नेकपा ब्यूँताउने गृहकार्य सुरु, एकता नभए चुनावी गठबन्धन

- एमाले, माओवादी र एकीकृत समाजवादीबीच सम्वाद

-


     नेपालय न्युज    
     असार १३ गते २०७९


सागर न्यौपाने,
पूर्वमाओवादी घटकबीचको एकताको प्रयास तीव्ररूपमा भइरहेकै बेला अन्य कम्युनिष्ट घटकबीच पनि गठबन्धन र एकता गराउने प्रयास शुरु भएको छ।

स्थानीय तहको निर्वाचन परिणामपछि माओवादी केन्द्र, नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एमालेबीच एकता प्रयास शुरु भएको हो।

त्यसमध्ये माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने निष्कर्षमा नेताहरु पुगेको स्रोतले जनाएको छ।

संघीय निर्वाचनमा कम्तीमा दोस्रो शक्ति बन्नेगरी त्यसअघि एकता गर्न छलफल चलेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच यही विषयमा पटक-पटक छलफल भइसकेको छ।

हालै भएका केही भेटवार्तामा एकता नगर्ने हो भने कम्युनिष्टहरू सकिने र देशमा कांग्रेसले हालीमुहाली गर्ने कुरामा सचेत रहनुपर्ने उनीहरुबीच छलफल भएको छ।

यद्यपि अहिले एकताको प्रक्रिया कसरी सुरु गर्ने भन्ने निचोडमा पुग्न नसकेको वार्तामा सहभागी नेताको भनाइ उधृत गर्दै स्रोतले जनाएको छ।

पूर्वमाओवादी धाराहरुबीच एकता गर्न तल्लो तहबाट आएको दबाबमा रहेका अध्यक्ष प्रचण्डले समानान्तर रुपमा छलफल गरिरहेका छन्। उनको पहिलो प्रयास आफ्नै पार्टीबाट विभाजन भएका शक्तिहरूलाई मिलाउन छ।

तर, संघीय निर्वाचन नजिकिएसँगै उम्मेदवार चयनमा लाग्नुपर्ने भएकाले त्यसअघि एकताबारे एउटा निर्णयमा पुग्नुपर्ने गरी अन्य कम्युनिष्ट घटकसँग संवाद भइरहेको छ।

छलफलमा सहभागी नेताहरुका अनुसार तीनवटा प्रयास सँगसँगै भइरहेको छ।

पहिलो विकल्प : पुरानै नेकपा ब्यूँताउने
२३ फागुन २०७७ मा सर्वाेच्च अदालतले एकता भंग गरेकाले एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका मात्र होइन, १ साउन २०७८ मा एमाले विभाजन पनि भएको थियो। अब एमाले, माओवादी केन्द्र र एमालेबाट विभाजित एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याउने र पुरानो नेकपा ब्यूँताउने।

पहिलो विकल्पमा एमाले अध्यक्ष केपी ओलीदेखि दोस्रो तहका नेतासम्म छलफल भइरहेको छ। नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुनसँग एमालेका नेताहरुले भेट गरिरहेका छन्।

श्रेष्ठले त एमाले अध्यक्ष ओलीसँग भेट गरिसके। स्थानीय तहको निर्वाचन परिणाम पछि त्यो छलफल झन् बढेको नेताहरु स्वीकार्छन्। तर, एमालेसँग तत्काल एकता वा मोर्चाबन्दी गर्न माओवादी केन्द्र तयार छैन।

एमाले अध्यक्ष केपी ओलीले संसद विघटन र नेकपा विभाजनमा अदालतले खेलेको भूमिकाले माओवादी बिच्किएको छ।

स्थानीय तहमा आएको परिणाम सोचेजस्तो नभए पनि गठबन्धनबाट खासै नोक्सान नभएको माओवादीको विश्लेषण छ।

अब प्रदेश र संघीय निर्वाचनमा २०७४ को भन्दा केही सिट बढ्ने माओवादीको विश्लेषण रहेकाले अहिले एमालेसँग एकता वा मोर्चाबन्दीमा प्रचण्ड इच्छुक छैनन्।

तर, स्थानीय तहमा ८९ पालिका गुमाएको एमालेले संघ र प्रदेशको चुनावको परिणाम आँकलन गरिसकेको छ, त्यही भएर माओवादी केन्द्रसँगको मोर्चाबन्दीका लागि उसले ‘ग्रिन सिग्नल’ दिएको छ। त्यही अनुसार नेताहरु परिचालित छन्।

दोस्रो विकल्प : माओवादी र एकीकृत समाजवादी मिल्ने
दोस्रो प्रयासका रुपमा माओवादी र एकीकृत समाजवादीबीच एकता गर्ने प्रयासमा पनि छलफल भइरहेको नेताहरु बताउँछन् ।

‘अब पनि हामी छुट्टा छुट्टै लड्ने हो भने निर्णायक शक्ति बन्न सक्दैनौं,’ नेताहरुको छलफलबारे जानकार एक नेताले नेपालखबरसँग भने, ‘कांग्रेस पहिलो पार्टी भयो भने उसलाई चेक एण्ड ब्यालेन्स गर्ने शक्ति चाहिन्छ।’

