको रूपमा हामीहरू तेस्रो मार्गको बारेमा कुरा गर्दा गर्दा थाकिसकेका थियौँ । त्यसैले यो महिना हामीले अमेरिकी राजनीतिमा वामपन्थी, मध्यमार्गी र दक्षिणपन्थी विचार प्रतिनिधित्व गर्ने तीन राष्ट्रिय सङ्गठनहरू एकीकरण गरेर ‘फरवार्ड’ नामको नयाँ राजनीतिक पार्टी सार्वजनिक गरेका छौँ ।
अमेरिकाका दुई ठुला दलहरू विषम धारतर्फ लाग्दा देशको राजनीतिक प्रणालीको बीचमा ठुलो रिक्तता निर्माण भएको छ । नयाँ पार्टीले यही रिक्त बनेको बीचको ठाउँ लिनुपर्छ ।
यही स्थानबाट नयाँ दलले अमेरिकाले सामना गर्ने विवादास्पददेखि सामान्य हरेक मुद्दामा हामीले एक व्यावहारिक दृष्टिकोण भेट्न सक्छौं, जसमा अधिकांश अमेरिकीहरू सहमत हुन सक्छन् ।
अमेरिकाका प्रमुख विवादास्पद मुद्दाको रूपमा रहेका बन्दुक स्वामित्वको विषयमा सबै बन्दुकहरू जफत गरेर संविधानको दोस्रो संशोधनसमेत खारेज गर्नुपर्ने उग्र वामपन्थी मागसँग बहुसङ्ख्यक अमेरिकीहरू सहमत छैनन् । तर सबै बन्दुकसम्बन्धी कानुन खारेज गर्नुपर्ने उग्र दक्षिणपन्थी अडानलाई लिएर पनि उनीहरू चिन्तित छन् ।
जलवायु परिवर्तनका सवालमा अधिकांश अमेरिकीहरू अर्थतन्त्र र जीवनशैलीलाई पूर्ण रूपमा उलटपुलट बनाउनुपर्ने उग्र वामपन्थी मागसँग सहमत छैनन् । तर उनीहरू जलवायु सङ्कट हल्लाभन्दा बढी केही होइन भन्ने उग्र दक्षिणपन्थी धारणालाई पनि अस्वीकार गर्छन् ।
गर्भपतनमाको मुद्दामा अधिकांश अमेरिकीहरू गर्भ रहेको धेरैपछि समेत गर्भपतन गराउन पाउनुपर्ने उग्रवामपन्थीको उग्र विचारहरूसँग सहमत छैनन्, तर तिनीहरू महिलाको छनौटलाई गम्भिर अपराधिकरण गर्न खोज्ने उग्र दक्षिणपन्थीको प्रयासबाट चिन्तित छन् ।
नयाँ पार्टी सफल हुने हो भने यसले मतदातालाई थप राजनीतिक विकल्प दिनबाट रोक्ने बाधाहरूलाई तोड्नै पर्छ । हामीहरू श्रेणी–छनोट मतदान र खुला प्राइमरीमा बदलावको पक्षमा छौँ । गेरीम्यान्डरिङको अन्त्यको अन्त्य गर्नुपर्ने माग राख्छौँ । हामी राष्ट्रव्यापी रूपमा मतदान अधिकारको संरक्षण गर्नुपर्ने र मतदान प्रक्रिया सबैलाई एकदम सजिलो तथा एकदम सुरक्षित बनाउनुपर्ने पक्षमा आवाज उठाउनेछौँ ।
उल्लेखित प्रणालीगत परिवर्तनहरू बिना अमेरिकीहरूले बन्द राजनीतिक प्रणाली र न्यून विकल्प भोग्न अभिसप्त हुनेछन् । यी सुधारहरू नयाँ पार्टीसँगसँगै अघि बढाउनुपर्छ । अमेरिकामा कसै–कसैले तेस्रो पार्टीलाई ‘भडुवा’ भन्ने गर्छन् तर यसो भन्दा भन्दै प्रणाली बिग्रेर जान लागिसक्यो ।
संयुक्त राज्यमा पाँच लाखभन्दा पदका लागि निर्वाचन गरिन्छ । तर हालैको एक अध्ययनले सन् २०२० को चुनावमा ७० प्रतिशत भन्दा बढी स्थानमा उम्मेदवार निर्विरोध भएको पायो । यो विकल्प नहुँदाको परिणाम हो ।
आउने नोभेम्बरमा अमेरिकी कंग्रेसका लागि हुने चुनावमा सीमित क्षेत्रमा मात्र प्रतिस्पर्धा हुनेछ । अधिकांश पदमा कसले जित्ने भन्ने पहिले नै पक्का जस्तै हुन्छ । अमेरिकाका दुई ठुला दलहरूले प्रतिस्पर्धालाई सङ्कुचित गरिदिएका छन् र यसको दुष्परिणाम अमेरिकाले भोगिरहेको छ ।
त्यसैले हामीले देशको पहिलो ‘खुला’ पार्टी प्रस्ताव गरेका छौँ । यसमा सबै राजनीतिक रङ्गका अमेरिकीहरू ( डेमोक्र्याट, रिपब्लिकन वा स्वतन्त्र)ले तिनको राजनीतिक आबद्धता नत्यागी हामीसँग आएर घरबारविहीन बनेका बहुसङ्ख्यकहरूका लागि आशावादी र समावेशी घर कसरी बनाउने भन्ने बहसमा भाग लिइदिनुस् ।
नयाँ दल गठन गर्न एक भएका हाम्रा संस्थाहरू यस आन्दोलनको प्रस्थानविन्दू मात्र हुन् । हामी अर्को वर्षको गर्मीमा राष्ट्रिय सम्मेलनबाट ठोस रूपमा अगाडि आउने योजना बनाइरहेका छौँ । त्यसपछि हामी सन् २०२४ र पछिपछिका चुनावमा हाम्रा उम्मेदवारहरूलाई उतार्न सक्ने गरी हरेक राज्यका मतपत्र पहुँच खोज्नेछौँ ।
हामी पूर्व अमेरिकी विधायक, गभर्नर, उद्यमी, शीर्ष राजनीतिक व्यवस्थापक र सामुदायिक नेताहरूलाई सक्रिय रूपमा हाम्रोमा दलमा जोड्दैछौँ ।
अमेरिकाका संस्थापकहरूले पहिले दुई–दलीय प्रणालीको खतराबारे चेतावनी दिएका थिए । आज हामी यसको गम्भीर परिणामसँग जुधिरहेका छौँ । अमेरिकीलाई थप विकल्प दिनु राजनीतिमा शिष्टता फर्काउने विषयसँग मात्र जोडिएको छैन । यसमा हाम्रो जीवन, हाम्रो जीविकोपार्जन र हाम्रो जीवनशैली निर्भर रहेको छ ।
फ्लोरिडाका पूर्व रिपब्लिकन कांग्रेससदस्य डेभिड जोलीसर्भ ‘सर्भ अमेरिका मुभमेन्ट’का कार्यकारी अध्यक्ष हुन् । न्युजर्सी राज्यका पूर्व रिपब्लिकन गभर्नर क्रिस्टिन टोड ह्विटम्यान ‘रिन्यु अमेरिका मुभमेन्ट’की सह–संस्थापक हुन् । पूर्व डेमोक्रेटिक राष्ट्रपति उमेद्वार एन्ड्रयू याङ ‘फरवार्ड पार्टी’का सह–अध्यक्ष हुन् ।
द वाशिन्टन पोष्टबाट