रूसमाथि तेलपछि सुन निर्यातमा पनि प्रतिबन्ध, तेलकै जसरी सुनको मूल्य पनि बढ्न सक्छ ?

-


     नेपालय न्युज    
     असार १३ गते २०७९


लन्डन (बेलायत) । अमेरिका बेलायत, क्यानडा र जापानले रूसबाट सुन आयातमा प्रतिबन्ध लगाउने भएका छन् ।

युक्रेनी युद्धका लागि रकम जुटाउन सक्ने रूसको क्षमतामा आघात पुर्याउनका लागि सो कदम चाल्न लागिएको हो । सन् २०२१ मा रूसले १२ अर्ब ६० करोड डलर बराबरको सुन निर्यात गरेको थियो ।

सात औद्योगिक देशहरुको समूह जी–सेभेनले रूसबाट सुन आयात रोक्ने आइतवार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेनले पूष्टि गरेका हुन् । प्रतिबन्धको औपचारिक घोषणा भने मंगलवार हुने बताइएको छ ।

प्रतिबन्ध भर्खरै उत्खनन गरिएका अनि प्रशोधन गरिएका सुनमा लागू हुनेछ । अर्थात् रूसबाट अन्यत्र निर्यात भइसकेको सुनमा भने प्रतिबन्ध लागू हुने छैन । रूस चीनपछि विश्वको दोस्रो ठूलो सुन उत्पादक देश हो । विश्वभर उत्पादन हुने कूल सुनमा रूसको अनुपात १० प्रतिशत रहेको विश्व सुन परिषद्को तथ्यांक (WGC )ले देखाएको छ ।

सन् २०२१ मा रूसको सुन उत्पादन ३३० दशमलव ९ टन रहेको थियो । सन् २०१४ मा रूसले क्रिमियाको पृथकीकरण गरेयता उसले सुन सञ्चित तेब्बर पारिसकेको छ । यो अहिले रूसी केन्द्रीय बैंकका लागि महत्वपूर्ण सम्पत्ति भएको छ ।

म्युनिखमा जी–सेभेनका नेताहरुको बैठक बस्दैछ । सो बैठक अगावै बाइडेनले ट्विटर मार्फत आसन्न प्रतिबन्धसम्बन्धी खबरहरुको पूष्टि गरेका हुन् । फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण गरेयता पश्चिमी देशहरुले एक पछि अर्को गर्दै प्रतिबन्धको घोषणा गरिरहेका छन् ।

रूसको अर्थतन्त्र ध्वस्त बनाउन र युक्रेनसँग युद्धको लागि दैनिक रुपमा खर्च भइरहेको करोडौं डलर जुटाउन सक्ने रूसको क्षमतामा धक्का पुर्याउन अमेरिका, बेलायत लगायत कयौं देशहरुले रूसमाथि अनेक प्रकारका प्रतिबन्धको घोषणा गरेका छन् । यस अघि नै रूसको तेल र ग्यास आयातमा प्रतिबन्ध वा कटौतीको घोषणा भइसकेको छ ।

रूसी बैंक र नागरिकहरुमाथि पनि प्रतिबन्ध लगाइएको छ । फेब्रुअरीमा अमेरिका, क्यानडा र तिनका यूरोपेली मित्र देशहरुले प्रमुख रूसी बैंकलाई अन्तर बैंक सन्देश प्रणाली स्वीफ्टबाट हटाउने सहमति गरिसकेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com