१०० वर्षपछि पहिलो पटक रुसले तिर्न सकेन विदेशबाट लिएको कर्जाको ब्याज

-


     नेपालय न्युज    
     असार १३ गते २०७९


मस्को (रुस) । रुस आफ्ना विदेशी कर्जादाताहरुसँग लिएको ऋणको ब्याज तिर्न असफल भएको छ ।

६ खर्ब डलरभन्दा बढीको विदेशी विनिमय सञ्चिति भएको रुस, चीन, जापान, स्वीट्जरल्यान्डपछि विश्वको चौथो ठूलो विदेशी विनिमय सञ्चिति भएको देश हो । तर आइतवार करीब १० करोड डलर तिर्न नसकेर रुस डिफल्टमा गएको छ ।

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा पश्चिमी देशहरुले अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई बहिष्कार गरेको अवस्थामा रुस एक शताब्दीभन्दा बढी समययता पहिलो पटक कर्जाको ब्याज भुक्तानीमा असफल भएको हो ।

रुसले मे २७ मै करीब १० करोड डलर बराबरको ब्याज तिर्नु थियो । तर आइतवार सो भुक्तानीको लागि छूट म्यादको अन्तिम दिन पनि समाप्त हुँदासम्म पनि सो रकम चुक्ता गर्न रुस असफल भएको छ । अर्थात् रुस सन् १९१८ यता पहिलो पटक डिफल्टमा गएको छ ।

रुसले ब्याजदर भुक्तानीको लागि पैसा यूरोक्लियरलाई पठाएको थियो । तर रुसमाथि लगाईको आर्थिक प्रतिबन्धका कारण सो रकम त्यही रोक्का भएर बस्यो अनि कर्जादाताहरुले आफूले पाउनु पर्ने रकम पाएनन् । पैसा अड्किएर बसेको हो होइन भन्नेबारे यूरोक्लियरले केही पनि बताएको छैन । आफूले सबै खालको प्रतिबन्धको पालना गर्ने चाँहि उसले बताएको छ ।

रुसले निकट भविष्यमा करीब २० अर्ब डलर बराबरको कर्जा चुक्ता गर्नु पर्नेछ । तर यो ऋणको चुक्ता उसले कसरी गर्छ वा डिफल्टमा जानबाट कसरी बच्छ त्यो भने हेर्न बाँकी छ । यसअघि रुस विदेशी ऋणपत्र बजारबाट उठाएको रकम तिर्न नसकेर सन् १९१८ मा डिफल्टमा गएको थियो । त्यति बेला बोल्शेभिक क्रान्तिका समयमा नयाँ कम्युनिष्ट नेता भ्लादिमिर लेलिनने विदेशी कर्जा तिर्न अस्वीकार गरेका थिए ।

यसअघि बोरिस यलिस्टनको पालामा सन् १९९८ मा रुसी अर्थतन्त्र रुबल संकटबाट गुज्रिदा पनि मस्कोले घरेलु ऋणपत्र बजारबाट उठाएको ४० अर्ब डलर बराबरको कर्जा चुक्ता गर्न असफल भएको थियो । तर त्यति बेला विदेशी कर्जा भने जेनतेन गरेर रुसले तिरेको थियो ।

पछिल्लो समय अमेरिका र यूरोपसमेत विश्वका कयौं देशहरुले रुसलाई आर्थिक, वित्तीय र राजनीतिक रुपमा बहिष्कार गरेका छन् । मार्चयता नै रुसको केन्द्रीय बैंकको विदेशी विनिमय सञ्चिति रोक्का गरिएको छ ।

विश्वव्यापी वित्तीय प्रणालीमा रुसका ठूला बैंकहरु प्रतिबन्धित छन् । आफूसँग ऋणको साँवा ब्याज भुक्तानी गर्न पर्याप्त पैसा भएको तर आफूलाई भुक्तानी गर्न नमिल्ने बनाइएको भन्दै आफूमाथि डिफल्टरको धब्बा लगाएकोमा रुसले विरोध गरेको छ ।

पश्चिमी देशहरुले कृत्रिम रुपमा आफूलाई जर्बजस्ती डिफल्टको अवस्थामा राखेको भन्दै ४० अर्ब डलर बराबरको सार्वभौम कर्जाको भुक्तानीलाई रुबलमा परिणत गर्ने गएको हप्ता मात्रै रुसले बताएको थियो । बाह्य सरकारका कारण कुनै सरकारले ऋणको साँवा ब्याज भुक्तानी गर्न नसकेर डिफल्टमा जान बाध्य भएको यो निकै विरलै घटना भएको विश्लेषकहरुले बताएका छन् ।

रुसले अहिले तेल बेचेर टन्नै आम्दानी गरिरहेको छ । डिफल्टले रुसलाई प्रतिकात्मक झट्का दिने भएपनि तत्कालै भने यसले रुसी अर्थतन्त्रमाथि थोरै मात्रै प्रभाव पार्नेछ । कुनै पनि देशले ऋणको सावाँ वा ब्याज चुक्ता गर्न सकेन भने उसलाई भविष्यमा थप रकम उधारो लिन गाह्रो हुन्छ ।

तर रुसलाई यसअघि नै पश्चिमी बजारबाट कर्जा उठाउन बन्देज लगाइएको छ । रुसले अहिले खनिज इन्धन बेचेरै दिनमा झन्डै १ अर्ब डलर कमाएरहेको छ । यस्तोमा उसलाई पक्कै पनि विदेशबाट थप कर्जा उठाउनु पर्ने अवस्था छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय भुक्तानी एजेन्टलाई विदेशी मुद्रामा भएको ऋणपत्र बराबरको रुबल भुक्तानी गर्ने नयाँ नियम ल्याएका छन् । अर्थ मन्त्रालयले पनि बिहीवार र शुक्रवार करीब ४० करोड डलर बराबरको ब्याज भुक्तानी रुबलमा गरेको थियो । तर यी ऋणपत्रमा स्थानीय मुद्रामा भुक्तानी राफसाफको अनुमति भन्ने शर्त छैन ।

अहिलेको लागि कर्जादाताहरुले रुसबाट रुबलमा पैसा असुल गर्छन् वा विद्यमान प्रतिबन्ध अन्तर्गत नै उनीहरुलाई आफूले दिएको कर्जा असुल गर्ने अनुमति मिल्छ त्यो चाँहि हेर्न बाँकी छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com