
वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा ४० वर्षभन्दा बढी समययता महँगी तीव्र स्तरमा बढिरहेको छ ।
पेट्रोल र खाद्यान्नको भाउमा भएको वृद्धिका कारण महँगी निरन्तर अकासिरहेको छ । त्यहाँको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुनसम्मको १२ महीनामा मुद्रास्फीति ९ दशमलव १ प्रतिशतले बढेको छ । मेको तुलनामा भने वृद्धि १ दशमलव ४ प्रतिशत धेरै भएको बताइएको छ ।
गएको महीना अमेरिकमा पेट्रोलको भाउ प्रतिग्यालन ५ डलरको कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो । केन्द्रीय बैंकले महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाइरहेको भए पनि महँगी नियन्त्रणमा आउने कुनै संकेत देखिएको छैन । फलतः फेडले ब्याजदर वृद्धि थप आक्रामक पार्ने प्रक्षेपण गर्न लागिएको छ ।
सरकारी तथ्यांकअनुसार अमेरिकामा अहिले मुद्रास्फीति दर सन् १९८१ को नोभेम्बरयताकै उच्च स्तरमा छ । खर्च वस्तुबाट सेवातिर लाग्ने र मुद्रास्फीति सुस्ताउन मद्दत मिल्ने आशा गरिएको भए पनि भनेजस्तो कामदार नपाएपछि कम्पनीहरूले धमाधम कर्मचारीहरूको तलब बढाइरहँदा महँगी झनै बढिरहेको छ ।
कोरोना भाइरसको महामारीका कारण आपूर्ति शृंखलामा अवरोध उत्पन्न भएको अनि प्रतिकूल मौसमका कारण खाद्यान्नको भाउ महँगो बनेपछि गत वर्षयता नै अमेरिकामा मूल्य बढिरहेको छ । युक्रेनमाथि रुसको आक्रमणका विश्वभर कमोडिटिजको भाउ बढ्दा पनि महँगी झनै बढेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको महामारीबाट राहत दिन ल्याएको खर्च योजनाले पनि महँगी बढाएको केही विश्लेषकहरूले बताइरहेका छन् ।महामारीको प्रभावबाट घरपरिवार र व्यवसायहरूलाई टेवा दिन सरकारले ५० खर्ब डलर बराबरको स्टिमुलस कार्यक्रम ल्याएको थियो । महँगी नियन्त्रण गर्न आगामी नीतिगत बैठकमा फेडले थप आक्रामकरूपमा ब्याजदर बढाउने अपेक्षा विश्लेषक तथा अर्थशास्त्रीहरूले गरिरहेका छन् ।
गएको महीना फेडले शून्य दशमलव ७५ प्रतिशतको वृद्धिसहित ब्याजदरलाई १ दशमलव ५ प्रतिशतदेखि १ दशमलव ७५ प्रतिशतको बीचमा ल्याएको थियो । जुलाईमा पनि बैंकले सोही स्तरमा ब्याजदर बढाउने अनुमान गरिएको छ । फेडले ब्याजदर आक्रामकरूपमा बढाउने अनुमान बलियो बन्दै गर्दा आर्थिक मन्दी निम्तिने भय पनि बढ्दै गएको छ ।
माग सुस्तरी घटिरहेको छ । भावी आर्थिक वृद्धिदर पनि पूर्णतः नकारात्मक देखिने फेडको प्रक्षेपण छ । उच्च मूल्यका कारण गतिविधिहरू सुस्त भएको र घरेलु लगानी पनि घटेको अवस्थामा हालैका महीनामा उपभोक्ता मनोबल ध्वस्त भएको छ भने आर्थिक मन्दीको भय पनि बढेको छ । पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले खुम्चिएको थियो ।
दोस्रो त्रैमासमा पनि अर्थतन्त्र १ दशमलव २ प्रतिशतले खुम्चने क्रममा रहेको विश्लेषण एकाथरीले गरेका छन् । महँगी अत्यधिक उच्च स्तरमा रहेकोले फेडले यसमा अंकुश लगाउन एक पछि अर्को गर्दै ब्याजदर बढाउन लागिरहेको छ । उपभोक्ता मूल्य सूचक झनै अकासिएको प्रतिवेदनपछि फेडले आक्रामकरूपमा ब्याजदर बढाउने अड्कलबाजी झनै बढेका छन् ।
जुलाईमा बस्नले नीतिगत बैठकमा फेडले ब्याजदर एक प्रतिशतले बढाउन सक्ने सम्भावना ८३ प्रतिशत रहेको सीएमई ग्रुप डेटाले देखाएको छ । जुलाई २६ देखि २७ को बीचमा बस्ने नीतिगत बैठकमा फेडले एक प्रतिशतसम्म ब्याजदर बढाउन सक्ने अट्लान्टा फेडका अध्यक्ष राफेल बोस्टिकले बुधवार बताएका थिए । एजेन्सी