खाद्यान्न निर्यात थप कसिलो बनाउँदै भारत, गहुँपछि सुजी र आटाको निर्यातमा पनि रोक

-


     नेपालय न्युज    
     असार २३ गते २०७९


असार २३, नयाँदिल्ली (भारत) । गहुँको निर्यातमा रोक लगाएको दुई महीना पनि नबित्दै भारतले गहुँजन्यसामग्रीहरुको निर्यातमा पनि रोक लगाएको छ ।

जुलाई १२ देखि लागू हुने गरी भारतले गहुँबाट बन्ने आटा, मैदा र सुजीको निर्यातमा रोक लगाएको हो । यसबारे भारतीय समाचार संस्था विजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणमा समाचार छापिएको छ । गहुँको निर्यातमा लगाइएको रोकको प्रभाव छल्न भारतबाट रातारात ठूलो परिमाणमा सुजी, मैदा र आटा बाहिरिने अवस्था टार्न पछिल्लो प्रतिबन्धको घोषणा गरिएको स्रोतहरुले बताएको भन्दै समाचारमा भनिएको छ ।

भारतले गहुँको निर्यातमा बन्देज लगाएपछि त्यहाँको खुद्रा बजारमा गहुँको पिठोको भाउ केही घटेको भएपनि गहुँजन्य सामग्रीको निर्यात रोकिएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेर आटा, मैदा, सुजीलगायत गहुँबाट उत्पादित वस्तुको निर्यातमा प्रतिबन्ध लगाइएको बताएको छ ।

प्रतिबन्ध लागू हुनुभन्दा अगावै भन्सार बुझाएका र जहाजमा लोड भएको सामानको निर्यात चाँहि नरोकिने बताइएको छ । भारतले गहुँ निर्यात रोकेपछि नेपालका खाद्य उद्योग विशेषगरी गहुँजन्य सामाग्री उत्पादन गर्ने उद्योगहरु प्रभावित बनेका थिए ।

आर्थिक वर्ष २०२२ मा भारतको गहुँको साथसाथै गहुँको पिठोको निर्यातमा उच्च वृद्धि भएको थियो । गएको आवमा भारतले २ अर्ब १२ करोड डलर मूल्य बराबरको ७० लाख टन गहुँ निर्यात गरेको थियो । यो अघिल्लो आवको तुलनामा २७४ प्रतिशत धेरै थियो । भारतले गहुँको निर्यात नरोकेको भए यो यस वर्ष बढेर ८० लाखदेखि १ करोड टन पुग्न सक्थ्यो ।

तर निर्यात प्रतिबन्धपछि भने निर्यातको लागि करार भइसकेको गहुँलाई मात्रै भारतबाहिर निकासी गरियो भने गहुँ निर्यात ४० लाख देखि ४५ लाख टन आसपास रहने अनुमान गरिएको छ । स्थानीय स्तरमा आपूर्ति सहज बनाउन र महँगी नियन्त्रण गर्न यसअघि नै भारतले चिनीलगायत अन्य केही खाद्य वस्तुको निर्यात पनि रोकिसकेको छ ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com