
सन्तोष घिमिरे,
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका लागि गृहकार्य जारी रहेको बताएका छन्।
प्रधानमन्त्री देउवासँग शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले देउवाको अमेरिका भ्रमणका लागि तयारी भइरहेको बताएका हुन्।
भेटमा सहभागी देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकी पक्षले भ्रमणका लागि कोसिस जारी रहेको बताएका थिए। देउवाले पनि अनुकुल समयमा आफू अमेरिका आउने बताएका थिए।
‘उहाँले वीआर स्टिल वर्किङ अन दि प्राइमिनिस्टर्स भिजिट भन्नुभयो। तर, भ्रमणको एकिन मितिबारे कुरा भएन,’ परियारले भने। यसअघि प्रधानमन्त्री देउवा जुलाईभित्र अमेरिका भ्रमणमा जानेगरी तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो।
भ्रमणबारे नेपाल र अमेरिकाले गृहकार्य गरेपनि नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेसँगै भ्रमण तत्कालका लागि स्थगित भएको थियो। सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने नेपालको निर्णयप्रति अमेरिका असन्तुष्ट बनेको बताइएको छ।
प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको बताएका छन्।
‘अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझ उच्चस्तरको आर्थिक सहकार्यको अपेक्षा गरेको छु’ प्रधानमन्त्रीले ट्विटमा भनेका छन्।
सहायक विदेशमन्त्री लुले नेपालमा निजी क्षेत्रसँगको सहकार्यमा ठूलो लगानी भित्र्याएर हजारौँ रोजगारी सिर्जना गर्न अमेरिका इच्छुक रहेको बताएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ७५ वर्षे नेपाल—अमेरिका साझेदारी र जनताका तहमा रहेको मजबुत सम्बन्ध लगायत विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
सहायक विदेशमन्त्री लु ले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि आजै भेटवार्ता गरेका थिए। भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धका विविध आयामबारे कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘दुई पक्षबीच हाम्रो सम्बन्धका विविध पक्षबारे कुरा भएको छ। भेटमा विकास सहकार्य, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ खोपबारे पनि चर्चा भयो’, मन्त्रालयले ट्विटमा भनेको छ।
अमेरिकी सेनाको सैन्य कार्यक्रम एसपीपीमा अघि नबढ्ने पाँच साताअघिको सरकारको निर्णयपछि नेपाल आउने लु पहिलो अमेरिकी अधिकारी हुन्।
गतसाता परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमणका लागि एउटा प्रस्तावित मितिमा गृहकार्य भएपनि त्यसबारेमा औपचारिक निर्णय नभएको बताएकी थिइन्। तर उनले प्रस्तावित मिति खुलाएकी थिइनन्।
अधिकारीहरुका अनुसार जुलाई दोस्रो र तेस्रो साताका लागि देउवाले अमेरिका भ्रमण गर्नेगरी वासिङ्टनसँग छलफल भएपनि मितिको टुंगो लागेको थिएन।
जुलाईको लागि स्थगित भएको भ्रमणको नयाँ मितिबारे अहिले पनि टुंगो लागेको छैन। राष्ट्रसंघीय महासभाको समयमा सेप्टेम्बर तेस्रो साता प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुनसक्ने अधिकारीहरुको आकलन छ।
‘प्रधानमन्त्रीको भ्रमण तत्कालका लागि रोकिएको हो। अमेरिकासँग भ्रमणको नयाँ मितिबारे छलफल चलिरहेकै छ। लुको भ्रमणमा पनि यसबारे छलफल हुने सम्भावना छ’, मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने।
सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने नेपालको पाँच साता अघिको निर्णयपछि अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लु बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।
नेपाली सेनाको प्रत्यक्ष संलग्नता रहने अमेरिकी सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने निर्णय गरेपनि सरकारले अमेरिकासँगको सैन्य साझेदारीलाई कायमै राख्ने सरकारी अधिकारीहरुको भनाई छ।
लु तिनै अमेरिकी अधिकारी हुन् जसले गत फेब्रुअरी दोस्रो साता नेपालका शीर्ष नेतालाई फोन गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन नभए नेपालसँग अमेरिकाको सम्बन्ध पुर्नविचार गर्ने चेतावनी दिएका थिए।
त्यसअघि नोभेम्बर महिनामा नेपाल आएर उनले सम्झौता अनुमोदनका लागि फेब्रुअरी २८ को ‘डेडलाइन’ तोकेका थिए। उनको जिम्मेवारी अमेरिकी विदेश मन्त्रालयमा मध्य तथा दक्षिण एसिया मामिला छ।
नेपालखबर