अमेरिकी घरजग्गा बजारमा फर्किन थाले विदेशी क्रेता

-


     नेपालय न्युज    
     श्रावण ४ गते २०७९


केही वर्षयता अमेरिकाको घरजग्गा बजार निकै प्रतिस्पर्धी बनेको छ । क्रेताहरूले भनेको भन्दा धेरै रकम दिँदा र सबै कारोबार नगदमै गर्दा समेत घर पाउन सकेनन् । कोरोना भाइरसको महामारीको बेलामा विदेशी क्रेताहरूको ओइरो लागेको भए स्थिति यो भन्दा पनि खराब हुन सक्थ्यो ।

तर, महामारीका कारण विश्वभर यात्रा प्रतिबन्ध र सीमा बन्द रहँदा यो अवस्था आएन । अब भने विस्तारै अमेरिकाको रियल इस्टेट बजारमा विदेशी लगानी फर्किन थालेको नेशनल एशोसियशन अफ रियल्टर्स (एनएआर) को एउटा सर्वेक्षणले देखाएको छ ।

महामारीबीच लागू गरिएको यात्रा प्रतिबन्धका कारण विदेशबाट अमेरिका घरै किन्न भनेर आउनेहरू आउन पाएनन् । विस्तारै प्रतिबन्ध हट्दै गइरहेको अनि कोभिड परीक्षणसम्बन्धी प्रावधानले यात्रा सहज भएपछि विदेशी क्रेताहरू पुनः फर्किएका छन् । सन् २०२१ को अप्रिलदेखि यो वर्षको मार्चको बीचमा अन्तरराष्ट्रिय क्रेताहरूले अमेरिकामा ५९ अर्ब डलर बराबरको आवासीय सम्पत्ति किनेका छन् ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा साढे ८ प्रतिशत धेरै हो । योसँगै विगत तीन वर्षयताको अमेरिकाको घरजग्गा बजारमा विदेशी लगानी घट्ने क्रम तोडिएको छ । घरको मूल्य बढ्दा पनि विक्रीको रकम बढेको छ । सन् २०२१ को अप्रिलदेखि यो वर्षको मार्चको बीचमा विदेशी क्रेताहरूले किनेको घरको औसत मूल्य ३ लाख ६६ हजार सय डलर रहेको छ ।

यो अमेरिकाको औसत घरको मूल्यभन्दा धेरै हो । सो अवधिमा अमेरिकामा औसत घर मूल्य ३ लाख ५५ हजार ७०० डलर थियो । तर, सो अवधिमा उनीहरूले किनेको घरको संख्या एक वर्षअघिको तुलनामा ७ दशमलव ९ प्रतिशतले घटेर ९८ हजार ६०० मा आएको छ । विक्री भएको घरको संख्या सन् २००९ थालेयताकै न्यून हो । एनएआरले सन् २००९ मा यस्तो डेटा राख्न थालेकाे हाे ।

मानिसहरू आफूले किन्न लागेको सम्पत्ति हेरेर चित्त बुझेपछि मात्रै किन्न खोज्छन् । गर्मीयाममा कोभिडका कारण यात्रामा लगाइएको प्रतिबन्ध र परीक्षणसम्बन्धी प्रावधानहरूले गर्दा असहजता भएको र यसकै कारण क्रेताहरू टाढिएको एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युन बताउँछन् । संक्रमण नसरोस् भनेर मानिसहरू भीडभाडमा जानबाट बच्न वा टाढै वा सकेसम्म नदेखिने ठाउँमा सम्पत्ति किन्न प्रेरित भए पनि अधिकांश क्रेताले सम्पत्ति नहेरीकन किन्न खोज्दैनन् ।

विदेशमा घुमफिर गर्न गएको बेलामा बस्नका लागि भनेर घर किन्ने प्रवृत्ति छ । यात्रा प्रतिबन्धका कारण विदेशै जान नपाउने भएपछि पनि अमेरिकामा विदेशीहरूको घर खरिद प्रभावित भयो । एनएआरले विदेशमा स्थायी ठेगाना भएको विदेशी नागरिकका साथै गैरआप्रवासी भिसामा आएका गैरअमेरिकी वा पेशागत, शैक्षिक वा अन्य कारणले गर्दा अमेरिकामा ६ महीनाभन्दा कम समय बस्न आएका व्यक्तिलाई विदेशी क्रेताको रूपमा हेरेको छ ।

