
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएका छन्। बिहीबार देशका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।आफ्नो सम्बोधनको शुरुवातमा जोनसनले नयाँ नेता चुनिने प्रक्रिया अब सुरु हुने बताए। यसको प्रक्रिया आगामी साता सुरु हुनेछ।
जोनसनले राजीनामा दिँदै नयाँ नेता नआउन्जेल आफू पदमै रहिरहने पनि बताएका छन्। ‘हामीले बेलायनको हर क्षेत्रको क्षमता उजागर र प्रोत्साहित गर्नु जरुरी छ’, उनले भने, ‘यदि बेलायत यस्तो गर्न सक्षम भएमा पूरै यूरोपमा सबैभन्दा समृद्ध देश हुनेछ।’
श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरे।
जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा दिएपछि बेलायती विदेश मन्त्री लिज ट्रसले बिहीबार सबैलाई शान्त र एकतावद्ध बनेर अघि बढ्न आह्वान गरेका छन्।
‘प्रधानमन्त्रीले सही निर्णय गर्नुभएको छ। जोन्सनको नेतृत्वमा रहेको सरकारले ब्रेक्जिट, कोभिड–१९ विरूद्धको खोप विकास र वितरण तथा यूक्रेनलाई समर्थन गर्नेजस्ता धेरै उपलब्धि लिएको छ’, उनले भने, ‘हामीलाई अहिले शान्ति र ऐक्यवद्धताको आवश्यकता छ। नयाँ नेता चयन गर्दासम्म उहाँको नेतृत्व कायम रहनेछ।’
अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ।
चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनलाई राजीनामाका लागि चर्को दबाब सिर्जना भएको थियो।
यसअघि हिजो बुधवार उनले बेलायती संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट ‘व्यापक जनादेश’ पाएको र त्यो ‘जारी रहने’ बताएका थिए।
अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा परेका थिए।
यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए।
उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भएको थियो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।
यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए।
यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त नदिम जाहावीले पनि पदबाट राजीनामा दिए।
उनले एक विज्ञप्ति प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेकाले पदबाट हट्नुपर्ने बताएका थिए। एजेन्सी