
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण दुई वर्षसम्म घाटाको सामना गरेको पुष्प व्यवसायले अझै लय लिन सकेको छैन ।
खुसी र विभिन्न उत्सवमा प्रयोग हुने फूलको माग कोरोना महामारीयता घटेपछि कारोबार पनि घटेको पुष्प व्यावसायीहरू बताउँछन् । कोरोना महामारीको समयभन्दा अहिले फूलको व्यापार बढे पनि आशाअनुरूप हुन नसकेको उनीहरूको भनाइ छ ।
फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङ कोरोना महामारीका समयभन्दा केही गतिविधि बढे पनि विगतझैं पुष्प व्यवसायले लय लिन नसकेको बताउँछन् । व्यावसायीमा कारोनाको त्रास कायमै रहेकाले लगानी गर्ने वातावरण नबन्दा उत्पादनमा पनि कमी आएको उनको भनाइ छ । अहिले भएको आर्थिक मन्दीका कारण पनि व्यवसायले अझै फड्को मार्न नसकेको उनी बताउँछन् ।
कारोबार कम भएपछि चालू आर्थिक वर्षमा रू. तीन अर्बको पुष्प कारोबार गर्ने लक्ष्य लिइएको थियो । उक्त लक्ष्य पनि पूरा नहुने अवस्था रहेको अध्यक्ष तामाङ बताउँछन् । उनका अनुसार चालू आर्थिक वर्षमा यस व्यवसायमा रू. दुई अर्बको मात्र कारोबार हुने अवस्था छ ।
हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ । अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।
कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा झण्डै १५७ हेक्टरमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । रासस