विदेशी क्रेताका लागि फ्लोरिडा सर्वाधिक लोकप्रिय स्थानका रूपमा रहेको छ । कूलमध्ये एक चौथाई विदेशी क्रेताको रोजाई फ्लोरिडा परेको छ । यसलाई पछ्याउने क्रममा क्यालिफोर्निया, टेक्सास, अरिजोना, न्यूयोर्क र उत्तर क्यारोलिना छन् । विदेशीहरूमाझ लोकप्रिय घरजग्गा बजारमा कूलमध्ये ३ प्रतिशत खरिदारी मात्रै विदेशी क्रेताले गरेका छन् । समग्रमा भने यो दर १ दशमलव ६ प्रतिशत मात्रै छ ।

क्रेता जो भए पनि आफ्नो घरको लागि जसले धेरै पैसा तिर्छ, विक्रेताले उसैसँग कारोबार गर्छ । तर, यसाे गर्दा स्थानीय बजारमा प्रतिस्पर्धा चर्किने गरेको छ । अधिकांश विदेशी क्रेताहरूले नगदमै कारोबार गर्छन् । अमेरिकाभर गएको एक वर्षमा कूल घर किनेबेचमा २४ प्रतिशतले मात्रै नगद प्रयाेग गरेका छन् । तर, विदेशी क्रेतामा यो अनुपात ४४ प्रतिशत छ ।

अमेरिकामा विदेशी घर क्रेताहरूमध्ये अधिकांश क्यानडा र मेक्सिकोका छन् । कूलमध्ये ११ प्रतिशत क्यानडेली छन् भने ८ प्रतिशत मेक्सिकोका छन् । त्यसपछि क्रमशः चीन, भारत, ब्राजिल, कोलम्बिया, जर्मनी, बेलायत, फ्रान्स र जापानका क्रेताहरू छन् । आपूर्ति अभावका कारण घरको मूल्य चर्किरहेको र ब्याजदर वृद्धिसँगै धितो कर्जाको दर बढिरहेको भए पनि अमेरिकाको घरजग्गा बजारमा अन्तरराष्ट्रिय क्रेताको अनुपात बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय अन्य मुद्राका तुलनामा अमेरिकी डलरको भाउ बढिरहेको छ । यसका कारण डलरबाहेक अन्य मुद्रा बाहकका लागि अमेरिकामा घर किन्ने सपना पूरा गर्न निकै सकस छ । यसका कारण केही क्रेताहरू निरुत्साहित भए पनि धेरैले पूरै नगद तिरेर खरिदारी गरिरहेको र डलरको भाउमा भएको वृद्धिले यो प्रवृत्ति नतोडिने युन बताउँछन् । पछिल्लो समय अमेरिकामा घरजग्गाको भाउ बढिरहेको भए पनि कयौं अन्तरराष्ट्रिय क्रेताको लागि आफ्नो देशमा घरजग्गा किन्नुभन्दा अमेरिकामा किन्न सस्तो छ ।

हङकङमा घर किन्न एक वर्ग मिटरकै २८ हजार ५७० डलर तिर्नुपर्छ । लन्डन र टोरन्टोमा सोही क्षेत्रफलको मूल्य क्रमश: २६ हजार २६२ डलर र १० हजार ९४७ डलर छ । तर, सन फ्रान्सिस्को र मियामीमा यसको लागत क्रमश: ८ हजार २५० डलर र ३ हजार १७० डलर मात्रै पर्छ । अमेरिकाको घरजग्गा बजारमा मूल्य वृद्धि चर्किएको समयमा विदेशी क्रेताहरू आउन नपाएको र यो उनीहरूको लागि सुखद नै भएको पनि युनले बताएका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com