नेपालका लागि नयाँ अमेरिकाकी राजदूतमा डिन थोम्पसनको नाम प्रस्ताव

- ‘तिब्बती शरणार्थीलगायतका सीमान्तकृत समुदाय’को अधिकारमा जोड दिने अभिव्यक्ति

-


     नेपालय न्युज    
     असार ३० गते २०७९


अमेरिकाको विदेश सेवामा २६ वर्ष बिताइसकेका कुटनीतिज्ञ डिनथोम्पसनलाई राष्ट्रपति जो बाइडेन प्रशासनले नेपालको लागि राजदूतको लागि प्रस्ताव गरेको छ । विगतमा दक्षिण एशिया र मध्य एशिया मामिला ब्युरोमा प्रमुख सहायक सचिवको रुपमा बंगलादेश, श्रीलंका र भारतमा काम गरिसकेका थम्पसनले जुलाई १३ मा मनोनयनप्रति आफ्नो धारणा राखेका छन् ।

अमेरिकाको माथिल्लो सदन सिनेटको विदेश सम्बन्ध समितिमा आफ्नो मनोनयनको विषयमा प्रारम्भिक मन्तव्य राख्ने क्रममा थम्पसनले उनको योग्यता, नेपालको अवस्थिति, अमेरिका–नेपाल सम्बन्धका पछिल्ला विकासक्रम र आफूले पद सम्हालेमा गर्ने कामबारे स्पष्ट पार्ने कोसिस गरेका थिए ।

थम्पसनले मन्तव्य राख्ने क्रममा एमसीसी अनुमोदनका बेला जनगणतन्त्र चीनबाट निरन्तरको गलत सूचना सामना गर्नुपरेको तर त्यसका बावजुद एमसीसी अनुमोदन भएको बताए ।
प्रस्तावित राजदूत थम्पसनले एमसीसी परियोजना अन्र्तगत हुने कामबारे पनि थोरै टिप्पणी गरे । उनले एमसीसी अन्तरगत विद्युत प्रशारण लाइन र उच्च गुणस्तरको सडक निर्माण हुने बताए । यस्तै एमसीसी अन्तरगत बन्ने विद्युत प्रसारणलाइनले नेपालको स्वच्छ उर्जा दक्षिण एसियाको उर्जा सञ्जालमा जोड्ने बताए ।

प्रस्तावित राजदूत थम्पसनले अमेरिकाको नेपालसँगको सम्बन्ध अहिले महत्वपूर्ण मोडमा रहेको बताए । नेपालको अवस्थितिबारे बोल्ने क्रममा उनले पृथ्वीनारायण शाहको दिव्योपदेशको एक अंशसमेत उल्लेख गर्दै भने ,‘नेपाल दुई ढुङ्गा बिचको तरुलका रुपमा लिने गरिन्छ, ती ढुङ्गा भनेका चीन र भारत हुन् । ती दुवै देशको नेपालसँग महत्वपूर्ण सम्बन्ध छ तर साथमा नेपालको सार्बभौमसत्ता बलियो बनाउने र अमेरिकासँगको साझेदारी सबल बनाउने चाहनामा अमेरिकाको साथ छ ।’
उनले यदि आफू राजदूत नियुक्त भए नेपालको आर्थिक विकास र दुई देशबीचको ब्यापारिक सम्बन्ध सुदृढ गर्ने आफ्नो प्राथमिकता रहने बताए ।

त्यसबाहेक नेपालको राजदूत नियुक्त भएमा थम्पसनले नेपाली जनता र नेपालभित्र बस्ने सबैको अधिकारलाई जोड दिने बताउँदै भने ,‘ त्यसमा दलित, सीमान्तीकृत समुदाय र तिब्बती शरणार्थीसमेत पर्छन् । मैले ती समुदायका लागि सार्थक समावेशीकरण र आर्थिक अवसर दिन मद्दत मिल्ने खालका नीति ल्याउन नेपाल सरकारलाई प्रोत्साहित गर्नेछु ।’

चीनले तिब्बत मुद्दालाई अत्यन्त संवेदनशिल मान्ने गरेको छ । उसले नेपालमा बसोबास गर्ने तिब्बती समुदायमा विदेशीहरुको चासोलाई रुचाउँदैन । गत महिना अमेरिकाको तिब्बत हेर्ने बिशेष संयोजक उज्रा जिया नेपालको भ्रमणमा आउँदा तिब्बती शरणार्थीलाई भेटेपछि चीनले असन्तुष्टि जनाएको थियो ।

सिनेटको विदेश सम्बन्ध समितिअघि थम्पसनले गत डिसेम्बरमा जो बाइडेनको अग्रसरतामा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा नेपालको सहभागिताबारे बोल्दै ‘नेपालले अमेरिकासँग ब्यक्त गरेको प्रतिबद्धताअनुसारको प्रगति हासिल भएको’ बताए । रातोपाटी

WP2Social Auto Publish Powered By : XYZScripts.com