
प्रतिष्ठित संस्थाहरुले गरेको पछिल्लो एक मत सर्वेक्षणले बहुसंख्यक डेमोक्रेट्स मतदाताले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन पुनः उम्मेदवार नहोउन् भन्ने चाहेको देखाएको छ । झण्डै ६४ प्रतिशत डेमोक्रेट्स मतदाता पार्टीले सन् २०२४ को चुनावका लागि अर्को व्यक्तिलाई उठाउनुपर्ने पक्षमा देखिएका हुन् ।
मतसर्वेक्षणले राष्ट्रपतिको रुपमा बाइडेनको खस्कदो लोकप्रियतालाई प्रकाश पारेको छ ।
‘द न्युयोर्क टाइम्स’ र ‘सिएना कलेज पोल’ले संयुक्त रुपमा गरेको मत सर्वेक्षणमा बाइडेनप्रति ३३ प्रतिशत डेमोक्रेट्स मतदाता मात्रै सकारात्मक रहेको देखाएको छ । यस मतसर्वेक्षणको नजिता सोमबार सार्वजनिक गरिएको थियो । ओहायोस्थित अक्रोन विश्वविद्यालयका राजनीतिशास्त्रका प्रध्यापक डेभिड कोहेनले मत सर्वेक्षणको परिणाम बाइडेनका लागि चिन्ताजनक रहेको बताए ।
पछिल्लो समय विभिन्न मिडियाले डेमोक्रेटिक पार्टीका कैयौं नेताहरुले सन् २०२४ को चुनावमा बाइडेन पुनः नउठिदिउन भन्ने चाहना लेखिरहेको बेला मतसर्वेक्षणको यस्तो नतिजा सार्बजनिक भएको छ ।
विगत हेर्दा अमेरिकामा सत्तासिन राष्ट्रपतिले पुनः निर्वाचनको लागि उम्मेदवारी दिँदा पार्टीभित्रबाट त्यति बलियो प्रतिस्पर्धा सामना गर्दैनन् ।
तर बढ्दो मुद्रास्फीति, विश्वव्यापी संकट र गर्भपतन अधिकारलाई दिइएको सुरक्षा उल्टाउने सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि बाइडेनप्रति धेरै डेमोक्रेटिक मतदाता असन्तुष्ट बनेका छन् ।
मतसर्वेक्षणमा सहभागीमध्ये ३३ प्रतिशतले बाइडेनले पुनः उम्मेदवारी नदिने कारणमा उनको बयोवृद्ध उमेरलाई इंगित गरेका छन् ।
७९ वर्षका बाइडेन अहिले नै अमेरिकी इतिहासको सबैभन्दा वृद्ध राष्ट्रपतिको रेकर्ड बनाइसकेका छन् । यदी उनी पुनः निर्वाचित भए भने सन् २०२५ जनवरीमा दोस्रो सपथग्रहण लिँदा ८२ वर्ष हुनेछन् ।
मत सर्वेक्षणमा सहभागी ३२ प्रतिशत सहभागीले राष्ट्रपतिको कमजोर प्रदर्शनका कारण उनले पुनः निर्वाचनमा उठ्न नहुने बताएका छन् ।
८४९ अमेरिकी मतदाताबीच गरिएको मत सर्वेक्षणमा उनको सम्भावना ४.१ प्रतिशत तलमाथि हुनसक्ने बताइएको छ । बाइडेन तथा उनका सहयोगीहरुले बारम्बार बाइडेनले पुन चुनावमा उठ्ने चाहना देखाएको बताउँदै आएका छन् ।
तिनले राष्ट्रपतिले आफ्नो नियन्त्रण बाहिर रहेका समस्याहरुलाई न्युनिकरण गर्न तिनको स्थानबाट सक्ने जति प्रयास गरिरहेका बताउँछन् । पेट्रोलियम पदार्थको बढ्दो मूल्यजस्ता समस्यामा बाइडेन जिम्मेबार नभए पनि समस्या पर्न थालेपछि राष्ट्रपतिले दोष लगाउने पहिलो व्यक्ति राष्ट्रपति नै हुने प्राध्यापक कोहेनले बताए ।
‘अर्थतन्त्र राम्रो हुँदा जस पाउने पनि राष्ट्रपति हुन्छ, खराब हुँदा दोष पाउने उनैले हो,’ कोहेनले भने । प्रोफेसर कोहेनले मतसर्वेक्षणमा उनी विशेषत युवा मतदाताहरुमा अलोकप्रिय देखिनु बाइडेनको लागि बढि चिन्ताको विषय हुने बताए ।
सोमबारको मतसर्वेक्षणमा १८–२९ वर्ष उमेर समूहमध्ये १९ प्रतिशत मतदातामात्र उनीप्रति सकारात्मक देखिन्छन् । यो उमेर समूहका डेमोक्रेटिक सहभागीमा ९४ प्रतिशतले फरक उमेदवार ठिक हुने बताएका छन् ।
डेमोक्रेटिक पार्टीहरुको विशेष मतआधार युवा वर्गलाई मानिन्छ ।
बाइडेनका लागि अन्य धेरै निराशाजनक परिणामका बावजुद एक प्रश्नमा भने उनका लागि आशाप्रद जवाफ आएको छ । ४१ देखि ४४ प्रतिशत मतदाताले रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उमेदवार बने बाइडेन उपयुक्त डेमोक्रेट्स उमेदवार हुने बताएका छन् । एजेन्सी