
न्यूयोर्क (अमेरिका) । विश्वभर विद्युतीय सवारीसाधनको विक्रीमा उल्लेख्य वृद्धि भएको छ । यस वर्षको पहिलो त्रैमासमा विश्व बजारमा १९ लाख ५० हजार थान सवारीसाधन विक्री भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७९ प्रतिशत बढी रहेकाे बजार अनुसन्धाता संस्था काउन्टरप्वाइन्टले बताएको हो ।
सो अवधिमा विक्री भएका सवारीसाधनमध्ये ७३ प्रतिशत ब्याट्रीबाट चल्ने सवारी साधन छन् । बाँकी भने प्लग–इन हाइब्रिड सवारीसाधन हुन् । सन् २०२२ को जनवरी–मार्च त्रैमासमा विश्वभर विक्री भएका कूल सवारीसाधनमा विद्युतीय सवारीसाधनको अनुपात १२ प्रतिशत मात्रै छ ।
बजार विस्तारको प्रशस्त सम्भावना रहेको र बजारमा नयाँ-नयाँ ‘खेलाडी’ आइरहेको काउन्टरप्वाइन्टका वरिष्ठ बजार विश्लेषक सौमेन मन्डलले बताए । नव प्रवेशीलाई काउन्टर गर्न पुराना कम्पनीले ब्याट्रीलाई सुधार्न उन्नत प्रविधि, सर्वोत्कृष्ट आईभीआई प्रणालीलगायत फिचरलाई सवारीसाधन बिकाउने मुख्य हतियार बनाइरहेको पनि मन्डलले बताए ।
अहिले विश्वको विद्युतीय सवारीसाधन बजारमा टेस्ला सबैभ्न्दा अगाडि छ । गत वर्षको पहिलो त्रैमासमा तुलनामा यस वर्षको पहिलो त्रैमासमा कम्पनीको विक्री ६८ प्रतिशतले बढेको छ । यो वर्षको अन्त्यसम्ममा कम्पनीको विक्री १३ लाख नाघ्ने अपेक्षा गरिएको छ । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी विक्रीका आधारमा घरेलु बजारमा सबैभन्दा ठूलो ईभी कम्पनी बनेको छ ।
समीक्षा अवधिमा चीनले ११ लाख ४० हजार थान ईभी बेचेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२६ प्रतिशत बढी हो । गएको वर्षको सोही अवधिमा चीनको विक्री ५ लाख थान मात्रै थियो । ईभी विक्रीको मामिलामा यूरोप र अमेरिका दोस्रो र तेस्रो स्थानमा छन् । एजेन्सी