त्यसो त कांग्रेसले संघीय निर्वाचनमा एक्लै झण्डै बहुमत संख्या जित्ने योजना बनाइरहेको छ। यदि बहुमत नआए उसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई साथ लिएर बहुमत पुर्‍याउने योजना बनाएको भन्दै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता गर्ने प्रयास भएको हो।

उनीहरुले कांग्रेसलाई बहुमत ल्याउनबाट रोक्न पनि एकतामै जोड दिएका छन्।

स्रोतका अनुसार यसमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सकारात्मक छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्णय दिएका छैनन्। उनी छलफल र परामर्श गर्नुपर्ने निचोडमा भने पुगेका छन्।

‘एकता नै गरेर जानुपर्छ र आगामी संघीय निर्वाचनमा बलियो शक्ति बन्नुपर्छ,’ छलफलको निचोडबारे स्रोतले भन्यो, ‘दुई पार्टी मिल्दा कांग्रेसले बहुमत ल्याउन सक्तैन, त्यसबेला निर्णायक दल बन्न सक्छ।’

खास गरी माओवादी नेताले माधव नेपालसँग एकताका लागि जोड गरे पनि माधव नेपाल निकट नेताहरु चाहिँ तत्काल माओवादीसँग पार्टी एकता नै भइहाल्ने कुरा औपचारिकरुपमा स्वीकार्न मान्दैनन्।

तेस्रो प्रयास-तीन दलीय गठबन्धन
एमाले समेतको एकता वा नेकपा ब्यूँतने कुरा सम्भव नभएमा नेताहरुले गरेको तेस्रो प्रयास हो– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीच संघीय निर्वाचनमा वाम गठबन्धन गरेर जाने।

त्यसरी जाँदा पनि निर्णायक शक्ति त्यही मोर्चा बन्न सक्ने नेताहरुको बुझाइ छ। यसमा उपेन्द्र यादव पनि सकारात्मक छन्।

‘उपेन्द्रजी, माधवजी र माओवादी केन्द्रबीच एउटा मोर्चा बनाएर जान सक्यौं भने संघीय निर्वाचनमा हाम्रो पोजिसन राम्रो हुन्छ, गठबन्धन बने पनि त्यसबेला निर्णायक सिट मोर्चाबाट जितिन्छ,’ अर्का एक नेताले नेपालखबरसँग भने।

कांग्रेससहितको पाँच दलीय गठबन्धन अहिले पनि कायम छ।

परिस्थितिमा कुनै फेरबदल नआए यही गठबन्धन संघ र प्रदेश निर्वाचनसम्म जानेछ।

तर, स्थानीय तह निर्वाचनमा केही तहमा भएको धोकाधडी दोहोरिएमा संघ र प्रदेशको चुनावी परिणाम फरक पर्ने र त्यसले राष्ट्रिय राजनीतिको दिशा नै बदल्न सक्ने भएकोले सचेतता अपनाउन अध्यक्ष प्रचण्डलाई सुझाव गएको छ।

त्यही सुझाव एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र एमाले अध्यक्ष केपी ओलीलाई समेत पुगेको छ।

यस्तो बेलामा कांग्रेसलाई ठूलो शक्ति बन्नबाट रोक्ने योजना अनुसार अहिले एकता वा मोर्चा बनाउने प्रयत्न हुन थालेको हो।

‘एकल बहुमत हुँदा खेरि पनि समस्या देखियो, अब सानातिना पार्टीसँग मिलेर बहुमत पुग्ने सिट पाउँदा झन् संकट पर्छ,’ स्रोतले भन्यो, ‘एकता वा मोर्चाबाट पाउने सिट अन्य दलसँग मिल्दा बहुमत पुगोस्।’

अहिले संघीय संसदमा समानुपातिकसहित २७५ सांसद रहन्छन्। त्यसमा प्रत्यक्षमा मात्र १६५ रहन्छन्।

गत ०७४ को चुनावलाई आधार मान्ने हो भने कांग्रेसले ३० लाख बढी समानुपातिक मत पाएको थियो। एमालेले ३१ लाख समानुपातिक मत पाउँदा माओवादी केन्द्रले १३ लाख पाएको थियो।

अबको संघीय चुनावमा कांग्रेस एक्लैले ९० भन्दा बढी सिट जित्ने प्रक्षेपण गरिसकेको छ। समानुपातिक समेत जोड्दा उसले १ सय ३० सिट पाउने देखिन्छ।

२०७४ मा कांग्रेसले ४० सिट समानुपातिक सांसद पाएको थियो। यस्तै नेकपा एमालेले ८० भन्दा बढी सिट प्रत्यक्षमा जितेको थियो। माओवादी केन्द्रले ३७ प्रत्यक्ष जितेको थियो।

स्थानीय तह निर्वाचनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक महानगर, एक उपमहानगरसहित २० तहको प्रमुख जितेको छ। माओवादी केन्द्रले १ सय २१ तहको प्रमुख जितेको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले ३१ तहको प्रमुख जितेको छ।

नेपालखबरबाट

WP2Social Auto Publish Powered By : XYZScripts.com