उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक

-


     नेपालय न्युज    
     असार २९ गते २०७९


काठमाडौं, असार २९

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिनुहुँदै प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तत्काल उपसभामुखको निर्वाचन कार्यातालिका प्रकाशित गर्न निर्देशन दिएका थिए ।

असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका सचिव समक्ष सो प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ ।

सोही दिन अपराह्न १ः३० बजे संघीय संसद् भवनको सूचना पार्टीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने छ । असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com