
न्यूयोर्क (अमेरिका) । अमेरिकामा भएको एउटा लिलामीमा जापानी ह्विस्की ६ लाख डलरमा विक्री भएको छ ।
शुक्रवार सथबिजमा भएको लिलामीमा सन्टोरी स्पिरिट्सको यामाजाकी ५५ सिंगल माल्ट ह्विस्कीले सो मूल्य पाएको हो । यो मूल्य अपेक्षा गरिएको भन्दा १ र२ लाख डलर धेरै हो ।
यामाजाकी ५५ सन्टोरीले विगत ५५ वर्षभन्दा बढी समयदेखि विविध कास्कमा राखेको ह्विस्कीहरुको समिश्रण हो । सन् २०२० मा यसको सीमित बोतल विक्री गरिएको थियो । त्यतिबेला हरेक बोतलले करीब २२ हजार डलर मूल्य पाएको थियो ।
यो जापानको इतिहासकै सबैभन्दा पुरानो ह्विस्की त हो नै त्यसमा पनि सबैभन्दा महँगो ह्विस्की पनि बनेको छ । यामाजाकी जापानी ह्विस्कीमध्ये संग्रह गरेर राख्न सकिने सर्वोच्च कोटीको ह्विस्की भएको सथबिजले आफ्नो वेबसाइटमा भनेको छ ।
विश्वभर माग बढेको अनि रक्सी बनाउने पदार्थको अभाव देखिएको अवस्थामा जापानी ह्विस्कीको मूल्य पनि हालैका वर्षमा बढिरहेका छन् । सन् २०१९ मा इचिरोको ५४ बोतल माल्ट कार्ड सिरिजका ह्विस्की हङकङमा ९ लाख १० हजार डलरमा विक्री भएको थियो ।
दशकौं पुराना ह्विस्कीहरु लिलामीमा लाखौं लाख डलरमा विक्री हुने गरेका छन् । यामाजाकी जापानको सबैभन्दा पुरानो ह्विस्की हो । यसको पहिलो कास्क सन् १९६० मा सन्तोरीका संस्थापक शिनजिरो तोरीले बनाएका थिए ।
दोस्रो र तेस्रो कास्क भने सन् १९६१ र सन् १९६४ मा तयार पारिएको थियो । कम्पनीका वर्तमान चिफ ब्लेन्डर तथा संस्थापकका नाति शिनजी फुकुयोले यी तीन ओटै कास्कका ह्विस्की मिलाएर यामाजाकी ५५ तयार पारेका हुन् । एजेन्सी