जनताले तेल पाउन महीनौ लाग्नसक्ने घोषणा गरेलगत्तै श्रीलंकाले बढायो भाउ, पेट्रोल लिटरकै ५५० रुपी


     नेपालय न्युज,     
     असार १३ गते २०७९


कोलम्बो (श्रीलंका) । श्रीलंकाले इन्धनको भाउ बढाएको छ । सरकारसँग वार्ताका लागि अमेरिकी अधिकारीहरू आएकै समयमा सरकारले इन्धन मूल्यवृद्धिको घोषणा गरेको हो ।

सरकारी तेल कम्पनी सिलोन पेट्रोलियम कर्पोरेशन (CPC)ले आइतवार डिजेलको भाउ १५ प्रतिशतले बढाएर प्रतिलिटर ४६० रुपी पुर्‍याएकाे छ । पेट्रोल पनि प्रतिलिटर २२ प्रतिशतको वृद्धिसहित ५५० रुपी कायम गरिएको छ । ऊर्जामन्त्री कन्चना विजेसेकेराले तेलको नयाँ ढुवानी असीमित समयसम्म ढिलाइ हुन सक्ने बताएको एक दिनलगत्तै सो कदम चालिएको हो ।

गत हप्ता विजेसेकेराले सरकारसँग विदेशबाट इन्धन किनेर ल्याउन डलर नभएको भन्दै आगामी हप्ता आउने भनेको तेल नआउने बताएका थिए । उनले सवारी धनीहरूसँग माफी माग्दै पेट्रोल पम्पबाहिर लामो लाइनमा नबस्न अनुरोध पनि गरेका थिए । श्रीलंकासँग मौज्दातमा करीब दुई दिनलाई मात्रै पुग्ने इन्धन भएको र यसलाई अत्यावश्यक सेवाका लागि जोगाएर राखिएको सरकारी स्रोतहरूले बताएका छन् ।

श्रीलंकासँग वार्ता गर्न अहिले अमेरिकी अर्थमन्त्रालय र विदेश मन्त्रालयका प्रतिनिधि टोली कोलम्बोमा आएको छ । यस वार्तामा अहिलेको आवश्यकताको घडीमा श्रीलंकालीहरुलाई अमेरिकाले कसरी सबैभन्दा प्रभावकारी तवरले सहयोग गर्न सक्छ भनेर छलफल हुने कोलम्बोस्थित अमेरिकी दूतावासले बताएको छ । गएको दुई हप्तामा आफूले श्रीलंकालाई १५ करोड ८५ लाख ८० हजार डलर बराबरको सहयोग वाचा गरेको दूतावासको भनाइ छ ।

संयुक्त राष्ट्र संघले यसअघि नै श्रीलंकाका अति विपन्न वर्गका मानिसहरुलाई खुवाउनका लागि ४ करोड ७० लाख डलर बराबरको आकस्मिक कोष जुटाउन अनुरोध गरेको थियो । गत हप्ता सरकारले इन्धनको खपत कम गर्न गैर अत्यावश्यक सरकारी संस्था र विद्यालयहरू २ हप्ताका लागि बन्द गर्ने घोषणा गरेको थियो । इन्धन अभावका कारण देशभरका कयौं अस्पतालमा कर्मचारी ह्वात्तै घटेका छन् ।

गत बुधबार संसदमा प्रधानमन्त्री रनिल विक्रमेसिंघेले आगामी दिनमा थप कठिनाईको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिएका थिए । अर्थतन्त्र पूरै पतन भएको र इन्धन, ग्यास, बिजुली र खाद्यान्न अभावबाहेक थप गम्भीर अवस्था आइरहेको उनले बताएका थिए । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com