
न्यूयोर्क (अमेरिका) । पैसा नै नतिरी खान पाउनु जत्तिको मज्जा संसारमा के होला ? सित्तैमा पाए अलकत्रा नै खाने प्रवृत्ति भएका मानिसहरु पनि हामीले देखेका छौं । पैसा नै तिरेर कसैसँग लञ्च खानु परेमा हामीमध्ये कति रकम तिर्न तयार हुन्छौं होला । हामी कोसँग लञ्चमा जाँदैछौं भन्ने कुराले पनि यो निर्धारण गर्ला ।
अमेरिकाका अर्बपति व्यापारी तथा चर्चित लगानीकर्ता वारेन बफेटसँगको निजी लञ्चका लागि एक व्यक्तिले १ करोड ९० लाख डलर तिरेका छन् । सो रकम तिर्ने व्यक्तिको नाम अज्ञात छ । यो विक्री ईबे र सन फ्रान्सिस्कोस्थित गैर नाफामुलक संगठन ग्लाइड फाउन्डेशनलेसँगको सहकार्यमा बफेटसँगको लञ्चको २१ औं वार्षिक लिलामीको हिस्सा हो । जुन १२ मा २५ हजार डलर येनबाट बोलकबोल शुरु भएको थियो ।
शुक्रवार एक अज्ञात बिडरको १ करोड ९० लाख १०० डलर बोलीमा लिलामी अन्त्य भएको छ । यो रकम सन् २०१९ को विजयी बोलीको भन्दा चार गुणा धेरै हो । सन् २०१९ मा एक युवा क्रिप्टो उद्यमी जष्टिन सनले बफेटसँगको लञ्चका लागि ४५ लाख ६७ हजार ८८८ डलर तिरेका थिए । यो बफेटसँग लञ्चका लागि तिरिएको यस अघिको कीर्तिमानी रकम थियो ।
यस वर्षको विजेताले पनि न्यूयोर्क सिटीको स्मिथ एन्ड वलेनस्काई स्ट्रिकहाउसमा बफेटसँग लञ्च गर्न पाउनेछन् । यो लञ्चमा उनले आफ्नो साथमा सात जनासम्म अतिथिलाई लैजान पाउनेछन् । यो बफेटसँग ‘पावर लञ्च’ को अन्तिम वर्ष हो । सन् २००० यता वर्षेनी भइरहेको यो लिलामीबाट बफेटले ग्लाइडका लागि ५ करोड ३० लाख डलरभन्दा धेरै रकम उठाइसकेका छन् ।
सन् २००३ यता लञ्चको लिलामी ईबेले गर्दै आएको छ । बफेटसँगको अन्तिम लञ्चले यस अघिका सबै कीर्तिमान तोडेको छ । लञ्च निकै राम्रो भएको र यस क्रममा आफूले विश्वभरबाट कयौं रोचक मानिसहरु भेटेको बफेटले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण सन् २०२० र सन् २०२१ मा भने लिलामी भएको थिए ।
बफेट निकै दानी व्यापारीमध्ये एक हुन् । उनले आफ्नो सारा सम्पत्ति दान दिने वाचा गरेका छन् । वर्षेनी उनले अर्बौ डलर दान दिने गरेका छन् । एक हप्ता अघि मात्रै बर्कशायर ह्याथवेमा रहेको आफ्नो दोस्रो श्रेणीको १ करोड ४४ लाख कित्ता शेयर दिने घोषणा गरेका छन् । यसको मूल्य करीब ४ अर्ब डलर हुनेछ । शुक्रवार बफेटको नेटवर्थ ९३ खर्ब ४० अर्ब डलर थियो । अमेरिकी व्यवसायिक पत्रिका फोब्र्सका अनुसार उनी विश्वका सातौं धनी व्यक्ति हुन् । एजेन्सी