
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुने गरि चुनावी तालमेलबारे पार्टीले धारणा निर्माण गर्नुपर्ने बताएका छन्।
पार्टी कार्यालय सानेपामा सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुने गरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
‘आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्यौँ भने पार्टीका साथीहरुलाई न्याय गर्न सक्छौँ त? यसबारे आगामी निर्वाचनभन्दा अगाडि यस विषयमा गम्भीर र विस्तृतरुपमा पार्टीभित्र छलफल गरिनु पर्छ,’ उनले भने, ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुने गरि तालमेलबारे पार्टीको धारणा निर्माण गरौं भन्ने मेरो विचार हो।’
नेता कोइरालाले स्थानीय तह निर्वाचनमा गरिएको तालमेल र आगामी निर्वाचनबारे पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्यांकन गर्नुपर्ने पनि बताए।
‘विगतको तालमेल र आगामी निर्वाचनबारे हामीले पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्यांकन गर्नैपर्छ,’ उनले भने, ‘हामी यसबाट भाग्न सक्दैनौँ। हामीलाई त्यस्तो छुट छैन। हामीले दूरदराजका कर्मशील र निष्ठावान साथीहरुलाई जवाफ दिनै पर्छ।’
कांग्रेसका हजारौँ नेता–कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न नसकेका कोइरालाको भनाइ थियो। उनले स्थानीय तह निर्वाचनको तालमेलबाट केही सिट बढी जिते पनि पार्टीको आदर्श सिद्धान्त भुलेको टिप्पणी गरे।
‘तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्याउन खोज्दैछौँ?,’ प्रश्न गर्दै कोइरालाले भने, ‘स्थानीय तह निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ। तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पार्यौँ।’
चुनावी तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भएको उनको भनाइ थियो।
तालमेलले कांग्रेसलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भएको कोइरालाले बताए।
‘तालमेलमा जानुपूर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाइनुपर्थ्यो। क्रियाशीलता, लोकप्रियता तथा वरिष्ठताको मापदण्ड बनाएर भूगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट वितरण गरिनुपर्थ्यो। तर कतिपय स्थानमा त्यो हुन सकेन।’ नेपालखबरबाट