कामबाट निकालेको भन्दै पूर्व कर्मचारीहरुले हाले टेस्लामाथि मुद्दा

-


     नेपालय न्युज    
     असार ७ गते २०७९


सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकमाथि पूर्व कर्मचारीहरुले मुद्दा हालेका छन् ।

कम्पनीले पूर्व जानकारी नदिइकन गरेको ठूलो संख्यामा कर्मचारीलाई कामबाट निकाल्ने निर्णयले संघीय कानूनको उल्लंघन गरेको भन्दै आइतवार टेक्ससमा कम्पनीका दुई जना कर्मचारीले टेस्ला विस्द्ध मुद्दा हालेका हुन् ।

यी दुई जना जुनमा कम्पनीले नाभेदाको स्पाक्र्समा रहेको गिगा कारखानाबाट निकालेको कर्मचारी भएको बताइएको छ । उनीहरुका अनुसार नाभेदाको उक्त कारखानाबाट ५०० भन्दा धेरैलाई कामबाट निकालिएको छ ।

अमेरिकाको कर्मचारी समायोजन र पुनःतालिम सूचना ऐनअनुसार सामूहिक रुपमा कर्मचारीलाई कामबाट निकाल्दा ६० दिन अगावै सूचना जारी गर्नुपर्छ ।

टेस्लाले कर्मचारीहरुलाई करार रद्द तत्कालै लागू हुनेछ भन्दै सूचीत गरेको मुद्दामा भनिएको छ । विश्वको सबैभन्दा धनी व्यक्तिसमेत रहेका टेस्लाका सीईओ एलन मस्कले यो महीनाको शुरुमा अर्थतन्त्रबारे आफूले अति नै खराब महसुस गरिरहेको भन्दै टेस्लाले कर्मचारी करीब १० प्रतिशतले घटाउन जरुरी भएको बताएका थिए ।

मुद्दा जोन लिन्च र डाक्सटन हार्ट्सफिल्डले हालेका हुन् । यी दुईलाई टेस्लाले क्रमशः जुन १० र १५ मा कामबाट निकालेको थियो । यी दुईले ६० दिनको तलब र भत्ता पनि माग गरेका छन् । टेस्लाले कयौं कामदारहरुलाई पूर्व सूचना नै नदिइ लाजै नमानी संघीय श्रम कानूनको उल्लंघन गरेको कामदारहरुको एक वकिलले बताएकी छिन् ।

टेस्लाले केही कर्मचारीलाई एक हप्ताको मात्रै भत्ता दिने भएको छ । एक हप्ताको मात्रै तलब भत्ता दिएर सयौं कर्मचारीलाई निकाल्नबाट टेस्लालाई रोक्न मुद्दा हाल्ने तयारी पनि भइरहेको छ । यो मुद्दा पनि टेक्ससको पश्चिमी जिल्ला अदालतमा दायर गर्ने तयारी छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com